Nepal Face
  • सोमबार, १५ भाद्र २०८३
  • राष्ट्रिय अनुसन्धान विभागका एसपी चन्दको जग्गादेखि गाडी व्यापारमा लगानी, सुशासनलाई चुनौती


    सोमबार, भाद्र १५ २०८३
    205
    Shares
    नेपाल फेस
  • ८ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह सुशासनको कुरा त गर्छन्, तर उनकै कार्यालयको मातहतमा राखिएको गुप्तचरका हाकिम सूचनाको संकलन र सम्भावित घटना विश्लेषण गर्नुको सट्टा व्यक्तिगत व्यापार व्यवसायमा सक्रिय भएका छन् ।

    राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) डा. शेरजंग चन्द अहिले व्यापारिक कारोबारमा पार्टनरहरुसँग कुरा बिग्रिएपछि काठमाडौं जिल्ला अदालत धाउनमा व्यस्त छन् । जबकि सरकारी कर्मचारीले कुनै पनि आयमूलक काममा संलग्न हुन नपाइने कानुनी व्यवस्था छ ।

    उनलाई अनुसन्धान विभागले राष्ट्रिय सुरक्षा परिषदमा खटाएको छ । तर, उनीचाहिँ नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा साडीको व्यापारदेखि ललितपुर बालकुमारीमा जेभी अटो मोबाइल्सबाट टाटा कम्पनीको गाडीसम्म बेच्न व्यस्त हुने गरेका छन् । व्यापारकै क्रममा बिटुमिन सप्लायर्सकी पार्टनर हिरा राणाले काठमाडौं जिल्ला अदालतमा सावाँ–व्याजसहित शेयर रकम फिर्ताको मागसहित कीर्ते मुद्दा दायर गरेकी छन् । कागजमा पत्नी मोतिना चन्दलाई अगाडि सार्ने एसपी शेरजंग कारोबारहरुमा भने आफैँ सक्रिय हुने गरेका छन् । त्यसक्रममा उनका कतिपय बैंक अकाउन्ट र जग्गा पनि अदालतबाट रोक्का छ ।

    राष्ट्रिय अनुसन्धान विभागका कुनै पनि ऐन, कानुन वा कार्यविधिले उनलाई त्यस्तो आयमूलक काममा संलग्न हुने छूट दिएको छैन । विभागलाई सञ्चालन र व्यवस्थापन गर्ने नेपाल विशेष सेवा ऐन २०४२ र नेपाल विशेष सेवा नियमावली, २०४४ ले गरेको व्यवस्थाअनुसार राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले कार्यालयको अनुमति नलिई कुनै पनि नाफामुलक काममा संलग्न हुन नपाउने व्यवस्था गरेको छ । उनले ती काम गर्ने अनुमति नपाएको विभागस्रोतले जनाएको छ ।

    अहिले कारोबारमा विवाद भएपछि गुप्तचर एसपी चन्द काठमाडौं जिल्ला अदालत धाइरहेका छन् । पत्नी मोतिना चन्दसमेतको साझेदारी रहेको बिटुमिन सप्लायर्सबाट अर्की साझेदार हिरा राणाले लगानी रकमको सावाँ व्याज फिर्ता माग गर्दै अदालतमा मुद्दा दायर गरेकी छन् । २०८० असार २७ मा अदालतले राणाबाहेकका अन्य साझेदारका जग्गा रोक्का राख्न विभिन्न जिल्लाका मालपोत कार्यालयलाई आदेश दिएको छ । त्यसमा एसपी चन्द, उनकी पत्नीसहित लक्ष्मणप्रसाद अर्यालको समेत जग्गा रोक्का छ ।

    बिटुमिन सप्लायर्समा चन्दकी पत्नी मोतिनाको नाममा ४० हजार कित्ता शेयर रहेको कागजात अदालतस्रोतबाट प्राप्त भएको छ । त्यसमा निवेदक राणाको एक लाख प्रतिशत कित्ता र अर्का साझेदार अर्यालको एक लाख ६० हजार कित्ता शेयर छ ।

    जग्गा रोक्का प्रकरणबाट पीडित बन्नेमा अर्याल परेका छन् । उनको चितवन जिल्लास्थित साविक नारायण गाविस– ८ का ४ कित्ता र साविक मंगलपुर– ३ को एक कित्ता जग्गा रोक्का छ । उप अनुसन्धान निर्देशक चन्दको नाममा रहेको स्याङ्जा जिल्लाको साविक राम्जाकोट गाविस– ४ का तीन कित्ता, धनुषा जिल्लाको धनुषा नगरपालिका– १ को एक कित्ता जग्गा रोक्का छ । सोही रोक्काअन्तर्गत उनकी पत्नी मोतिनाको नाममा रहेको काठमाडौं महानगरपालिका– १० को एक कित्ता जग्गा पनि छ ।

    यसमध्ये अर्याल जग्गा रोक्काबाट मात्रै पीडित भएनन्, विभिन्न प्रशासनिक र कानुनको झमेलामा पनि परे । अनुसन्धानका एसपी चन्दकै कारण आफू पीडित भएको उनको भनाइ छ ।

    व्यवसाय साझेदारीका क्रममा हैरानी व्यहोरेपछि अर्यालले ब्ल्याक बुल मल्टिप्रपोजमा रहेको शतप्रतिशत शेयर चन्दलाई नै छाडिदिएका छन् । उक्त कम्पनीमा चन्दको ८० हजार कित्ता र अर्यालको एक लाख २० हजार कित्ता शेयर थियो । त्यही कम्पनीले भारतको अजमेरा फेसन लिमिटेडसँगको साझेदारी र ब्ल्याक बुल गार्मेन्ट ट्रेडिङ प्रालिको नाममा नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा साडीको व्यापार गर्दै आएको छ । अगाडि देखिँदा पत्नी देखिन्छिन् । तर, सम्पूर्ण कारोबारमा उनी प्रत्यक्ष संलग्न छन् ।

    उनले ललितपुर, बालकुमारीमा जेभी अटो मोबाइल्स सञ्चालन गरेका छन् । पत्नी मोतिनाको नाममा ९० हजार कित्ता शेयर रहेको उक्त कम्पनीले टाटा मोटर्सका गाडीको थोक विक्रेताका रुपमा काम गर्दछ ।

    एसपी चन्दले अर्यालसहितका आफ्ना साझेदारविरुद्ध काठमाडौं जिल्ला अदालतमा कीर्ते मुद्दा दायर गरेका थिए । त्यसअघि उनले अञ्जु पन्थीसहितका साझेदारको तर्फबाट बारा जिल्ला अदालतमा कीर्ते, ठगी र बैंकिङ कसुरका मुद्दा झेल्नुपरेको थियो । बिटुमिन कम्पनीको खाता सञ्चालनलाई एकलौटी बनाउनका उनले फोटोसपको प्रयोग गरी कीर्ते गरेको भनी पन्थीसहितका साझेदारले मुद्दा हालेका थिए । बारा जिल्ला अदालतमा उनले बेञ्च ‘मिलाएर’ मुद्दा चितवन जिल्ला अदालतमा लगे । त्यसरी मुद्दा सारेको केही दिनमै चन्दको पक्षमा फैसला भयो । संक्षित फैसलामा दावी नपुग्ने भनी उल्लेख छ । तर, त्यसको पूर्णपाठ आउन बाँकी नै छ ।

    अहिले पनि काठमाडौं जिल्ला अदालतमा बिटुमिन सप्लायर्सकी साझेदार हिरा राणाका तर्फबाट शेयर फिर्तासँगै कीर्ते मुद्दा चलिरहेको छ । उक्त मुद्दामा गुप्तचर एसपी डा. शेरजंग पनि प्रतिवादी बनाइएका छन् । उनले आफूविरुद्ध मुद्दा हाल्ने साझेदारलाई विभिन्न किसिमबाट मानसिक तनाव दिने गरेको एक साझेदारले बताए । त्यसरी दुःख दिने नियतले नै काठमाडौं जिल्ला अदालतमा साझेदारका विरुद्ध २०८० सालमा कीर्ते मुद्दा दायर गरेका थिए ।

    विपक्षी बनाइएका साझेदारहरुले जिल्लादेखि उच्च अदालतसम्मबाट मुद्दा जितिसकेका छन् । अहिले फेरि साझेदारमध्येका अर्यालको नाममा जिल्ला प्रहरी परिसर काठमाडौंमा अन्य साझेदारविरुद्ध निवेदन हाल्न लगाएका छन् । उक्त निवेदनमा चार वर्षअघि लेखा परीक्षणसमेत भएर कारोबार राफसाफ भएको विषयमा आफ्नो बाँकी बक्यौता दावी गरिएको थियो । यद्यपि, उक्त निवेदन फिर्ता भइसकेको छ ।

    व्यापारिक कारोबारमा गुप्तचर अधिकृत चन्दको प्रत्यक्ष संलग्नतालाई हरेक मुद्दा र कारोबार विवरणले पुष्टि गर्दछ । अदालतका मुद्दाका कागजात बाहेक बिटुमिन प्रालि, सञ्चालक समिति बैठकको निर्णय पुस्तिका (माइन्युट) प्राप्त स्रोतबाट उपलब्ध भएको छ । त्यसमा चन्दले आमन्त्रित सदस्यका रुपमा सहभागी भई हस्ताक्षरसमेत गरेका छन् । यदि उनी कारोबारमा संलग्न नभएको भए त्यसरी कम्पनीको माइन्युटमा हस्ताक्षर गर्ने थिएनन् । त्यसमाथि कुनै पनि सरकारी कर्मचारी कुनै निजी क्षेत्रको कारोबारको साक्षी वा सहभागी हुन पाइँदैन ।

    उक्त माइन्युटमा २०८० जेठ १ गतेदेखि लागु हुने गरी प्रवन्ध निर्देशक शंकर घिमिरे र बित्त प्रमुख चन्द्रलाल श्रेष्ठलाई सो भूमिकाबाट मुक्त गरी उक्त भूमिकामा क्रमशः चन्दकी पत्नी मोतिना र लक्ष्मणप्रसाद अर्याललाई जिम्मेवारी दिने निर्णय भएको छ ।

    जहाँ जहाँ जागिर त्यहाँ त्यहाँ जग्गा खरिद

    मुद्दाका विवरण अध्ययन गर्दा एसपी चन्द जागिरका सिलसिलामा जहाँ–जहाँ पुग्छन्, त्यहीँ–त्यहीँ जग्गा जोड्ने गरेको पाइन्छ । पुख्र्यौली थलो बैतडी र त्यहाँबाट कञ्चनपुर सरेको परिवारका सदस्यको आफ्नो थातथलोमा जग्गा जमिन हुनु स्वाभाविक मानिन्छ । तर, बैतडीको मान्छेको जग्गा जमिन धनुषादेखि चितवनसम्म फैलिनुले उनको सम्पत्तिको स्रोतमाथि पनि शंका गर्ने ठाउँ देखिन्छ ।

    जिल्लामा खटेर जाने राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको कार्यालय सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय (सीडीओ) मा हुन्छ । उनीहरु खासै अधिकारसम्पन्न हुँदैनन् । तर, सिभिल प्रहरी र सीडीओसँग मिलेर विभिन्न प्रकारका मुद्दा, व्यवसायिक तथा आपराधिक घटना मिलाएर रकम आर्जन गर्ने गरेको पाइन्छ । गुप्तचर एसपी चन्दले के–कस्ता गतिविधिबाट सम्पत्ति आर्जन गरेका हुन् ? यसबारे अहिलेसम्म कुनै छानबिन भएको छैन ।

    गोपनीयता भङ्गमा कारबाही

    चन्द गुप्तचरी सूचनाको गोपनीयता भङ्ग गरे कारवाही भोगेका अधिकृत हुन् । कारबाहीस्वरुप नै अहिले कुनै काम नहुने राष्ट्रिय सुरक्षा परिषदमा खटाइएका छन् ।
    विभागले राष्ट्रिय सुरक्षालाई दृष्टिगत गर्दैै अध्ययन गरी तयार पारेका प्रतिवेदनलाई व्यक्तिगत अध्ययन सामग्रीका रुपमा कन्टेन्ट क्रियट गरेर मिडियामा आउने गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार