काठमाडौं । सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ठ नागरिकसहितलाई घरघरमै गएर कोरोनाभाइरसविरुद्धको खोप लगाइदिन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
अधिवक्ता प्रवेश केसीले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका दुवै आँखा नदेख्ने नागरिकहरुको लगत संकलन गर्न र घरघरमा पुगेर कोरोनाविरुद्धको खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश दिएको हो ।
खोप केन्द्रसम्म पुग्न नसक्ने नागरिकहरुलाई घरघरमा गएर कोरोनाको खोप दिनुपर्ने माग गर्दै अधिवक्ता प्रवेश केसीले रिट दायर गरेका थिए । त्यसमा सुनुवाईका क्रममा इजलासले लोक कल्याणकारी राज्यको हैसियतले संविधानको धारा ३५ (३) ले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक र धारा ४१ ले जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने भनेर मौलिक हक सुरक्षित गरेको स्वीकार गरेको छ ।
हेर्नुहोस् पूर्ण पाठ :
