Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बागमतीको स्वास्थ्यमा अवैधानिक सचिवको रजगज, अदालतको आदेश प्रमुख सचिवबाटै अवज्ञा


    आइतबार, जेष्ठ २० २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमा गाईजात्रा देखिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयमा दुई वटा सचिव छन् । संघीय सरकारले सरुवा गरेका प्रवीणलाल श्रेष्ठ र एक बर्षअघि नै सरुवा भएका तर अटेर गरी अदालती आदेशले टिकेका बद्रीबहादुर खड्का । खड्काले अदालतमा रिट हालेर अन्तरिम आदेशका आधारमा काम गर्दैआए । बद्रीबहादुरले दायर गरेको रिट खारेज नै भयो ।

    पछिल्लो समयमा अन्तरिम आदेशलाई अदालतले निरन्तरता नदिएको अवस्थामा पनि उनले कुर्सी छाड्न मानेका छैनन् । खड्काको रिट खारेज भएपछि सरकारले एक महिनाअघि प्रवीणलाल श्रेष्ठलाई बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा पठायो । तर बद्रीबहादुरले उनलाई हाजिर हुन दिएनन् ।

    प्रवीणलालले सरुवा भएको कार्यालयमा हाजिर हुन पाउँ भनी अदालतमा रिट दिए । उनका पक्षमा आदेश दियो । आदेश लिएर गएपछि प्रदेशका कामु प्रमुख सचिव गोविन्दबहादुर कार्कीले हाजिर गराउन बाध्य भए । तर कामकाज भनेर अवैधानिक सचिव बद्रीबहादुर खड्कामार्फत् गराउँदैआएका छन् । यसरी एउटै मन्त्रालयमा दुई सचिव हाजिर हुँदैआएका छन् ।

    नेपाल सरकारले सरुवा गरेका सचिवलाई काम गर्न नदिई अदालतले समेत सरुवा भएको ठाउँमा जान आदेश दिइसकेका बद्रीबहादुरले कुर्सी नछोड्नुलाई संघीय सरकारको निर्णयको मात्र धज्जी उडेको छैन, कानुनी शासनको खिल्ली उडाइएको छ । प्रदेशका कामु प्रमुख सचिव कार्कीले प्रवीणलाई हाजिर गराएर कामकाज गर्न नदिई अदालतको समेत मानहानी गरेका छन् ।

    खड्का ३० महिनादेखि काजमा बागमती प्रदेशमा कार्यरत छन् । सुरुमा स्वास्थ्य निर्देशक र पछि स्वास्थ्य सचिवका रुपमा उनी ३० महिनादेखि काजमा कार्यरत छन् । जबकि निजामती सेवा नियमावलीमा ३ महिनाभन्दा बढी समय काजमा राख्न पाइँदैन । झन् कार्यालय वा विभागीय प्रमुखलाई त काजमा राख्न चुनावमा बाहेक अरु समयमा पाइँदै पाइँदैन । तर बागमती प्रदेशका स्वास्थ्य सचिव खड्का ३० महिना निजामती सेवा नियमावलीबिपरीत काजमा कार्यरत रहँदैआएका छन् । अझ अदालतको अन्तरिम आदेश खारेज भइसक्दा पनि उनी सचिवकै कुर्सीमा टाँसिइरहेका छन् ।

    संघीय सरकारले खटाएका सचिव श्रेष्ठलाई सचिवले पाउने सुविधाबाट समेत बन्चित गराइएको छ । असार मसान्तसम्म करोडौं कमिसन आउने र त्यसको हिस्सा प्रमुख कार्कीकोमा पनि बुझाउने सर्तमा बद्रीले कुर्सी नछोडेको बताइन्छ ।

    एउटै मन्त्रालयमा दुईवटा सचिव रहेको, अदालतले हाजिर गराउनू भनेका प्रवीणलाल श्रेष्ठलाई हाजिर नगराइएकोबारेमा बागमती प्रदेशका कामु प्रमुख सचिव गोविन्दबहादुर कार्कीले भने–त्यस्तै छ । हामीभन्दा माथिल्लो निकाय(अदालत)ले नै त्यस्तो गरेकाले त्यस्तो अवस्था आएको हो । मन्त्रालयले आन्तरिक रुपमा मिलाउने हो । प्रशासनिक नेतृत्व सम्हालेका कार्कीले बद्रीबहादुर खड्काले पनि अन्तरिम आदेशका आधारमा काम गरिरहेको, श्रेष्ठले पनि हाजिर गराउने पत्र लिएर आएको बताए । यद्यपि खड्काको अन्तरिम आदेशले निरन्तरता नपाएको भए पनि प्रमुख सचिव कार्कीले भने कायमै रहेको दाबी गरेका छन् ।

    को हुन् बद्रीबहादुर खड्का ?

    काठमाडौं । एमाले नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएको एक महिनापछि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिव बन्न सफल भएका बद्रीबहादुर खड्का जनस्वास्थ्य प्रशासक हुन् । रामेछाप कांग्रेसका नेताहरु स्व. शिवबहादुर खड्का र स्व. मिना खड्काको आशीर्वादमा जागिरमा भर्ति गरिएका र सधैं आकर्षक कार्यालयमा बसी अकूत सम्पत्ति आर्जन गर्न सफल भएका बद्रीबहादुरले कर्मचारी समायोजनका बेला बागमती प्रदेश रोजे ।

    बद्रीबहादुर खड्का

    प्रदेशमा जाँदा एक तह स्वतः बढुवा हुने पदीय लोभका कारण उनी बागमती प्रदेशमा समायोजन भए । समायोजन भएलगत्तै प्रदेश स्वास्थ्य तालिम केन्द्र स्थापना गरेर सोही केन्द्रको प्रमुख बन्न सफल भए । मध्यबानेश्वर जहाँ उनको निवास पनि रहेको छ, त्यहीँ आसपासमा निजी घर भाडामा लिएर कार्यालय स्थापना गरे । घरभाडामा समेत कमिसन खाएर अपायक ठाउँमा कार्यालय स्थापना गरेको आरोप खेपेका बद्रीबहादुरले कार्यालय संचालनका लागि कार्यालय सहयोगी र सवारी चालकमा आफन्तलाई नियुक्ति गरेका छन् । उनले नियुक्ति गरेका सवारी चालक र कार्यालय सहयोगीलाई साथमा लिएर अहिलेका केन्द्र प्रमुख डा. नरेन्द्रकुमार झा कार्यालय संचालन गरिरहेका छन् ।

    कार्यालयभित्रको साना साना कुरालाई पनि आफूलाई नियुक्ति गर्ने बद्रीबहादुरलाई दैनिक रिपोर्टिङ गर्ने गरेका कारण झा पनि पीडित भएका छन् । तालिम केन्द्रको प्रमुख रहँदा पनि प्रदेशको कार्यक्षेत्र भए पनि उनी भने काठमाडौंमै अधिकांश समय बिताउने गरेका थिए । केन्द्रमै रहँदा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त भइन् । त्यसपछि स्वास्थ्य सचिव बन्ने उनको चाहना बढेर गयो । अनेक तिकडमबाजी गरेर उनी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवामार्फत् निर्णय गराई प्रदेशको स्वास्थ्य सचिव बन्न सफल भए । अष्टलक्ष्मीपछि मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे आए । २०७९ मंसिर ४ को चुनावपछि शालिकराम जम्कट्टेल मुख्यमन्त्री भए ।

    प्रदेशको राजनीतिमा उथलपुथल भइरह्यो । मुख्यमन्त्री र स्वास्थ्य मन्त्री पटक पटक परिवर्तन भइरहे । तर बद्रीबहादुरका लागि ती राजनीतिक परिवर्तन फलिफाप सिद्ध भए । अस्थिर राजनीतिको फाइदा उठाउँदै टिकिरहेका उनलाई बागमती प्रदेशका तत्कालीन प्रमुख सचिव मुकुन्द निरौलाको पनि आशीर्वाद रह्यो । राजनीतिक नेतृत्वले बद्रीबहादुरलाई सरुवा गर्न खोजे पनि मुकुन्दले सत्तिसाल जस्तै काँध थापिरहे । जसका कारण उनको कार्यकालमा बद्रीको सरुवा हुन सकेन ।

    मुकुन्द संघीय सरकारको उद्योग मन्त्रालयमा सरुवा भएपछि बद्रीको ठूलो भरोसा टुट्न गयो । त्यसपछि उनको सरुवा मुख्यमन्त्री कार्यालय बागमतीमा भएको थियो । तर उनले सरकारलाई चुनौती दिंदै मुद्दा हालेर अन्तरिम आदेशका भरमा कामकाज गर्दैआएका थिए । त्यो आदेश खारेज भएपछि पनि उनी आगामी असारसम्म बसेर ठेक्काको कमिसन बुझेर मात्र जाने दाउमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार