Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सिमरा सेजको जग्गा लिज र सट्टापट्टामा सेटिङ, अनियमितताको उजुरीपछि कर्मचारी तानिए


    बिहिबार, असार ११ २०८३
    2K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) मा जग्गा लिजमा दिने बिषयमा ब्यापक अनियमितता हुँदैआएको छ । बिशेष आर्थिक क्षेत्र प्राधिकरणले भैरहवा र सिमरा बिशेष आर्थिक क्षेत्रका जग्गा उद्योग स्थापनाका लागि लिजमा दिंदैआएको छ । अन्य स्थानमा पनि काम भइरहेका छन् । जसमध्ये भैरहवाका अधिकांश जग्गाहरु उद्योगीहरुले बुक गरिसकेका छन् भने सिमरामा लिजमा दिने प्रक्रिया सुरु भएको छ ।

    सिमराका ५९ वटा प्लट उद्योग संचालनका लागि लिजमा दिनेगरी प्राधिकरणले तयार गरिसकेको छ । पटक–पटक उक्त जग्गा लिजमा दिन प्राधिकरणले सूचना निकाल्दैआएको छ ।

    प्राधिकरणको सिमराको जिम्मेवारी इन्जीनीयर लक्ष्मण महरालाई दिइएको छ । महराभन्दा अगाडि आईटीका इन्जीनीयर पप्पु गिरीले सिमरा क्षेत्र हेर्दैआएका थिए । गिरीले जग्गा लिजमा लिने उद्योगीसँग मिलेमतो गर्ने गरेको, सेटिङ नमिल्ने उद्योगीहरुलाई जग्गा खाली हुँदाहुँदै पनि छैन भन्दै थर्काउने गरेको लगायतका गुनासा पटक–पटक आएपछि सेजका यसअघिका निमित्त प्रमुख मेघराज शंकरले केन्द्रीय कार्यालयमा तानेका थिए ।

    गिरी यसअघिको सेजका कार्यकारी निर्देशक छत्रबहादुर कटवालका प्रियपात्र थिए । उनकै पालामा गिरीलाई सिमरा हेर्ने जिम्मा दिइएको थियो । सेटिङकै लागि गिरीलाई सिमरा पठाइएको थियो । सेटिङका आधारमा जग्गा मिलाउँदैआएका गिरीले उद्योगीहरुलाई आफ्नै निकटहरुलाई प्रारम्भिक वातावरण परीक्षण(आईईई)को काम दिने गरेको, जग्गा सट्टापट्टाका लागि उद्योगीहरुसँग डिल गर्ने गरेको गुनासाका आधारमा उनी सेज केन्द्रीय कार्यालयमा तानिएका छन् ।

    पप्पु गिरी सिमरा सेज कार्यरत रहँदा महिनामा दसौं पटक विमानमा काठमाडौं ओहोरदोहोर गर्ने गरेकमा थिए । गिरीलाई र केन्द्रमा कार्यरत अर्का आईटी इन्जीनीयर सागर सिलवाललाई दररेट नबुझाई उद्योगीहरुले जग्गा नपाउने गरेको गुनासो उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत परेपछि उनलाई तानिएको थियो ।

    गिरी र सिलवालकै सेटिङका आधारमा तत्कालीन कार्यालय प्रमुखहरुले जग्गा लिजमा दिंदैआएका थिए । बर्षौंदेखि गिरी र सिलवालको सेटिङमा जग्गाको कारोबार हुने गरेको थियो । जग्गा सट्टापट्टामा पनि गिरी र सिलवालले अनियमितता गरेको भन्दै उद्योग मन्त्रालयमा उजुरी समेत परेको छ ।

    सिलवाल तत्कालीन कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका पालामा सेजमा करारमा भर्ति गरिएका थिए । बर्षौंदेखि जग्गा लिजमा लिएर पनि समयसीमाभित्र संरचना नबनाउने उद्योगीहरुको सम्झौता रद्द गर्नुपर्नेमा सिमरा सेजमा भने अनियमित रुपमा कमिसन लिएर उनीहरुले म्यादथप गर्दैआएका थिए । जग्गा सट्टापट्टामा पनि भित्रभित्रै सेटिङमा काम हुँदैआएको छ ।

    साँच्चिकै उद्योग खोल्न चाहने उद्योगपतिले जग्गा नपाएका कारण सिमरा सेजमा भौतिक रुपमा आधा दर्जन उद्योग संचालन हुनसकेका छैनन् । उद्योग नखोल्नेले बर्षौदेखि ओगटेर राखेका लिजका जग्गाको म्यादथप गर्ने र सट्टापट्टा सिमरा सेजमा हुँदैआएको छ ।

    गिरीको समूहले सेजको जग्गामा दर्ता भएका उद्योगहरुको प्रारम्भिक वातावरण परीक्षण(आईईई) समेत जिम्मा लिई सेटिङमा दिंदैआएको आरोप छ । गिरी र सिलवालको सेटिङमा आईईईको काम गौरव सापकोटा, मानक वस्ती, मेरिना डंगोललगायतलाई जिम्मा दिने गरिएको छ । उनीहरुबाहेकले गरेको आईईई रिपोर्टका अनेक कमजोरी देखाएर दुःख दिने काम हुँदैआएकाले उद्योगीले सास्ती पाउने गरेका छन् । बाध्य भएर उद्योगीहरुले गिरीको सेटिङ भएकै कम्पनीलाई दिने गरेका छन् । सापकोटा, मानक वस्ती र मेरिना डंगोल तीनैजना विगतमा सेजमा कार्यरत रही बिभिन्न आरोप पश्चात पदमुक्त गरिएका कर्मचारी हुन् ।

    सेजबाट पदमुक्त गरिएका तीनै कर्मचारीहरुलाई गिरी–सिलवालको जोडीले आईईईको जिम्मा दिएर कमिसन लिने गरेको आरोप छ । बिडम्बना के छ भने उद्योग बिभागले सेजमार्फत् संचालन उद्योगहरुको दर्ता गर्ने तर आईईई सेजले गर्ने नियम बनाइएको छ । जबकि उद्योग बिभागमा दर्ता भएका उद्योगहरुको आईईई उद्योग बिभागले नै गर्नुपर्नेमा चण्डिकाप्रसाद भट्टका पालादेखि नै सेजले गर्दैआएको छ । औद्योगिक क्षेत्रमा संचालनमा रहेका उद्योगहरुको आईईई उद्योग बिभागले गर्दैआएको छ ।

    सेजबाट पदमुक्त गरिएका र हाल कार्यरत कर्मचारीहरुको सेटिङका आधारमा भइरहेको आईई प्रतिवेदन नाममात्रको र कपीपेष्ट हुने गरेको आरोप छ । मन्त्रालयमा हालिएको उजुरीमा सिमरा सेजमा हालसम्म लिजमा दिइएको जग्गा र सट्टापट्टा र आईईई प्रतिवेदनमा भइरहेको अनियमितताबारेमा छानबिन गर्नसमेत माग गरिएको छ ।
    सिमराबाट तानिएपछि सूचना प्रबिधि अधिकृतका रुपमा सेजमा कार्यरत गिरीले आफूमाथि लगाइएका सबै आरोप असत्य भएको बताए । सिमरा सेजमा आफू कार्यरत रहे पनि सबै काम काठमाडौैंबाटै हुने गरेको गिरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार