Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • खोपमा दुर्गमकालाई बेवास्ता


    शनिबार, साउन ३० २०७८
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी भए पनि दुर्गम क्षेत्रका नागरिकले अझै पनि सहज तरिकाले खोप पाउन सकिरहेका छैनन् । सरकारले सहरी क्षेत्रमा खोप अभियान द्रुत गतिमा अघि बढाए पनि ग्रामीण र दुर्गम क्षेत्रमा खोप अभियान अझै सुस्त गतिमा छ । जसका कारण दूरदराजका बहुसंख्यक नागरिक खोपबाट वञ्चित छन् ।

    सरकारले जारी गरेको खोप अभियानअन्तर्गत शुक्रबारसम्मको तथ्यांक विश्लेषण गर्दा बाग्मती प्रदेशमा १३ लाख ५६ हजार ६ सय १८ जनाले पूर्ण खोप लगाउँदा कर्णाली प्रदेशका १ लाख १४ हजार ३ सय ४ जनाले मात्रै पूर्ण खोप लगाएका छन् । कर्णाली प्रदेशमा जनसंख्या थोरै भए पनि बाग्मती प्रदेशको तुलनामा सो प्रदेशमा खोप लगाउने संख्या निकै न्यून हो । अहिले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको खोप प्राथमिकता योजनाअनुसार खोप अभियान सञ्चालन हुन सकेको छैन ।

    सोर्स फोर्स रोकिन नसक्दा लक्षित समूहभन्दा बाहिरका नागरिकले समेत खोप लगाइरहेका छन् । तर, सरकारले निगरानी बढाउन सकेको छैन । यस्तै, प्रदेश १ मा ३ लाख ८ हजार २ सय ३७, प्रदेश २ मा ३ लाख ७३ हजार ५ सय ३, गण्डकी प्रदेशमा २ लाख ९१ हजार ९ सय ६, सुदूरपश्चिम प्रदेशमा २ लाख १५ हजार ५ सय ३७ जनाले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् ।

    सरकारले आगामी असोजभित्र खोप लगाउन योग्य एक तिहाइ जनसंख्यालाई खोप लगाइसक्ने जनाएको छ । हालसम्म ३२ लाख २३ हजार ६ सय ९३ जनाले पूर्ण खोप लगाएका छन् । सरकारले २ करोड ६५ लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ । यसरी हेर्दा अझै २ करोड ३३ लाख नागरिकले पूर्ण खोप लगाउनै बाँकी छ । आजको राजधानी दैनिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार