वीरगंज । मुलुकको मुख्य प्रवेशद्वार बीरगंज लगायत पर्साका विभिन्न ठाउँमा सवारी व्यवस्थापनका लागि खटिने ट्राफिक प्रहरीले नै अवैध असुली धन्दा चलाइरहेका छन् । त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगंजका ड्राईपोर्ट, परवानीपुर, पावरहाउस, गण्डक लगायतका सडकमा चल्ने भारतीय सवारीसाधनसँग ट्राफिक प्रहरी कार्यालय पर्सा मातहतबाट खटिने प्रहरीले चेकजाँचका नाममा अवैध रकम असुल्ने गरेको गुनासो छ । वीरगञ्ज भन्सार कार्यालय, आईसीपी र सुख्खा बन्दरगाहबाट बिभिन्न उद्योगका लागि आयात हुने कच्चा पदार्थ ढुवानी गर्ने सवारीसाधनहरुबाट ट्राफिक प्रहरीहरुले अवैध असुली गर्दै आएका छन् ।
ग्रामीण एरियाबाट धान लोड भई आउने ट्याक्टरका चालकहरुसँग प्रतिगाडी १ सयदेखि २ सय रुपैयाँसम्म घुस लिने गरिएको छ । ट्याक्टरमा धान लोड भएर आउने ट्याक्टरसँग पोखरिया, तिलावे पुल र बहुवरी चोकमा रोकेर अनावश्यक झन्झट दिई घुस असुली गर्ने गरिएको चालकहरुको गुनासो छ । यतिमात्र हैन, भारतीय नम्बर प्लेटका निजी सवारी कार, पिकअप, मोटरसाइकल चालकबाट लाइसेन्स, ब्लु बुक लगायतका कगजात माग्ने र घुस दिए कर नतिरेको वा कागजपत्र नभए पनि रसिद नै नकाटी भरेर छोड्ने गरेका छन् ।
सरकारी तलब खाएर, कानुनको कार्यान्वयन गराउन प्रतिबद्ध रहेको ट्राफिक प्रहरीले पर्सामा सवारी चालकहरुलाई आतंकित पारेको छ । मासिक र दैनिक रुपमा असुलीको नियम बनाएर ट्राफिक प्रहरीहरुले अबैध रकम उठाइरहेको सवारी चालकहरु बताउँछन् ।
सवारीसाधनका चालकहरु तथा एजेन्टमार्फत् ड्राईपोर्टस्थित बहुवरी ट्राफिकका सई मुनि यादव र परवानीपुर चौकस्थित ट्राफिकका सई प्रबीण कार्कीको कमाण्डमा खटिने प्रहरीले अवैध असुली गरिरहेको स्रोतको दावी छ । प्रत्येक २ महिनामा परवानीपुर र बहुवरी युनिटका ट्राफिक प्रहरी परिवर्तन हुने गरेका छन् ।
दिनमा हजारौं हजार सवारी साधन ओहोर दोहोर गर्ने उक्त ठाँउहरुमा सवारीचालकहरुले ट्राफिकको यस्तै नियति व्यहोर्नु परिरहेको पर्साका गाउँबाट धान ढुवानी गर्ने एक पीडित बताउँछन् । ड्राइपोर्ट बहुअरी चोक सडक भएर आउजाउ गर्ने सवारी साधनका चालकसँग ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीहरुले अनेक बहानामा रकम असुल्ने र रकम नदिए दुःख दिने गर्दै आएको उनीहरुले गुनासो गरेका छन् ।
त्यसैले पनि अहिले मालवाहक ट्रक, ट्यांकर तथा ट्रिपर व्यवसायीहरू ट्राफिकसँग आजित बन्न थालेका छन् । भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभरलोड नै आउने गर्छन् र ट्राफिकसँग समन्वय गरी एजेन्टहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई पास गराउँदै आएका छन् ।
मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् । क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ जरिवाना तिराउन सक्छ । जरिवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनधिकृत रकम लिएर छाड्ने गरेको भेटिएको छ ।
बीरगञ्ज भन्सार कार्यालय आईसीपी तथा सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट सामान लिएर छुटेका बिशेष गरी भारतीय मालवाहक ट्रक तथा लहरीहरुसँग ट्राफिक प्रहरीले सामान र भार हेरेर एक सय देखि १५ सय रुपैयाँसम्म असुल्ने गरेको प्रमाण भेटिएको छ ।
त्यसैगरी ट्राफिक प्रहरीसँग समन्वय गरी सवारी छुटाउने दलालहरुले पनि प्रतिगाडी १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म लिई ट्राफिक र दलालहरुले भागबण्डा मिलाउने गरेको पनि खुलेको छ । दलालहरुबाट समन्वय गरेका गाडीहरुलाई भने ट्राफिक प्रहरीले बिना चेक जाँच काउन्ट गरेर पठाउने गरेको चोकमा बस्ने जो कोहीले पनि देख्न सक्छ । तर, एजेन्ट दलालहरुको चपेटामा नपरेका र आफूखुसी आउने गाडीका चालकहरुलाई भने ट्राफिक प्रहरीले दुख दिने गरेका एक चालकले नाम नखोल्ने सर्तमा बताए । अहिले ट्राफिक प्रहरीको चेकजाँचको नाममा पैसा असुल्ने रणनीतिका कारण ड्राइपोर्ट बहुअरी, पावरहाउस चोक, गण्डक र परवानीपुर सडकखण्डमा सवारी जामसमेत हुने गरेको छ ।
बहुवरी चौकमा ट्राफिक प्रहरीले अबैध रकम उठाएको फोटो, भिडियो तथा चोकमा बस्ने स्थानीयले नजर राख्न थालेपछि उनीहरुले पहिला उठाउने ठाउँबाट १० कठा पश्चिम एकान्त ठाउमा सारेर असुली गरिरहेका छन् ।
ट्राफिक प्रहरी कार्यालय पर्सा मातहत रहेको ड्राईपोर्ट बहुवरी, परवानीपुर, गण्डक, पोखरिया लगायतका युनिट इन्चार्जहरूले अबैध असुली गरेको रकमबाट कमाई हुने ठाउँ अनुसार माथि हिस्सा बुझाउने गरेका छन् । उल्लेखित पोष्टका इन्चार्जहरुले जिल्ला ट्राफिक प्रहरी प्रमुख ध्रुवप्रसाद दहाललाई तोकेको दररेट अनुसार मासिक रकम बुझाउने गरेका छन् । यतिमात्र हैन उक्त असुली हुने रकमको हिस्सा प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका एसपीसम्म पुग्ने गरेको स्रोतको दाबी छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ध्रुव दाहालसँग धान लोड भएका ट्याक्टरसँग पनि घुस माग्ने गरेकोबारेमा प्रतिक्रिया लिंदा उनले भने– सवारी नियम उल्लंघन गर्नेहरुलाई नियमन गर्ने काम हाम्रो हो । सवारी चालकले मलाई यो ठाउँमा समस्या भयो, घुस मागे भन्दैन । गाडीधनीलाई चालकले घुस दिनुपर्यो भन्छन् । गाडीधनीले चालकको कुरा सुनेर त्यही आधारमा तपाईसँग ब्यक्त गरेको होला । तर यथार्थ त्यसबिपरीत छ । कसैले घुस मागेको छ भने चालकले त्यहीँ सडकमा किन दिने भन्नुपर्छ नि ?’ दाहालले भने–‘अहिले सडकमा मानिस पर्याप्त हुन्छन् । वरिपरि मानिस हुन्छ । सबैको हातमा मोवाइल हुन्छ, घुस मागेको कुरा भने त सबैले चासो दिन्छन्, कारबाही भइहाल्छ ।’
उनेल भने–‘छाडा तरिकाले सवारी चलाउँछन्, ७–८ वटा गल्ती हुन्छन् त्यस्ता चालकका । धान बोकेको ट्याक्टरको नम्बर प्लेट हुँदैन । साइट लाइट हुँदैन, ड्राइभरको लाइसेन्स हुँदैन । जरिवाना ग¥यो । जरिवाना गरेपछि घुस माग्यो भनेर बदनाम गरिन्छ । कुन ट्राफिकले कहाँ घुस माग्यो ? गाडीधनीले स्थानीय नजिकको प्रहरी, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीज्यूलाई भन्न सक्नुपर्यो नि ? घुस माग्यो भनेकै भरमा त हुँदैन, बोल्न त सजिलो छ, तर ती गाडीहरुले गरेका गल्तीको बारेमा हेर्दा काम गर्न कति गाह्रो छ भन्ने थाहा हुन्छ ।’
पोस्टै पिच्छे असुली
पर्सा जिल्लाभित्र ड्राइपोर्ट बहुअरी चोक, गण्डक, परवानीपुर, पावरहाउस चोक, पोखरिया लगायत ५–६ वटा ट्राफिक पोष्ट रहेका छन् । ती पोस्टहरुमा रहेका ट्राफिक प्रहरीबाट मासिक किस्ता असुल्ने गरिएको सूचना स्रोतले नेपालफेसलाई उपलब्ध भएको छ । स्रोतका अनुसार ती पोष्टमध्ये जिल्ला प्रवेशको पहिलो र मुख्य ठाउँ ड्राइपोर्ट बहुअरी चोक ट्राफिक पोष्टको किस्ता मासिक २ लाख र दोस्रो ट्राफिक पोस्ट परवानीपुरको किस्ता मासिक ३ लाख रहेको बताइएको छ । यी दुबै पोष्टबाट बढी घुस असुली हुने भएको र जिल्ला ट्राफिकका प्रमुखलाई बढी बुझाउनुपर्ने भएकाले महँगा मानिन्छन् । तेस्रोमा गण्डक ट्राफिक पोष्ट रहेको छ । त्यहाँबाट मासिक ५० हजार जिल्ला इञ्जार्चलाई किस्ता बुझाउनुपर्छ । यस्तै पोखरिया पोष्टले पनि १० हजार मासिक बुझाउनुपर्ने स्रोतले दावी गरेको छ ।
यस्तै हरेक उद्योग करखानाहरुबाट दररेट तोकेर उठाउने गरेको स्रोतले जनाएको छ । मासिक दररेट तोकेर रकम बुझाउनुपर्ने उर्दी नै जारी भएको छ । ५–६ वटा ट्राफिक पोष्ट र उद्योग र कारखानाहरुबाट मासिक ८ लाख रुपैयाँ असुल गर्ने गरेको गन्ध आएको छ । हावा नचली पात हल्लिंदैन भन्ने उखान यसै चलेको हैन । तालुक निकायले विशेष संयन्त्र प्रयोग गरेर सुक्ष्म छानबिन गर्ने हो भने केही दिनमै असुली काण्डको गुह्य भेद पर्दाफास हुने अपेक्षा गरिएको छ ।
पोष्टहरुबाट मासिक दररेट तोकेर लिने र घुस असुल्न छुट दिएकोबारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख दाहालले भने–‘त्यो हुँदै होइन, भनोस् न कसले भन्छ, प्रमाण देखाऊन्, म जस्ता प्रहरी अरु पनि छन् । कुन प्रहरीले घुस लियो, पब्लिक हुन्छ बाटामा, हात हातमा सबैको मोवाइल छ । यदि कसैले घुस लिएको प्रमाणित गर्छ भने हामी जुन कारबाही भोग्न पनि तयार हुनुपर्छ ।’
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend