Nepal Face
  • शनिबार, ६ भाद्र २०८३
  • सर्टलिष्ट गरेको १ महिनासम्म रोकेर कुमारी बैंकका संचालक श्रेष्ठ कर्मचारी संचयकोषका प्रशासक नियुक्त


    शनिबार, भाद्र ६ २०८३
    2.2K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । कर्मचारी संचयकोषको प्रशासकमा एक महिनाअघि नै तीन जनाको नाम सर्टलिष्ट गरी छनोट समितिले सिफारिस गरेको थियो । तर, प्रधानमन्त्री कार्यालयले एक महिनासम्म सिफारिस होल्ड गरी अड्काएर कोषका निमित्त प्रशासक जीवनकुमार कटुवाल भदौ १ मा अवकाश हुनासाथ बिजयकुमार श्रेष्ठलाई प्रशासकमा नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई कोषको प्रशासकमा नियुक्त गरेको हो ।

    कोषको प्रशासक छनोट समितिले गएको साउन १३ गते नै जीवनकुमार कटुवाल, भरतराज अवस्थी र बिजयकुमार श्रेष्ठको नाम संक्षिप्त सूची(सर्र्टलिष्ट) गरी नियुक्तिका लागि सिफारिस गरेको थियो । तर प्रधानमन्त्री कार्यालयले पहिलो नम्बरमा सिफारिस भएका कटुवालको अवकाशको मितिसम्म नियुक्ति अड्काएर श्रेष्ठलाई नियुक्त गरेको छ । पहिलो नम्बरका कटुवाललाई प्रशासक नियुक्ति हुनबाट रोक्ने काम प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा बाक्लो आवतजावत भएकी रास्वपा सांसद बिदूषी राणाले गरेको स्रोतको दाबी छ ।

    कोषको प्रशासक नियुक्त भएका बिजयकुमार श्रेष्ठ कुमारी बैंकका बोर्ड अफ डाइरेक्टर हुन् । कुमारी बैंकका अध्यक्ष बिदूषीका श्रीमान अमीरप्रताप जंगबहादुर राणा हुन् । अमीरप्रतापसँग राम्रो सम्बन्ध बनाएका श्रेष्ठलाई कोषको प्रशासक बनाउनका लागि बिदूषीले कटुवालको अवकाशको मितिसम्म नियुक्ति अड्काउन प्रधानमन्त्री कार्यालयलाई कन्भिन्स गराएको स्रोत बताउँछ ।

    प्रधानमन्त्री शाहलाई उद्योगी ब्यापारीसँग भेट गराउने काम सांसद राणाले गर्दैआएकी छन् । उद्योगी ब्यापारीसँगको भेटमा अर्थमन्त्री र उद्योगमन्त्रीलाई समेत नराखी प्रधानमन्त्री शाहले राणालाई मात्र राखेर उनलाई महत्त्व दिएको चर्चा समेत हुँदैआएको छ । स्रोतका अनुुसार प्रधानमन्त्री शाहको विश्वासपात्र बनेकी राणाले त्यही आधारमा संचयकोषमा पहिलो नम्बरमा सिफारिस भएका कटुवाललाई उनको अवकाशको मितिसम्म नियुक्ति अड्काइन् । र, बिजयकुमारलाई प्रशासक बनाउन सफल भएकी छन् । बिजयकुमारलाई नियुक्ति गराउन बिदूषी कोषको बिज्ञापन हुँदादेखि नै चलखेलमा लागेको आरोप छ ।

    आफूअनुकूलको प्रशासक नियुक्ति गर्न सफल भएकी राणाको दाउ अब कोषको ऋण प्रवाहमा गएको स्रोत बताउँछ । नबिल बैंक लगायतबाट गोल्डस्टार जुत्ता उत्पादक कम्पनी किरण म्यानुफ्याक्चर्सले ठूलो ऋण लिएको छ । स्रोतका अनुसार उक्त ऋणको रेगुलर ब्याज र किस्ता तिर्न निकै सकस छ । अब संचयकोषको ठूलो निक्षेपमा राणाको दृष्टि पुगेको छ ।

    उद्योगी–ब्यापारीहरु ब्यापार खस्किएपछि राजनीतिमा लाग्ने गरेको देखिन्छ । २०४६ को परिवर्तनपछि उदार अर्थतन्त्र अँगालेको नेपालमा निजी क्षेत्रमा हवाई कम्पनी खोलेको नेकोन एयरका मालिक दिब्यमणि राजभण्डारी एयरलाइन्स कम्पनी डुबेपछि नेपाली कांग्रेसको राजनीतिमा हाम्फालेका थिए ।

    सर्वसाधारणलाई सेयर जारी गरेर लगानी उठाई सेयरधनी डुबाएका राजभण्डारी राजनीतिमा लागि प्रधानमन्त्री र मन्त्रीको नजिक भई नेपाल वायुसेवा निगमका जहाज खरिददेखि बिभिन्न प्रकरणमा जोडिन पुगेका थिए । कांग्रेसको सांसद हुँदा राजभण्डारीले त्यतिबेला निगमको बिषयमा उजुरी हाल्न लगाउने, खोजीनीति गर्ने र आफ्ना स्वार्थ समूहको हितमा काम गर्न दबाब दिने गरेको आरोप लाग्ने गरेको थियो ।

    केपी शर्मा ओली प्रधानमन्त्री भएपछि मोतिलाल दुगडले बिशेषतः मारवाडी ब्यापारीहरुलाई भेटाउने गरेका थिए । २०७७ मा एमाले बिभाजनपछि मारवाडीहरुलाई बालुवाटारमा लगेर पार्टीमा प्रवेश गराउने र बिभिन्न स्वार्थका काम गराउने गरेको आरोप लागेको थियो । बिदूषीको भूमिका पनि पछिल्ला दिनमा प्रधानमन्त्रीको सुशासन अभियानलाई सहयोग गर्नेभन्दा पनि विवादमा ल्याउने देखिएको छ । कर्मचारी संचयकोषको नियुक्तिमा उनको अति सक्रियताले पनि यो आशंका गर्नेहरुलाई झन् बल पुगेको छ ।

    जेनजी बिद्रोहको जगमा भएको निर्वाचनमा झन्डै दुईतिहाई बहुमत ल्याएको र सुशासनलाई मुख्य एजेन्डा बनाएको रास्वपा सरकारका प्रधानमन्त्री बिचौलियाको घेराबाट मुक्त हुने अपेक्षा नागरिकले राखेका थिए । तर यो सरकारमा पनि बिचौलियाहरुको बोलवाला कति छ भन्ने कुरा स्वार्थ अनुसारका नियुक्ति गराउन १ महिनासम्म सिफारिस नै होल्ड गराउनुले पुष्टि गरेको छ ।

    रेगुलर किस्ता पनि तिर्न नसकेर उद्योग घाटा लागेपछि प्रधानमन्त्री वालेन्द्रको आडमा बिचौलियाको काम गर्ने, डिफल्टर र डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्नेहरुको लबिङ गरी मोति दुगडले ओलीलाई विवादमा पारेजस्तै प्रधानमन्त्री वालेन्द्रलाई पनि पार्ने निश्चित देखिन्छ ।

    स्मरण रहोस्, डेडिकेटेड र ट्रंकलाइनको करिब आधा अर्ब तिर्न अटेर गर्र्दैआएका पशुपति मुरारका पनि कुमारी बैंकका बोर्ड अफ डाइरेक्टर छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार