काठमाडौँ । अवकाश भइसकेका पूर्वप्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूको प्रायः एउटै सपना देखिन्छ कि पहिलो प्राथमिकता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सके प्रमुख आयुक्त नसके आयुक्तसम्म हुने । प्रहरीहरूको आयुक्त हुने रहर प्रहरीको युनिफर्म छुटेपछि गएको शक्तिलाई पुनः प्राप्त गर्ने र रकम कमाउनुसँग जोडिएको छ भनेर जानकारहरू चर्चा गर्ने गर्दछन् । हालसम्म प्रहरीबाट आयुक्त भएका इन्द्रबहादुर शेरचनलाई उनका नातेदार तथा दरबारका सचिब विश्वविक्रम शाहका कारण र केशव बराल ईश्वर पोख्रेलका नातेदार भएका कारण नियुक्त भएका हुन् भन्ने आरोप लाग्दै आएको छ । हाल अख्तियारमा दुई जना आयुक्त नियुक्त हुने अवस्था छ ।
प्रमुख आयुक्तमा पूर्वसचिव प्रेम राईको नाम चर्चामा आएको छ भने अर्काे एक पदमा अवकाशप्राप्त प्रहरीहरू जोडतोडका साथ लागिरहेको चर्चा बाहिर आइरहेको छ । प्राप्त जानकारी अनुसार यस दौडमा सबैभन्दा पहिलो नाम आएको छ– पूर्वएआइजीपी जयबहादुर चन्दको ।
चन्दलाई यसअघि पनि काँग्रेसको कोटाबाट अख्तियारको आयुक्त बनाउन शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीसमक्ष प्रस्ताव गरेका तर प्रधानमन्त्रीले यो प्रस्ताव स्वीकार नगरेको चर्चा बाहिर आएको थियो । चन्दलाई प्रधानमन्त्री नजिककाले देउवाले आइजीपी बनाउँदा लिएको आर्थिक सहयोगको बदलामा यो पद दिलाउन खोजिएको हो र उनलाई आयुक्त बनाउँदा आफ्नो लगानी उठाउन उनले नै त्यहाँको अधिकार दुरूपयोग गर्नेछन् भनी सुनाइरहेका छन् । दोश्रो चर्चामा आएका पात्र हुन्, पूर्वआइजीपी उपेन्द्रकान्त अर्याल ।
अर्याल प्रहरी महानिरीक्षक हुँदा आफै्ं अख्तियारमा अनुसन्धानमा परेका र उनको केश पेन्डिङ राखिएको थियो । उपेन्द्र अर्यालका विरोधीहरूले उनी उपेन्द्र महतो र छिमेकी देशको सहयोगमा ठूलो धनराशी खर्च गरी त्यो पद हत्याउने प्रयासमा छन् भनी आरोप लगाइरहेका छन् । अर्याललाई पनि अख्तियारको आयुक्त हुन सजिलो देखिँदैन । तेस्रो प्रहरीबाट आयुक्त हुन प्रयास गर्नेमा पूर्वआइजीपी सर्वेन्द्र खनालको नाम पनि बाहिर आएको थियो । उनी सांसद महेश बस्नेत र प्रधानमन्त्रीको सल्लाहकार विष्णु रिमालको सहयोगमा आयुक्त हुन प्रयास गरिरहेको बाहिर चर्चा आएको छ । उनी पनि यो पदको लागि मोटो रकम तिर्न तयार रहेको चर्चा बाहिर आएको छ । हालै भएको संसद् अपहरण काण्डले उनलाई पनि ज्यादै विवादमा ल्याइसकेकोले उनको आयुक्त बन्ने सपना सजिलो देखिँदैन । चौथो, यस पदमा कोसिस गरिरहेकामा पूर्वएआइजी पुष्कर कार्कीको पनि नाम आएको छ । उनी पनि राष्ट्रपतिको सहयोग लिई आयुक्त हुने दाउमा रहेको चर्चा बाहिर आए पनि उनको सम्भावना न्यून देखिन्छ किनकी प्रमुख आयुक्त एमालेले पाउने बित्तिकै आयुक्त काँग्रेसी भागमा जाने देखिन्छ र काँग्रेसबाट कार्कीको नाम प्रस्ताव हुने कुनै सम्भावना देखिँदैन ।
यसबाहेक पूर्वएआइजी राजेन्द्र भण्डारी र सुरेन्द्र शाहले पनि त्यस पदमा जाने इच्छा गरे पनि भण्डारी आफै अख्तियारको अनुसन्धानमा परिसकेका र सुरेन्द्र शाहलाई जनार्दन शर्माको मात्र बलले पुग्ने नदेखिएकोले सम्भावना बहुतै कम देखिन्छ । त्यसैगरी पूर्वएआइजी विजयराज भट्ट र केशरीराज घिमिरेको नाम पनि चर्चामा छ । यी दुवै जना नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिकको सम्बन्ध भएका र उनै दाहालको कृपामा बन्न सक्ने चर्चा पनि चलेको छ । प्रधानमन्त्री नजिकको स्रोतले दिएको जानकारी अनुसार प्रहरीहरूप्रति प्रधानमन्त्रीकै असल धारणा नभएका कारण ओली पुलिसका अफिसरहरूलाई आयुक्त बनाउने पक्षमा हुनुहुन्न । हाल सुनिएको चर्चाअनुसार प्रहरीबाट कुनै अफिसर आयुक्त भएमा माथि उल्लेख गरिएका नामभन्दा बाहिरका अफिसर आयुक्त बन्न सक्ने र यस्ता नाममा पूर्वएआइजी केदार साउदको पनि नाम चर्चामा आएको छ । उनी पूर्वसांसद एनपी साउदका दाजु हुन् ।
झापा घर भएका एआइजी नवराज ढकाल र भीष्म प्रसाइँ पनि सम्भावित नाममा आएको सुनिन्छ । आयुक्तको पदपूर्ति नभएसम्म प्रहरी अधिकृतहरू प्रशस्त दौडधूप गरे पनि प्रहरी अधिकृतबाट अख्तियारको आयुक्त हुने सम्भावना एकदमै कम देखिन्छ । यदि प्रहरी अधिकृतबाट कोही आयुक्त भएमा बाहिर चर्चामा नआएका अधिकृत आयुक्त हुने पर्याप्त सम्भावना रहेको विशेष सूत्रबाट जानकारी प्राप्त भएको छ ।