काठमाडाैं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।
२०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर विदा भएका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ आज पुनः प्राधिकरणमै नियुक्त भएका हुन् ।
उनले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर ४ वर्षे नियुक्तिपत्र लिएका छन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।
नेपालमा लोडसेडिङ हटाउन मात्र नभई सँधै घाटामा गइरहेको प्राधिकरणलाई नाफामा लैजान सफल घिसिङलाई ओली सरकारले पुनर्नियुक्त मानेका थिएनन् तर, नेपाली कांग्रेसकाे सरकार बनेलगत्तै उनकाे पुनर्नियुक्ति भएकाे छ । ।
घिसिङले आफ्नाे कार्यकालमा सुरु गरेका धेरै आयोजनाहरु प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य अगाडि बढाउन नसकेको भन्दै घिसिङलाई सरकारले फेरि मौका दिएकाे हाे ।
यस्तै, मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी (सचिव) सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ ।