Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • ल्होत्सेका गुण्डालाई प्रहरीको सम्मानः गोंगबु घटनामा पक्राउ परेका मुख्य दोषी मल्ललाई हिरासतबाट अस्पतालमा सारियो


    आइतबार, फाल्गुन ७ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । फागुन १ गते नयाँबसपार्कभित्र र बाहिरको घटनाका प्रमुख दोषी ल्होत्से बहुउद्देश्यीय प्रालिका पंकज मल्ललाई प्रहरीले पक्राउ गरे पनि उनलाई हिरासतमा नराखी अस्पतालमा ससम्मान राखिएको छ । प्रहरी बृत्त महाराजगंजका डीएसपी अंगुर जीसीले ल्होत्सेका संचालक दीपक कुँवरको सिफारिसमा उनलाई हिरासतमा नराखी महाराजगंज चक्रपथमा रहेको मेट्रो हस्पिटलमा ज्वाइँ जस्तै गरी राखिएको छ ।

    दीपक कुँवररले पालेका पंकज मल्ल बाँके नेपालगंजका हुन् । पंकजलाई प्रहरीले यसअघि पनि विभिन्न काण्ड र अपराधका घटनामा पक्राउ गरिसकेको छ । मल्ल यसअघि २०७० बैशाखमा हातहतियारसहित पक्राउ परेका थिए । मल्ललाई अबैध हातहतियारसहित अपराध महाशाखाका तत्कालीन प्रमुख रणबहादुर चन्दले पक्राउ गरेका थिए । बाँके नेपालगंजका १९ बर्षीय पंकज मल्ललाई हातहतियारसहित पक्राउ परेको भिडियो र समाचार अर्काइभमा अहिले पनि पाउन सकिन्छ । यस्ता गुण्डागर्दी पृष्ठभूमि भएका मल्ललाई दीपक कुँवरले यातायाता मजदुरमाथि आक्रमण गर्नका लागि तलव दिएर राख्दैआएका छन् ।

    करिब ३० बर्षका मल्ललाई ल्होत्सेका संचालक दीपक कुँवरले चिनजानका चिकित्सकमार्फत् अस्वस्थ भएको सिफारिस बनाएर अस्पतालमा राख्न लगाएका छन् । कुँवर ग्रान्डी अस्पताल र ग्रान्डी भिल्लाका संचालक हुन् । महाराजगंज प्रहरी बृत्तका डीएसपी अंगुर जीसीले दीपक कुँवरकै आग्रहमा मल्ललाई अस्पतालमा राख्ने ब्यवस्था गरिदिएका छन् । मजदुर र यातायात व्यवसायीमाथि सांघातिक आक्रमण गरी ठूलो क्षति पुर्याएका पंकज मल्ललाई हिरासतमा राखेर अनुसन्धान नगरी ‘नक्कली बिरामी’ बनाएर अस्पतालमा बस्ने छुट प्रहरीले दिएपछि आक्रमणमा गम्भीर घाइते भएका प्रहरीहरुको मनोबल गिर्छ कि बढ्छ भन्ने प्रश्न गर्दा महाराजगंज प्रहरी बृत्तका डीएसपी जीसीले भने–‘डाक्टरले बिरामी भएको सिफारिस गरेपछि अनुमति दिएको हो ।’

    प्रहरीले पक्राउ गरेका पहुँचवालाहरुले डाक्टरबाट बिरामी भएको सिफारिस गराएर अस्पताल जाने गरेका छन् । दीपक कुँवरको पहँुच डाक्टरदेखि प्रहरीसम्म छ । महाराजगंज प्रहरी बृत्तका हाकिमहरु त जो आए पनि कुँवरले प्रभावित पार्ने र आफू अनुकूल काम गराउँदैआएका छन् । कुँवरले विगतदेखि नै प्रहरीसँग कनेक्सन मिलाएर यातायात मजदुरलाई दुःख दिने, आक्रमण गराउने कार्य मल्लहरुबाट गराउँदैआएका थिए । फागुन १ गतेको घटनाका नाइके कुँवरका भाइ ल्होत्सेका जनरल म्यानेजर सुनिल कुँवर हुन् । सुनिल र पंकज मल्लसहितले शान्तिपूर्ण कार्यक्रम गरिरहेका यातायात मजदुरमाथि अन्धाधुन्द आक्रमण गरेका थिए । सुनिल कुँवर भने फरार छन् ।

    जापान सरकारले निर्माण गरेको बसपार्कमा ल्होत्सेले ब्यापारिक कम्प्लेक्स संचालन गरी मुनाफा कमाउँदैआएको छ । ल्होत्सेको मनपरी बिरुद्ध बसपार्कमा यातायात मजदुरहरुले शान्तिपूर्ण कार्यक्रम राख्दा दीपक कुँवरले मल्लसहितको गुण्डानाइकेहरुको टोली खटाएर उनीहरुमाथि आक्रमण गराएका थिए ।

    ल्होत्सेले नै फागुन १ गतेको घटना घटाएकाले दीपक कुँवरलाई पनि पक्राउ गरी अनुसन्धान गर्नुपर्नेमा प्रहरीले उनकै योजनामा आक्रमणकारी मल्ललाई हिरासतबाट अस्पतालमा बस्न छुट दिएको छ भने सुनिल कुँवरलाई पक्राउ नगरी उन्मुक्ति दिएको छ । सुनिल कुँवरलाई दीपककै कारण महाराजगंज प्रहरीले पक्राउ नगरेको बताइन्छ ।

    पंकज, सुनिल र उनको समूहले गंगबु बसपार्कभित्र यातायात मजदुरलाई कुटपिट गर्ने, अपमान गर्नेलगायतका हर्कत गर्दै आएको छ । चालक र सह–चालकहरूलाई कुटपिट गरेर पैसा माग्ने, यातायात व्यवसायीहरूलाई धम्काएर पैसा असुल्ने जस्ता हर्कत सुनिल, पंकजसहितको समूहले गर्दै आएका छन् ।

    यातायात मजदुरहरूले ल्होत्सेले पालेका गुण्डाहरूले आक्रमण गरेपछि स्थिति नियन्त्रण बाहिर गएको आरोप लगाउँदैआएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार