काठमाडौं । संघीयता लागू भएको ६ बर्षसम्म संघीय निजामती सेवा ऐन जारी नभएपछि निजामती कर्मचारीहरुका ५ वटै ट्रेड युनियनहरुले दबाब सुरु गरेका छन् । आज(साउन ३०)बाट ‘निजामती सेवा ऐन जारी गर’ भन्ने कालो ब्यानर छात्तीमा टाँसेर कर्मचारीहरुले दबाब सुरु गरेका छन् ।
पाँच वटै ट्रेड युनियनले कालो ब्यानर टाँसेर दबाब दिंदा पनि सुनुवाइ नभएमा भदौ १ गते सबै दलका प्रमुख सचेतकहरुलाई ध्यानाकर्षण गराउने कार्यक्रम राखेका छन् । प्रमुख सचेतकहरुलाई ध्यानाकर्षण गराउँदा पनि निजामती सेवा ऐन जारी गर्न उदासिनता देखाएमा भदौ ३ गतेबाट सेवाप्रवाहमै असर पर्ने खालका कार्यक्रम ल्याउने भएका छन् ।
एकीकृत कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष मोहन घिमिरेले भने–सरकारले भदौ ३ गतेसम्म निजामती सेवा ऐन जारी गर्नका लागि प्रक्रिया अगाडि बढाउने कुरामा हामी आशावादी छौं । सरकारले हामीलाई सेवाप्रवाहमा असर पर्ने खालका कार्यक्रम ल्याउनका लागि बाध्य पार्नेछैन । आन्दोलन हाम्रो रहर होइन, बाध्यता हो ।’