काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह प्रधानमन्त्री भएपछि हट्ने र स्वस्थ प्रतिस्पर्धाका आधारमा गुणस्तरीय उपकरण खरिद हुने अपेक्षा गरिएको थियो । तर दुईतिहाइको शाहको सरकारमा पनि बिशाल पण्डितको सेटिङ साम्राज्य भत्किनु त परै जाओस्, थप मजबुत बन्दै गएको पछिल्ला गतिबिधिले देखाइरहेका छन् ।
संघीय सरकारको अर्थमन्त्रालयदेखि प्रदेशका आर्थिक मामिला मन्त्रालयका बजेट बनाउनुअघि नै बिशाल पण्डितले आफ्नो कम्पनीसँग मात्र मिल्नेगरी उपकरण खरिदको सेटिङ गर्दैआएका छन् ।
आफ्नो कम्पनीसँग मात्र मिल्नेगरी निश्चित स्पेक राखेकाले अरु कम्पनीले बोलपत्रमा भाग लिन नै पाउँदैनन् । पण्डित र उनका परिवारका सदस्यहरुका नाममा हस्पिटेक इन्टरप्राइजेज र लाइफलाइन ट्रेड कन्सर्नसहितका कम्पनी संचालित छन् ।
पण्डितले उपकरण खरिदका लागि बजेट बनाउँदै सेटिङ गर्नेमात्र होइन, संघका खरिददेखि प्रदेशका आपूर्ति केन्द्रका प्रमुखसम्म आफ्नै अनुकूलका सरुवा गराउने काम पनि गर्दैआएका छन् । मधेशदेखि अन्य प्रदेशका आपूर्ति केन्द्रका प्रमुखहरुको सरुवा पण्डितले आफ्नै होटल बसेरा बुटिकमा राखी सेटिङ मिलाएर गर्दैआएको आरोप छ । सिंहदरबारछेउमा रहेको बसेरा बुटिक होटल उपकरण खरिददेखि आपूर्ति केन्द्र र अस्पताल प्रमुखहरुको सरुवा सेटिङ गर्ने थलो बनेको स्रोत बताउँछ ।
मधेश प्रदेशको आपूर्ति केन्द्रको प्रमुख रिक्त छ । बिशाल पण्डित कोशी अस्पतालमा कार्यरत डा. राजीवकुमार झालाई मधेश प्रदेश आपूर्ति केन्द्रमा काज सरुवा गराउन चाहिरहेका छन् । विगतमा पनि मधेश प्रदेश आपूर्ति केन्द्रमा बसेका झालाई ल्याएर सेटिङमा उपकरण आपूर्तिको ठेक्का आफैं लिने चलखेलमा छन् । त्यसका लागि पण्डितले आफ्नै होटल बसेरा बुटिकमा बुधबार साँझ मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव, स्वास्थ्यमन्त्री नागेन्द्र साह र डा. राजीवकुमार झाबीच भेटघाट गराएर सेटिङ मिलाएको स्रोतको दाबी छ ।
राजीवकुमार झा डेढ बर्षअघि मधेश प्रदेशको आपूर्ति केन्द्रमा कार्यरत थिए । आपूर्ति केन्द्रमा हुँदा पण्डितको कम्पनीबाट उपकरण खरिद गर्ने क्रममा विवादमा परेपछि २०८१ माघ ११ मा उनी कोशी प्रदेशमा काजफिर्ता भएका थिए । प्रदीप पौडेल स्वास्थ्य मन्त्री भएको समयमा ९ वटा भन्दा बढी उपकरण खरिदको ठेक्कामा अनियमितता गरेकोबारेमा विवादमा परेपछि उनी काजफिर्ता भएका थिए । पण्डितको कम्पनीले मात्रै ठेक्का पाउने गरी खरिद मापदण्ड बनाएको समाचार आएपछि उनी काजफिर्ता भएका थिए ।
डा. झाले सेटिङ गरेको भन्दै चौतर्फी विरोध भएपछि मधेस प्रदेश स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट सेटिङको आशंका गरिएका बोलपत्र पनि रद्द गरिएका थिए । यसरी पण्डितको सेटिङमा चल्दैआएका तिनै झालाई पुनः मधेशको आपूर्तिमा ल्याउन बसेरा बुटिकमा मुख्यमन्त्रीसहितको मिटिङ राखिएको स्रोतको दाबी छ ।
तिनै झालाई पुनः मधेश प्रदेशको आपूर्ति केन्द्रमा ल्याउने र उपकरण खरिदमा आफ्नो एकछत्र राज कायम गर्ने दाउमा छन् । बुधबार बसेरा बुटिक होटलमा बैठक राखी सेटिङ गरेपछि झाको नाममा मुख्यमन्त्री यादव र स्वास्थ्यमन्त्री साहले सहमतिको पत्र मगाइसकेको स्रोतको भनाइ छ । संघीय स्वास्थ्य मन्त्री निशा मेहतालाई समेत प्रभावमा पारेर बिशाल पण्डितले आपूर्तिमा झालाई ल्याउनका लागि सबै वातावरण मिलाइसकेको कुरा मुख्यमन्त्री यादव र मन्त्री साहलाई भनेपछि बसेराबाटै पत्र मगाइएको स्रोतको दाबी छ ।
मधेश प्रदेश आपूर्ति केन्द्रका प्रमुख डा. नागेन्द्रकुमार यादवलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गएको असार १ गते नै भरतपुर अस्पतालमा काजसरुवा गरेको भए पनि उनले साउन ६ गतेसम्म रमाना लिएका छैनन् । बिशाल पण्डितले नै सेटिङमा लगेका यादवको काजसरुवा बदर गराउन पण्डित लागिपरे पनि नसकेपछि राजीवकुमार झालाई ल्याउन उनी लागेका छन् । नागेन्द्रको काजसरुवा रोक्न श्रीमती नविता यादवसमेत दौडधूप गरिरहेको समाचार नेपालफेसले उजागर गरिसकेको छ । नविता रास्वपाको केन्द्रीय सदस्य हुन् ।
आपूर्ति केन्द्रमा झालाई ल्याउन डिल गरेका पण्डितले मधेश प्रदेशका प्रायः सबै अस्पतालका उपकरण खरिदको ठेक्का लिने गरेका छन् । उनले गुणस्तरहीन उपकरण आपूर्ति गरेको अनुगमनका क्रममा भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ वटा भ्रष्टाचार मुद्दा बिशेष अदालतमा दायर गरिसकेको छ ।
मुद्दा नम्बर १
मधेस प्रदेशका ६४ स्थानीय तहमा निदान केन्द्र स्थापनाका लागि भएको उपकरण खरिदमा सार्वजनिक खरिद ऐन, २०६३, नियमावली, २०६४ र आर्थिक कार्यविधि ऐन, २०७६ को उल्लंघन भएकाले अख्तियारले २०८२ बैशाख १४ गते हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.का सञ्चालक विशाल पण्डितसहित १४ जनाविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
मधेस प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा आर्थिक वर्ष २०७८–०७९ मा भएको ठेक्का खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव, प्रयोगशालाका निर्देशक र हस्पिटेक इन्टरप्राइजेज सञ्चालक पण्डितबिरुद्ध १९ करोड ४६ लाख १३ हजार १२० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
आयोगले मधेस प्रदेशका ६४ स्थानीय तहमा निदान केन्द्र स्थापनाका लागि भएको उपकरण खरिदमा सार्वजनिक खरिद ऐन, २०६३, नियमावली, २०६४ र आर्थिक कार्यविधि ऐन, २०७६ को उल्लंघन भएको उल्लेख गरेको थियो ।
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले चार प्रकारका स्वास्थ्य उपकरण खरिद गर्न २५ करोड ३८ लाख ५३ हजार १२० रुपैयाँ स्वीकृत बजेटमा १९ करोड ५९ लाख ८७ हजार २०० रुपैयाँको लागत अनुमान तयार गरिएकोमा खरिद प्रक्रियामा कुनै पूर्व तयारी वा अध्ययन नगरी हस्पिटेक इन्टरप्राइजेजसँग मिलेमतो भएको अख्तियारले जनाएको थियो ।
प्राविधिक स्पेशिफिकेशन हस्पिटेकले प्रस्तुत गरेको कम्पनीको उपकरणसँग हुबहु मिल्ने गरी बनाइएको थियो, जसले प्रतिस्पर्धालाई सीमित गरेको आयोगको ठहर थियो ।
खरिद प्रक्रियामा हस्पिटेकका सञ्चालक विशाल पण्डितकी पत्नी सञ्चालक रहेको कस्तुरी ट्रेड लिंक, ससुरा संस्थापक रहेको मेडी सोलुसन इन्टरनेशनल र दाजुले बिक्री गरेको लाइफलाइन ट्रेड इन्टरनेशनल प्रा.लि.बाट दररेट लिई लागत अनुमान तयार गरिएको थियो ।
ठेक्का सम्झौतामा उपकरणको स्थापना र सञ्चालन अनिवार्य भए पनि महालेखापरीक्षकको प्रतिवेदनअनुसार १८ मंसिर २०७९ सम्म अधिकांश स्थानीय तहमा उपकरण दाखिला भएको थिएन । प्रयोगशालाका निर्देशक र वरिष्ठ ल्याब अधिकृतले गलत प्रतिवेदन पेस गरी २४ असार २०७९ मा १९ करोड ४६ लाख १३ हजार १२० रुपैयाँ भुक्तानी गरेको थियो ।
आयोगको स्थलगत अनुगमनमा अधिकांश प्रयोगशालामा दैनिक ४–५ जना बिरामी मात्र आउने, उपकरण हप्तामा एक पटक सञ्चालन हुने र रिएजेन्ट्सको म्याद गुज्रिसकेको पाइएको थियो । खरिद गरिएका उपकरणको क्षमता (२००–४०० टेस्टरघण्टा) आवश्यकताभन्दा धेरै रहेको र कम क्षमताका उपकरणले पनि काम गर्न सक्थे भन्ने तथ्यले अनावश्यक खर्च गरिएको देखिएको थियो ।
मुद्दा नम्बर २
कोशी प्रादेशिक अस्पतालमा कोरोना महामारीका बेलामा स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचारमा पण्डितलगायत ६ जनाविरुद्ध २०८० चैत १८ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, खोप अधिकृत उदेशकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको थियो ।
पण्डितले कसरी सेटिङ गर्दछन् भन्ने कुरा अख्तियारको आरोपपत्रबाट छर्लङ्ग हुन्छ । देशका अधिकांश सरकारी अस्पतालको उपकरण खरिदमा पण्डितले यसैगरी सेटिङ गर्ने, प्रतिस्पर्धा हुन नदिने र राज्यलाई अरबौं नोक्सान पार्ने काम गरेका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालको कर्मचारीको सेवाको सर्त र सुबिधासम्बन्धी विनियमावलीका सम्बन्धमा ब्यापक विवाद भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले फिर्ता पठाएको छ । भक्तपुर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend