Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • अनेरास्ववियुको अध्यक्षमा डा. कडरिया र पौडेलको प्रतिस्पर्धा, सहमतिको प्रयास जारी


    बुधबार, जेष्ठ २८ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)निकट अनेरास्ववियुको भावी नेतृत्वका लागि आज मतदान हुँदैछ । मंगलबार राति अबेरसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो । ३२ वर्षे उमेरहद लागेपछि अनेरास्ववियुको अध्यक्षमा दुईजना प्रतिस्पर्धी देखिएका छन् ।

    निर्वाचन समितिका अनुसार अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलको उम्मेदवारी परेको छ । एक महिला र एक खुला उपाध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन् ।

    खुला उपाध्यक्षतर्फ राजकुमार ढकाल र विकास श्रेष्ठको उम्मेदवारी परेको छ । महिलातर्फ आरती भट्टराई, अञ्जना शिवाकोटी, भवानी बजगाईंले उम्मेदवारी दिएका छन् । महासचिवमा तीन जनाको उम्मेदवारी परेको छ । आरके रोमश, दीपक धामी र सुनील कँडेलले महासचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।

    एमालेको संशोधित नीतिअनुसार अनेरास्ववियुमा ९ सदस्यीय पदाधिकारी हुनेछन् । १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । पदाधिकारीमै ५० जना हाराहारीको उम्मेदवारी परेको छ । चार सचिवका लागि २६ जनाभन्दा बढीको उम्मेदवारी परेको छ । केन्द्रीय कमिटीको उम्मेदवारको संख्या नै ६ सय भन्दा बढीको रहेको छ ।

    अनेरास्ववियुमा सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, विद्यार्थी इन्चार्ज किशोरविक्रम मल्ल लगायत नेताहरूले कोसिस गरेका थिए ।

    मंगलबार बन्द सत्रको हलमा सहमतिका लागि नाम प्रस्तावसमेत गरिएको थियो। अध्यक्ष मण्डलका तर्फबाट डा. सुजन कडरियाको नेतृत्वमा प्रकाश पौडेल र अञ्जना शिवाकोटीलाई उपाध्यक्ष र दीपक धामीलाई महासचिवको प्रस्ताव गरिएको थियो ।

    पौडेल समूहले नाराबाजी गरेर निर्वाचनका माग गरेपछि अध्यक्ष मण्डल चुनावबाटै नेतृत्व चयन गर्न राजी भएको हो । अध्यक्ष मण्डलको नाम प्रस्तावपछि अनेरास्ववियुमा दुई खेमा देखिएको छ । एउटा खेमाको नेतृत्व पौडेलले गरेका छन् । अर्को खेमाको नेतृत्व डा। कडरियाले गर्दै प्रतिनिधिहरूको बीचमा मत मागिरहेका छन् ।

    मतदानको समय बुधबार बिहान १० देखि ५ बजेसम्म तय गरिएको छ । तर अझै सहमतिको प्रयास गरिने भएकाले चुनावको समय सर्नसक्ने बताइएको छ । पार्टी नेतृत्व डा. सुजन कडरियालाई अध्यक्ष बनाउनका लागि लागेको छ । पौडेलको पक्षमा निर्वाचन मण्डलमा रहेका ऐन महरमात्र रहेको बताइएको छ । सहमति वा निर्वाचन जे भए पनि अनेरास्ववियुको नेतृत्व डाक्टरको हातमा पुग्ने देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार