Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • प्रहरी सेटिङमा जुवा अखडा चलाउँदै खरानी समूह


    आइतबार, असार २९ २०८२
    2.9K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ । तर काठमाडौं उपत्यकाका धेरै ठाउँमा जुवातास खेल्ने खेलाउने कार्य भइरहेको छ ।

    काठमाडौं उपत्यकामा ठाउँ फेरी फेरी जुवा खेलाउँदैआएको राजकुमार अधिकारी‘खरानी’ को गिरोहले पछिल्ला दिनमा जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी निरीक्षकसँग सेटिङ मिलाएर जुवा अखाडा संचालन गर्दैआएको छ ।

    खरानीको समूहका दीप लामाले काठमाडौं प्रहरी परिसरका इन्स्पेक्टर वाङ्गेल लामासँग सेटिङ गरी काठमाडौंका बिभिन्न ठाउँमा जुवा खेलाउने गरेका छन् । ठाउँ फेरीफेरी जुवा खेलाउने, पैसावाला जग्गा कारोबारी र ब्यापारीलाई बोलाउने, हारेपछि उतिबेलै जुवा खेल्न रकम मिटरब्याजमा दिने खरानी र दीप लामाको धन्दा बनेको छ ।

    जुवा हार्ने ब्यापारीलाई रकम दिएपछि चेक काट्न लगाउने गरिन्छ । जवा खेलाउने, हार्नेलाई मिटरब्याजमा रकम दिने, चेक काट्न लाउने, चेक संकलन गर्ने र परिसरबाट फोन गर्न लाउने कार्य खरानी र दीप लामाले गर्दैआएका छन् ।

    चिनजान नै नभएका र कुनै कारोबार समेत नभएका जुवा खेलाउने समूहका खरानीहरुले दिएको चेक दीप लामामार्फत् काठमाडौं परिसरका इन्स्पेक्टर वाङ्गेल लामालाई दिने र उनी मार्फत् प्रहरीबाट फोन गरी चेकको उजुरी परेको छ भनेर तर्साउने गरेको आरोप छ ।

    जुवा खेल्ने क्रममा दिएको रकमको चेक काटेर प्रहरीमार्फत् फोन गराउँदै असुली गर्ने नयाँ काइदा खरानी समूहले निकालेको छ । जाहेरी नै नपरे पनि परिसरबाट जुवा अखाडामा दिएको चेकको बारेमा ब्यापारीलाई फोन गर्ने काम हुँदैआएको छ । बाउन्स नभएको चेक प्रहरीले लिनै नमिल्ने र फोन गर्नु त झन् कानुनको दुरुपयोग नै हो । तर बाउन्स नभएको चेकका आधारमा प्रहरीले फोन गर्दै ब्यापारीलाई तर्साउने गरेको आरोप छ ।

    जुवा खेल्ने र खेलाउने खरानी समूहमा राजेश श्रेष्ठ, बौद्ध बस्ने दीप लामा, नुवाकोट घर भई बुढानीलकन्ठ –४ बस्ने  बस्ने सुजन लामा, स्वयम्भु सीतापाइला बस्ने कमल ज्ञवालीहरु रहेको स्रोत बताउँछ ।
    खरानी समूहले ठाउँ परिवर्तन गरी जुवा खेल्ने र खेलाउने जुवा खेलाउने गरेको छ । साँखु, कपन, बुढानीलकन्ठ, स्वयम्भु, गाेंगबु, बौद्ध, जोरपाटी, भक्तपुरका बिभिन्न स्थानमा जुवा खेलाउने खरानीको समूहमा पछिल्ला दिनमा इन्स्पेक्टर वाङ्गेलसँग सेटिङ मिलाएर जुवा खेलाउँदै आएको स्रोत बताउँछ ।

    जुवा खेलाउने स्थान बौद्धदेखि साँखुसम्म दीप लामा र राजेश श्रेष्ठ तथा बुनपा क्षेत्रमा सुजन लामा र खरानीले मिलाउने गरेका छन् । प्रहरी निरीक्षक वाङ्गेल लामाको सेटिङमा उपत्यकामा ठाउँ फेरीफेरी जुवा खेलाउँदै आएको खरानी र दीप लामाको समूहले अरु जुवा अखाडाको सूचना दिएर छापा हान्न लगाउने गरेको प्रहरी स्रोत बताउँछ । आफूले खेलाएको जुवा अखाडामा मात्र प्रहरीले छापा नहान्ने ग्यारेन्टी दिएर खरानी समूहले ब्यापारीलाई बोलाउने गरेको छ । मिटरब्याजमा रकम दिएर चेक काट्न लगाई प्रहरीबाट फोन गराउने र असुली भएपछि त्यसको हिस्सा वाङ्गेललाई समेत दिएर यो र्याकेट चलाउँदैआएका छन् । खरानीले लामो समयदेखि काठमाडौं उपत्यकामा जुवा अखाडा संचालन गर्दैआएका छन् ।

    को हुन् खरानी ग्याङका राजकुमार अधिकारी ?

    खरानी ग्याङका नामले चिनिने राजकुमार अधिकारीको समूहले काठमाडौं ठाउँ सारी–सारी ठूलो जुवा अखडा सञ्चालन गर्दै आएको छ । घरमा जुवा खेलाउँदा प्रहरीले थाहा पाउने भएपछि पिकनिकको नाममा कहिले धुलिखेल, कहिले दोलालघाट त कहिले चोभार जस्ता ठाउँमा घुम्ती जुवा अखाडा संचालन गर्दैआएको थियो । खरानी समूहले बाहै्र महिना राजधानीका विभिन्न ठाउँमा जुवा खेलाउँदै आएको छ ।

    पिकनिकको आवरणमा जुवा खेलाउने गरेको कुरा पनि ५ बर्षअघि भण्डाफोर भएपछि पुनः ठाउँ सार्दै जुवा अखाडा संचालन गर्दैआएको छ । खरानी २०७६ मंसिर ८ मा धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरमा जुवा खेलाउने क्रममा पक्राउ परेका थिए । तर प्रहरीबाट छुटेपछि पुनः उनले जुवा खेलाउन थाले । काठमाडौंका बृत्त र प्रभागहरू प्रायः सबैमा उनको नाम जुवा खेल्ने र खेलाउने भन्ने छ ।

    जुवा खेलाउनु कानुनतः अपराध

    जुवा एक अपराध हो । २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ । उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ ।

    दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ ।  दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ ।

    जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार