काठमाडौं । २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर विदा भएका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आज पुनः प्राधिकरणमै पदबहाली गर्दैछन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले दिएकाे जानकारी अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेसँगै आज (बुधबार) नियुक्ति पत्र दिन लागेको छ ।
नेपालमा लोडसेडिङ हटाउन मात्र नभई सँधै घाटामा गइरहेको प्राधिकरणलाई नाफामा लैजान सफल घिसिङलाई ओली सरकारले पुनर्नियुक्त मानेका थिएनन् तर, नेपाली कांग्रेसकाे सरकार बनेलगत्तै उनलाई पुनर्नियुक्ति भएकाे छ । ।
घिसिङले आफ्नाे कार्यकालमा सुरु गरेका धेरै आयोजनाहरु प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य अगाडि बढाउन नसकेको भन्दै घिसिङलाई सरकारले फेरि मौका दिएकाे हाे ।
कुलमान घिसिङलाई ४ वर्षका लागि कार्याकारी निर्देशकनियुक्त गरेसँगै सरकारले हितेन्द्रदेव शाक्यलाई पनि विज्ञताका आधारमा नयाँ सम्मानजक नियुक्त गर्ने निर्णय गरेको छ ।
शाक्यलाई जल तथा ऊर्जा क्षेत्रको ‘थिंक ट्यांक’ मानिएको जल तथा ऊर्जा आयोगको सचिवालय ४ वर्षका लागि नियुक्त गरिएको छ ।
सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सबैभन्दा माथिल्लो तलामा रहेको सचिवालयमा विशिष्ठ श्रेणीको पद (सचिव) सरहको पद सिर्जना गरी प्राधिकरणको कार्यकारी निर्देशकको पारिश्रमिक र सुविधा पाउने गरी आयोगमा पूर्णकालीन सदस्य नियुक्त गरेको हो ।
शाक्यले हाल मासिक तलब २ लाख २१ हजार रुपैयाँ र कार्यसम्पादन मूल्याङ्कनका आधारमा प्रोत्साहन भत्ता पाउँछन् । त्यसमाथि ‘लिडरसिप एलाउन्स’ थप दुई लाख गरेर शाक्यले मासिक ४ लाख रुपैयाँभन्दा बढीको सुविधा पाउँछन् । सो सुविधा नघट्ने गरी शाक्यलाई आयोगमा विज्ञका रुपमा नियुक्त गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।