Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • चिनियाँले सिनामंगलमा खोलेको कारखानामा प्रहरीको छापा, दुई करोडको सामान बरामद


    बुधबार, असार ३२ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको पुरानो सिनामंगलस्थित एउटा घरमा चिनियाँ नागरिकले अवैध रूपमा ल्यापटपका पाटपुर्जा, ब्याट्री, सिसी क्यामेरा र अन्य विद्युतीय सामग्री उत्पादन गर्ने कारखाना नै खोलेको पाइएको छ । अवैध रुपमा कारखाना खोलेर कर छली गर्दै आएको पाइएपछि प्रहरीले ती चिनियाँलाई पक्राउ गरेको छ ।

    गोप्य सूचनाको आधारमा गएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार दिउँसो साढे ४ बजे सो घरमा छापा मारेको हो। यसक्रममा ३८ वर्षीय चिनियाँ नागरिक यु वाङ पक्राउ परेका छन् ।

    पक्राउ परेका चिनियाँ नागरिक चीनको स्यान्डोङका हुन्।  उनी हाल काठमाडौंको पुरानो सिनामंगलमा बसोबास गर्दै आएका थिए ।

    गैरकानुनी रूपमा विद्युतीय सामग्री उत्पादन र भण्डारण गर्दै आएको फेला पारेपछि काठमाडौं-३२ पञ्चमुखी चोकको सो भवनमा छापा मारिएको प्रहरीले जनाएको छ ।

    सरकारी इजाजतबिनै सञ्चालन गरिएको उक्त कारखानाबाट २ करोड १९ लाख ७६ हजार ७ सय बराबरको राजस्व छली भएको पाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए ।

    ‘सो कारखाना कुनै पनि सरकारी निकायमा दर्ता थिएन, न उद्योगको इजाजत लिइएको थियो, न त कर दस्तुर तिरिएको पाइयो,’ आचार्यले भने, ‘व्यक्तिगत आवासलाई नै गोदाम र कारखाना बनाएर गैरकानुनी उत्पादन, प्रशोधन र वितरण कार्य भइरहेको पाइयो ।’

    उक्त घरबाट १ करोड १९ लाख बराबरको ल्यापटपको ब्याट्री बरामद भएको छ। चिनियाँ नागरिकले एचपी, डेल, एसर, एसुस, लेनोभोलगायत ब्राण्डका ल्यापटपका ब्याट्रीका पार्टपूर्जासमेत बनाउँथे । प्रहरीले तयारी अवस्थामा रहेका ३ हजार ९२ थान ल्यापटप बरामद रेको छ। विभिन्न ब्राण्डका सिसी क्यामेरा उपकरण १ हजार ४७९ थान बरामद भएको आचार्यले बताए ।

    वाङले चीनबाट ल्याइएको कच्चा पदार्थलाई काठमाडौंमा प्रशोधन गरी तयार सामान बनाउने र बिल-बिजकबिनै बिक्री वितरण गर्ने कार्य गर्दै आएको आचार्य बताउँछन् ।

    प्रहरीले कारोबारलाई ठूलो परिमाणको राजस्व छली तथा अनधिकृत व्यापारिक गतिविधि मानेर विस्तृत अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार