काठमाडौँ। संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध राजनीतिक दलसँगै सडक संघर्षमा होमिएको ‘बृहत् नागरिक आन्दोलन’ले संसद् पुनर्स्थापनापछि पनि राजनीतिक संकट गहिरिएकोमा राजनीतिक दलको नेतृत्वसँग जवाफ मागेको छ । शनिबार राजधानीमा नागरिकका प्रश्नको जवाफ दिन उत्रेका नेताले भने संकटको निकास नआउनुको कारणमा अहिलेको राजनीतिक शक्तिसन्तुलन मात्रै अगाडि सारेनन्, आफूहरूको बाध्यता पनि सुनाए ।
प्रधानमन्त्री ओलीले ५ पुसमा गरेको संसद् विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले ११ फागुनमा बदर गरिदिएको थियो । नेताहरूले आगामी योजना र नयाँ सत्तासमीकरणबारे आफ्ना चासो सार्वजनिक गरे पनि समीकरणबारे भने एकीकृत मत राखेनन् । प्रज्ञा भवनको डबलीमा उपस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र कांग्रेस नेता डा. मीनेन्द्र रिजालले सम्भावित राजनीतिक परिदृश्यबारे पनि धारणा राखे ।
नागरिकसँगै नेताहरूले एक–अर्काले उठाएका प्रश्नको पनि जवाफ दिएका थिए । नागरिकका तर्फबाट राजनीतिशास्त्री प्रा. कृष्ण खनाल, खगेन्द्र संग्रौला र मोहना अन्सारीलगायतले राजनीतिक गतिरोध तोड्ने विकल्पमाथि प्रश्न तेस्र्याएका थिए । संसद् विघटन गर्ने प्रधानमन्त्री ओली पुनर्स्थापनापछि पनि कायमै रहेकोमा उनीहरूको असन्तुष्टि थियो । ओलीको कदमविरुद्ध संघर्ष गरिरहेका शक्तिहरू नयाँ सरकार गठनमा एकठाउँ नभएकोमा उनीहरूका प्रश्न थिए ।
प्रचण्ड, नेपाल, ठाकुर र रिजाललाई नागरिक आन्दोलनका अभियन्ताको मुख्य प्रश्न संसद् पुनर्स्थापनापछि पनि ओली नै किन प्रधानमन्त्रीमै छन् भन्ने थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जस्तोसुकै परिस्थिति आए पनि चाँडै नै सरकारलाई दिएको समर्थन फिर्ता लिएर राजनीतिलाई नयाँ कोर्समा लैजाने उद्घोष गरे । एमालेका वरिष्ठ नेता नेपालले ओलीसँग आफ्नो संघर्ष कायमै रहेको र ‘समय परिपक्व’ भएपछि ‘उचित’ निर्णय लिने सुनाए । जसपा अध्यक्ष ठाकुरले नयाँ सत्तासमीकरणका लागि ओलीसँग सहमति नभएको र अविश्वासको प्रस्ताव आएपछि निर्णय लिने बताए । कांग्रेस नेता रिजालले संसद्मा अविश्वासको प्रस्ताव पेस भए आफ्नो पार्टीले पक्षमा मतदान गर्ने दाबी गरे ।
सुरुमै खनालले प्रश्न उठाए, ‘हामी सबैलाई आन्दोलनमा धकेल्ने ओली अहिले पनि प्रधानमन्त्रीकै कुर्सीमा छन् । संसद् पुनस्र्थापनापछि ओलीको कठालो समातेर राजनीतिक नेतृत्वले लखेट्छ भन्ने लागेको थियो । तर, यतिखेरसम्म पनि ओली किन हटेनन्, के आधारमा उनलाई माओवादी केन्द्रको समर्थन जारी छ ?’
खनालको यस प्रश्नमा प्रचण्डले अहिलेसम्म समर्थन कायम राख्नुको बाध्यता र अबको योजना सुनाए, ‘नैतिक र राजनीतिक ढंगले अब धेरै दिन पर्खन सक्दिनँ । जुन सरकारलाई प्रतिगामी भनेको छु, त्यसलाई समर्थन गर्न सक्दिनँ, चाहे राजनीति जतासुकै जाओस् । ओलीको गैरसंवैधानिक कदमको विरोध गरेका दलहरूबीच अबको निकासबारे न्यूनतम समझदारी होस् र अविश्वासको प्रस्ताव दर्ता गर्ने अनि समर्थन फिर्ता लिने काम सँगसँगै होस् भनेर दाह्रा किटेर भए पनि एक–दुई दिन रोकेको हो । अब अगाडि बढ्छु ।’
माओवादी केन्द्रले समर्थन फिर्ता नलिएकाले हलो अड्किएको खनालको भनाइ थियो । माओवादीले यसै साता सरकारलाई दिएको समर्थन फिर्ताको तयारी थालेको छ । माओवादीले समर्थन फिर्ता लिए ३० दिनभित्र प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिनुपर्ने हुन्छ । माओवादीको यो निर्णयले कांग्रेस र जसपालाई पनि सरकारको समर्थन वा विरोधमध्ये एउटा पक्षमा उभिनुपर्ने अवस्थामा पुर्याउँछ ।
नेता नेपालले ओली सरकारको निरन्तरतामा कांग्रेस र जसपालाई जिम्मेवार ठहर्याए । ‘ओलीलाई कहिले हटाएको देख्न सकिएला ?’ खनालको प्रश्नमा नेता नेपालले ठाकुर र रिजाललाई व्यंग्य गर्दै भने, ‘महन्तजीले सहयोग गर्ने समाचार आइरहेको देख्छु । तर, उहाँहरूको पार्टीचाहिँ बचोस् । महन्थजी र मीनेन्द्रजीको कृपा रहेसम्म पार्टी (एमाले) को सरकार रहन्छ ।’ नेपाल वामपन्थी शक्तिहरूबीचको नयाँ सरकारको पक्षमा छन् ।
तर, एउटा रणनीतिक प्रश्नको नेता नेपालले खुलेर जवाफ दिन सकेनन् । ‘सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउँदा तपाईंहरू फ्लोर क्रस गर्नुहुन्छ ?’ नेता नेपालको जवाफ थियो, ‘यस्तो प्रश्न गरेर मलाई अप्ठ्यारोमा नपार्नुस् न !’ संसद् विघटन गर्ने ओलीका कदमविरुद्ध संघर्षमा उत्रेका नेपाल अदालतले एमाले र माओवादीको एकता भंग गरिदिएपछि पनि ओलीसँग संघर्षमा छन् । उनी ओलीले बोलाएका पार्टी र संसदीय दलका बैठकमा सहभागी भएका छैनन् ।
मधेसी दलका माग ओलीले पूरा गरिदिनेप्रति शंका व्यक्त गर्दै खनालले ठाकुरलाई प्रश्न गरे । उनले पछिल्लो समय सरकार र जसपाबीचको संवादको विषय पनि उप्काए । र जसपाको अबको निर्णय के हुन सक्ला भन्ने प्रश्न राखे । ठाकुरले आफूहरूले न्याय खोजेको र न्यायपछि मात्रै समर्थन–विरोधबारे निर्णय हुने बताए ।
उनले विगतमा धेरैपटक लिखित सम्झौता भए पनि कार्यान्वयन नभएकाले आफूहरूले त्यसबाट पाठ सिकेको बताए । ‘लिखित सम्झौता धेरैसँग गरियो, अब लिखित नगर्ने । हामीलाई चेक होइन क्यास चाहियो, चेकको कुनै काम हुँदैन, चेक भजाउनुपर्छ । ओलीजीलाई भनेको यही हो– तपाईं जति गर्न सक्नुहुन्छ गरेर देखाइदिनुहोस् । तर, सरकारमा जाने कुनै सहमति भएको छैन,’ ठाकुरले भने, ‘ओलीजीबाहेक अरूसँग सहमति भयो, कार्यान्वयन भएन । अहिले उहाँ कार्यान्वयन गर्ने ठाउँमा हुनुहुन्छ ।’
उनले माओवादी केन्द्र, कांग्रेस र एमालेको असन्तुष्ट समूहलाई अविश्वासको प्रस्ताव ल्याएर निकास दिन चुनौती दिए । ‘हामी आफ्नो मुद्दामा अडिग छौँ, अरूबारे पछि सोच्छौँ । हामी थारू–मधेसी भएकाले पीडा भोग्नुपरेको छ । हाम्रो राजनीतिक वृत्तमा स्वार्थको लडाइँ भइरहेको छ । त्यसमा हामीलाई किन मुछ्ने ? पहिला पार्टीभित्रै अविश्वासको प्रस्ताव ल्याएर समाधान गर्नुस् न ! देशमा जब संकट आउँछ, हाम्रो जरुरत पर्छ, अरू वेला पर्दैन ?’
कांग्रेस नेता रिजालले आफूहरूले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने जिकिर गरे । ‘हाम्रो विश्वासको मत उहाँले पाउनुहुन्न । उहाँसँग अहिले प्राविधिक रूपमा बहुमत छैन । यस्तो अवस्थामा अविश्वासको प्रस्ताव जहाँबाट आए पनि त्यसको पक्षमा हामीले मतदान गर्छौँ,’ रिजालले भने ।
संसद् विघटनपछि ‘सेटिङ’ शब्द पपुलर भएको र त्यसलाई आफूहरूले भत्काएको दाबी प्रचण्डको थियो । उनले सर्वोच्च अदालतले एमाले र एमाओवादी ब्युँझाइदिएपछि मान्नैपर्ने अवस्था आएको बताए । ‘यो निर्णय सही छैन । यसले न्यायालयमा पनि इजलासको अन्तर्विरोधलाई उजागर गरेको छ । यसलाई ‘करेक्सन’ गरिनुपर्छ,’ उनले भने । माओवादी केन्द्र सर्वोच्च अदालतको २३ फागुनको फैसलाको पुनरावलोकनको माग गर्दै सर्वोच्च जाने तयारीमा छ ।
नेता नेपालले पार्टीभित्रै आफूमाथि अन्याय भएको सुनाए । ‘अहिलेका पार्टी अध्यक्ष ओलीबाट प्रतिगमन चालियो । त्यही पार्टीमा मलाई अहिले सर्वोच्च अदालतले घोक्र्याएर पठाएको छ । सर्वोच्च अदालतले विचित्रको फैसला गरेको छ । उसले हाम्रो एकता मान्दैनौँ भन्यो । अदालतले घोक्र्याएर पठाएको छ । पार्टीले ढोका बन्द गरिदिएको छ । तैपनि म डराउने मान्छे होइन । संसदीय दलको बैठकमा गइनँ । समय परिपक्व भएपछि उचित निर्णय लिन्छौँ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend