देवेन्द्र ढकाल
प्रिय कमरेड के.पी. शर्मा ओली,
एमाले पार्टीको एक सदस्यको हैसियतमा तपाईंले पठाउनु भएको पत्र प्राप्त भयो । जुँगाको रेखी नबस्दै एमाले पार्टीको सदस्य बनेको पनि करिब दुई दशक पुगिसकेछ । यो अवधिमा पार्टी र जनवर्गीय सङ्गठनका विभिन्न कमिटीहरूमा बसेर काम गरियो ।
तपाईंलाई पार्टी नेतृत्वमा स्थापित गर्नुपर्छ भन्ने विश्वास गर्ने देशभरिका थोरै मानिसहरूमध्ये म पनि एक थिएँ । तपाईंलाई एमालेको नेतृत्वमा पुर्याउन धेरै संघर्ष गरियो, धेरै कठिन समय सामना गरियो—तीता अनुभूतिहरू आज पनि स्मृतिमा छन् ।
तपाईं नेतृत्वमा आउन समय त लाग्यो, तर तपाईंले जत्तिको अवसर कुनै पनि एमाले नेताले पाएका छैनन् । तपाईंले तीन पटक पार्टीको र चार पटक देशको नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभयो । तपाईंको नेतृत्वमा संविधान जारी गर्न खेलेको भूमिका, जातीय रूपमा विभाजन गर्न खोजिएको समाजलाई मूलधारमा ल्याउन गरिएको पहल, नाकाबन्दीको सामना, चुच्चे नक्सा जारी, चीनसँगको पारवहन सम्झौता जस्ता कामहरू नेपाली जनताले सधैँ सम्झिरहनेछन् ।
तर पछिल्ला केही वर्षयता तपाईंमा अहंकार र घमण्ड पलाउँदै गयो । हिजोका संघर्षका दिनहरू, कठिन समय र साथ दिने पङ्क्तिलाई बिस्तारै बिर्सँदै जानुभयो । यो संसारमा आफू बाहेक जान्ने कोही छैन भन्ने भ्रम पाल्न थाल्नुभयो । भुइँमान्छेका कुरा सुन्न छाड्नुभयो । तपाईंले सनक र लहडमा संचालन गरेको शासन र गर्नुभएका निर्णयहरूकै कारण आज मुलुक यो अवस्थामा आइपुगेको छ ।
मजस्तै एमालेका लाखौँ कार्यकर्तालाई विश्वास थियो—जेन्जीको विद्रोहपछि तपाईंमा सद्बुद्धि पलाउनेछ र यी सबै कुराको नैतिक जिम्मेवारी लिएर अवकाशको जीवन रोज्नुहुनेछ । तर त्यसो हुन सकेन । बरु, यो परिस्थितिको दोष विदेशीहरूलाई थोपरेर समाजमा अझै उत्तेजनाको राजनीति गर्दै हुनुहुन्छ ।
वास्तवमा, यस अवस्थाको मूल कारण तपाईंको अहंकार र कुशासन नै हो । तपाईंका कारण समाजमा उत्तेजना बढेको छ, जनताको पार्टी एमाले इतिहासकै कमजोर अवस्थामा पुगेको छ । पार्टीको महाधिवेशनमा धेरै नेता–कार्यकर्ताको अपमान र हुर्मत लिने काम गरिएको छ, निर्वाचनका टिकट वितरण अन्यायपूर्ण ढंगले गरिएको छ ।
यस्तो अवस्थामा, तपाईंको भक्तिगान गाउनेहरू बाहेक इमानदार नेता–कार्यकर्ता कुन मनोबल लिएर जनतासँग भोट माग्न जान सक्छन् ?
त्यसैले, माफी चाहन्छु—मुलुकको राजनीतिक ‘सिन’ बाट तपाईंलाई जसरी पनि आउट गर्नुपर्ने निष्कर्षमा पुगेकाले यसपटक प्यारो सूर्य चिन्हमा मतदान गर्न नसक्ने जानकारी गराउँछु ।
तपाईंको अहंकारको आयु अब लामो छैन ।
(ढकालले विगतमा ओलीका अति निकट रहेर काम गरेका थिए ।)
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
शसांक रेग्मी बाढीपहिरो पीडितको उद्धार र राहतका लागि नेपाल प्रहरीले आफ्ना कर्मचारीको तलबबाट करिब ४० करोड रुपैयाँ काटेर गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग...
माधव पौडेल काठमाडौं । बाढी आएको आज ७ दिन भइसक्दा पनि बिदुरबाट माथि जान नसकेको सरकारका प्रधानमन्त्री दिनैपिच्छे फेसबुकमा स्टाटस पोष्ट गर्ने र मोनिटाइज्ड पेजबाट...
निशान्त शर्मा वर्तमान सरकारको सबैभन्दा राम्रो काम गर्ने मन्त्री हुनुहुन्छ तपाईं । बधाइ शुभकामना । बाहिर तपाईंहरुले गरेका कामले वाहीवाही पाएर भाइरल हुनुभएको छ तर...
सम्राट उपाध्याय सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहलाई यी काम नलाग्ने सल्लाह चाहिएको छैन, उनी सल्लाह सुन्ने र लिने खालका पनि होइनन् । तर पद सम्हालेको शुरुको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend