Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • देउवाबिनै आजदेखि कांग्रेस महाधिवेशन, दौडमा नयाँ पुस्ता


    आइतबार, असोज १८ २०८३
    435
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं। लामो राजनीतिक इतिहास बोकेको मुलुकको दोस्रो ठूलो दल नेपाली कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ। खुलामञ्चमा उद्घाटन हुने महाधिवेशनले पार्टीभित्र नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र संगठनात्मक पुनर्संरचनालाई संस्थागत गर्नेछ।

    महाधिवेशनमा एकातिर युवा पुस्ताका नेताहरू केन्द्रीय कार्यसमितिमा प्रवेशका लागि धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् भने अर्कोतिर कांग्रेसका लामो समय निर्णायक शक्ति केन्द्र बनेका पूर्वसभापति शेरबहादुर देउवा महाधिवेशनको प्रक्रियाबाट बाहिर छन्। देउवाले छुट्टै महाधिवेशन गर्दै छन्। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वमा महाधिवेशन हुँदैछ।

    प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसले यसपटकको महाधिवेशनलाई नेता छान्ने अधिवेशनका रूपमा मात्रै सीमित नगर्ने बताएको छ।

    प्रवक्ता चालिसेले कांग्रेसको विधान र परम्पराअनुसार पार्टी सभापतिले नै महाधिवेशन उद्घाटन गर्ने प्रचलन रहेकाले पूर्वसभापति शेरबहादुर देउवालाई उद्घाटनका लागि आग्रह गरिएको उनले जानकारी दिए। देउवा उपस्थित हुन नसके वर्तमान सभापति गगन थापाले महाधिवेशन उद्घाटन गर्ने तयारी रहेको उनले बताए।

    महाधिवेशनमा आगामी ५ वर्षका लागि पार्टीको राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र सभापति थापाले प्रस्तुत गर्ने तयारी छ। बन्दसत्रमा नीति, कार्यक्रम र समसामयिक प्रतिवेदनमाथि छलफल हुने भनिएको छ। उम्मेदवारी मनोनयनअघि विधान संशोधन प्रस्तावमाथि महाधिवेशन हलमै छलफल गरी आवश्यक निर्णय गर्ने तयारी छ।

    कांग्रेसले महाधिवेशनस्थल, मञ्च, आवास, भोजन, स्वास्थ्य, अतिथि सत्कार तथा सञ्चार व्यवस्थापनका लागि छुट्टाछुट्टै संयन्त्र परिचालन गरेको छ। सभापति थापाको संयोजकत्वमा केन्द्रीय व्यवस्थापन समिति बनाइएको छ। ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने महाधिवेशनको उद्घाटन र बन्दसत्र दुवै खुलामञ्चमै गर्ने तयारी गरिएको छ। प्रतिनिधि दर्ता असोज १७ बाट सुरु भएको हो भने असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका छ।

    महाधिवेशनको सबैभन्दा देखिने परिवर्तन भने केन्द्रीय सदस्यमा युवा पुस्ताको बढ्दो दाबी हो। कांग्रेसका विभिन्न तहका कार्यसमिति तथा भ्रातृ संस्थामा जिम्मेवारी सम्हालिसकेका युवा नेताहरूले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरिरहेका छन्।

    सुदूरपश्चिम प्रदेशकी सहमहामन्त्री अम्बिका चलाउनेदेखि काठमाडौं–४ बाट पछिल्लो निर्वाचनमा कांग्रेस उम्मेदवार बनेका सचिन तिमिल्सिनासम्म केन्द्रीय कार्यसमितिमा पुग्ने दौडमा छन्।

    पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति सिद्धार्थ थापाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। विशेष महाधिवेशनका अभियन्तामध्येका जनक चटौत, अछाम–१ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित डा. डीबी सुनार, त्रिभुवन विश्वविद्यालयका निवर्तमान स्ववियु सभापति श्याम ओझा तथा कञ्चनपुर–१ बाट प्रतिनिधि बनेका मदन उपाध्याय, बाँके–३ बाट प्रतिनिधि बनेकी पत्रकार कमला हमाल, काठमाडौं–१ बाट प्रतिनिधि बनेका प्रबल थापा पनि यही दौडमा छन्।

    सोलुखुम्बुबाट प्रतिनिधि निर्वाचित कांग्रेस सांसद गीता गुरुङ, युवा नेता सुशील भट्ट, बाराका नवराज त्रिपाठी र मेघा शाही, कैलालीका आदर्श मल्ल, डडेल्धुराका भुवन भट्टलगायतले पनि केन्द्रीय सदस्यमा दाबी गरेका छन्। त्यस्तै, सिन्धुलीका मुकेश घिमिरे, तनहुँ–२ का राजकुमार श्रेष्ठ, तनहुँ–१ की एलिजा ढकाल, डडेल्धुराका भरत वडायर जोशी, दैलेखका प्रेम शाही, मोरङ–३ का सविन पराजुली, रोल्पाका डा। सुदनकुमार वली र खोटाङका बिकल राई पनि केन्द्रीय सदस्यको दौडमा छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार