Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवैध सुन र डलरका कारोबारी शेर्पालाई बंगलादेश बैंकले दियो १ अर्ब ऋण


    सोमबार, असार १५ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • ७ मिनेट पाठ
  • बायाँबाट ज्ञानेन्द्र ढुंगाना, रमेश शेर्पा र सरल सहयात्री पौडेल

    काठमाडौं । एनबी ग्रुपको स्वामित्वमा हुँदा टाट पल्टिएर उकासिएको नेपाल बंगलादेश बैंकले पछिल्लो समयमा प्रवाह गरेका कर्जाहरुको बारेमा धेरै कोणबाट प्रश्न उठेका छन् । बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) ज्ञानेन्द्र ढुंगानाले एक विवादित ब्यापारी रमेश शेर्पालाई चीनको नक्कली गोदाम धितो बापत राखी १ सय करोड रुपैयाँ ऋण प्रवाह गरेको खुलासा भएको छ । स्रोतका अनुसार रमेश शेर्पाको शिल्क ट्रान्सपोर्ट कम्पनीलाई बंगलादेश बैंकले १ अर्ब ऋण प्रवाह गरेको छ ।

    शेर्पाको साझेदार चीनको मुसा नामक कम्पनीको गोदाम निरीक्षण गर्न ढुंगानाले तीन कर्मचारी पठाई उक्त ऋण स्वीकृत गरेका हुन् । चिनियाँ भाषासमेत नबुझ्ने कर्मचारीलाई गोदाम निरीक्षण गर्न पठाई उनले ऋण प्रवाह गरेका छन् । मुसा कम्पनीले देखाएको गोदामसमेत नक्कली भएको स्रोतको दाबी छ । नक्कली गोदाम देखाए पनि बंगलादेश बैंकका सीईओ ढुंगानाले शेर्पासँग १५ प्रतिशत कमिसन लिएर ऋण लगानी गरेको आरोप छ । गोदाम निरीक्षणमा जाने कर्मचारीलाई समेत रमेश शेर्पाले खुसी बनाई रिपोर्ट बनाउन लगाएको स्रोत बताउँछ ।

    ट्रान्सपोर्टको कारोबार देखाए पनि रमेश शेर्पाको मुख्य धन्दा डलर र सुन नै हो । सुन र डलरको अवैध कारोबार गर्ने रमेश शेर्पालाई १ अर्ब ऋण प्रवाह गरेबापत १५ प्रतिशत घुस लिएका ढुंगानाले उनलाई नेकपा समेत परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्न सल्लाह दिएका छन् । बाह्रबीसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका भान्जा रमेश सीईओ ढुंगानाकै सल्लाहमुताविक केही दिनभित्रै कांग्रेस प्रवेश गर्ने योजनामा छन् । जसका लागि कांग्रेस नेता मोहन बस्नेतसँग उनले धेरै चरणमा कुरा गरि पनि सकेका छन् । सीईओ ढुंगानाका दाजु गोविन्द ढुंगाना २०७४ को निर्वाचनमा तेह्रथुमको प्रदेशसभा (क)बाट नेपाली कांग्रेसका उम्मेदवार थिए । नेकपाका लक्ष्मण तिवारीसँग उनी पराजीत भएका थिए । सीईओ ढुंगानाले शेर्पासँग कुस्त घुस लिएर ऋण प्रवाह गरी नेकपा पनि छाड्ने सल्लाह दिएकाले उनी बैंकमा बसी कांग्रेसको संगठन बिस्तारमा पनि काम गर्दारहेछन् भन्ने पुष्टी भएको छ । यद्यपि ढुंगाना राष्ट्रबैंकको गभर्नर हुनका लागि नेकपाका शीर्षनेताहरुको घर घरमा चाकरी गर्न पनि पुग्ने गरेका थिए ।

    अहिलेसम्म मामा निमफुन्जोको संरक्षणमा सुन र डलरको अवैध कारोबार गर्दैआएका रमेश शेर्पाले तातोपानी नाकाबाट सामान ढुवानी गर्ने सिल्क ट्रान्सपोर्टका नाममा गाडी खरिदका लागि यसअघि बंगलादेश बैंक र गुडविल फाइनान्सबाट गरी ७५ करोड ऋण लिएका थिए । सीईओ ढुंगानाले शेर्पाबाट कुस्त कमिसन खानका लागि गुडवीलको ऋण तिर्न लगाई सबै बंगलादेशबाट दिएका छन् । गुडवीलबाट २५ करोड ऋण लिएका शेर्पाले आधी तिरिसकेका छन् ।

    रमेश शेर्पाले ऋण लिनका लागि शिल्क ट्रान्सपोर्ट र क्यारिङ उनको प्रमुख ब्यापार भएको देखाएका छन् । तर उनलाई नजिकबाट चिन्ने सिन्धुपाल्चोकका ब्यवसायी भन्छन्, उनको प्रमुख ब्यापार अवैध सुन र डलर हो । काठमाडौंको जोरपाटी, स्वयम्भू, बालकुमारी र सिन्धुपाल्चोकमा घर तथा १६–२६ मेगावाट उत्पादन क्षमताको लिपिङ हाइड्रोपावरको लगानी गर्दा करिब ४ अरबको हाराहारीमा देखिएकाले लगानीको स्रोतका बारेमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले खोजी गरिरहेको छ । सन् २००९ को अन्त्यतिर ९ केजी तिब्बती मूलका चिनियाँ नागरिकको सुन लुटेर भारत पसेका शेर्पा पछि नेपाल फर्किएर शिल्क ट्रान्सपोर्ट खोल्न पुगेका हुन् ।

    हिमरिभर पावर कम्पनी नामक कम्पनीमा केही समयअघिसम्म शेर्पा अध्यक्ष थिए । तर अहिले उक्त कम्पनीको अध्यक्ष नेकपाका (पूर्वमाओवादी) सरल सहयात्री पौडेल छन् । उक्त कम्पनीमा रमेश शेर्पाको लगानी शंकाको घेरामै छ भने अरु लगानीकर्ताहरुको बारेमा पनि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले खोजी गरिरहेको छ । हिमरिभर कम्पनीमा यस्तै अवैध धन्दा वा भ्रष्टाचारबाट आर्जित धेरै लगानी भएको आशंका विभागले गरेको छ । पछिल्लो समयमा भ्रष्टाचार र अन्य गैरकानुनी हिसाबले आर्जित सम्पत्ति हाइड्रोपावरमा लगानी हुँदैआएको छ, आजको साँघु साप्ताहिकमा समाचार छ ।

    सुमार्गीको ८ रोपनी जग्गा खरिदमा आनाकै १८ लाख कमिसन

    नेपाल बंगलादेश बैंकले गतबर्ष करिव ९५ करोड रुपैयाँमा खरिद गरेको जग्गामा ठूलो घोटाला भएको भन्दै सञ्चालकहरुले नै विरोध शुरु गरेका थिए । बैंकले चैतको अन्तिम साता केन्द्रीय कार्यालय प्रयोजनको लागि भन्दै विवादास्पद व्यापारी अजयराज सुमार्गीको मुक्तिश्री प्रालिको नाममा रहेको विशालनगरस्थित झण्डै ८ रोपनी जग्गा खरिद गरेको थियो ।

    बजारमूल्य अनुसार प्रतिआना ६० लाख पर्ने उक्त जग्गालाई प्रतिआना ७८ लाख ४० हजार रुपैयाँ खरिद गरेर झण्डै २२ करोड रुपैया घोटला गरिएको भन्दै बैंककै सञ्चालकहरुले राष्ट्रबैंक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सञ्चालक समितिका अध्यक्ष र बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) विरुद्ध उजुरी हालेका थिए । अध्यक्ष बंगलादेशी नागरिक जलाल अहमद र सिइओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले जग्गा खरिदका लागि सञ्चालक समितिबाट निर्णय गराउन खोज्दा केही सञ्चालकहरुले नोट अफ डिसेन्ट लेखी विरोध गरेका थिए । सीइओ ढुंगाना र जलालले प्रतिआना १८ लाख कमिसन खाएको आरोप लागे पनि सरोकारवाला निकायले छानबिन नै नगरी उक्त प्रकरण ढिसमिस पारिएको छ । राष्ट्रबैैंकका तत्कालीन गभर्नर डा. चिरन्वीवी नेपाललाई पनि कमिसनको केही हिस्सा दिएकाले संचालकले नै जग्गा घोटाला भएको उजुरी दिंदा पनि राष्ट्रबैंकले केही पनि कारबाही नगरी उन्मुक्ति दिएको थियो ।

    बंगलादेशी नागरिकको ४१ प्रतिशत लगानी रहेको बैंकले लगानीयोग्य तरलताको कमी भइरहेको अवस्थामा झण्डै एक अर्बको जग्गा खरिद गर्ने कार्य राष्ट्र बैंकको ऐन विपरीत रहेको भन्दै उजुरी परेको थियो । एक अर्बमा जग्गा खरिद गरेर भवन बनाउँदा पनि थप दुई अर्ब खर्च हुने हुँदा पूँजीको २५ प्रतिशत भन्दा बढी घरजग्गा खरिदमा खर्च लाग्ने भएकाले उक्त कार्य राष्ट्रबैंकको निर्देशन विपरीत रहेको देखिंदा पनि सीईओ ढुंगानामाथि कुनै कारबाही भएन । अजयराज सुमार्गीसँग जग्गा खरिद गरेकाले पनि यो मामलामा कारबाही गर्नबाट राष्ट्रबैंक पछि हटेको चर्चा पनि हुँदैआएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार