Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकै समयमा दुईठाउँ हाजिरी गरी शिक्षकहरूले दोहोरो सेवा सुविधा लिने गरेको खुलासा


    शुक्रबार, बैशाख २८ २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • मुकेशकुमार यादव

    सिरहा। सिरहामा केही शिक्षकहरुले राजनीतिक पहुँचको भरमा एकै समयमा दुई ठाँउमा हाजिरी गरी राज्यको दोहोरो सेवा सुविधा बुझ्ने गरेको पाइएको छ। सामुदायिक विद्यालयका स्थायी शिक्षकहरुले विद्यालय समयमा सामुदायिक कलेजमा पनि पढाएबापत दोहोरो सेवा सुविधा बुझ्ने गरेको खुल्लेको हो।

    राजनीतिक दवाव र प्रभावका कारण शिक्षकहरुले स्थायी रुपमा कार्यरत विद्यालयमा नपढाई विद्यालयकै समयमा अन्यत्र कलेज तथा विद्यायहरुमा पढाए पनि तलव भत्ता भने दुबै ठाउँबाट बुझ्ने गरेका छन् ।

    धनगढीमाई नगरपालिका १२ स्थित तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालयको स्थायी शिक्षकसमेत रहेका किशोरकुमार साह विगत ७ वर्षदेखि रामप्रताप रामप्रसाद तामाङ
    जनता बहुमुखी क्याम्पसका प्रमुखका रुपमा कार्यरत छन्।

    प्रमुख साह कार्यरत रहेका विद्यालयका प्रधानाध्यापक अशोक श्रेष्ठलाई आर्थिक प्रलोभनमा पारी पछिल्लो लामो समयदेखि पब्लिक क्याम्पसको प्रमुखको रुपमा काम गरिरहेको सोही विद्यालयमा कार्यरत एक शिक्षकले नाम उल्लेख नगरर्ने शर्तमा बताए ।

    उनले भने– यहाँ विद्यालयको नियमित समयमा कहिले पनि नआउने शिक्षकले सहजै तलव खान्छ, जो दैनिक विद्यालयमा उपस्थित हुन्छ ऊ नै सेवाबाट बञ्चित हुन्छ ।’

    प्रधानाध्यापक अशोक श्रेष्ठले ‘काम गरी खाएको छ। खान दिनु न । कति शिक्षकहरुको पछाडि मात्रै लाग्नुभएको पत्रकारहरु पनि ।’ भन्ने भनाइले पनि सेटिङको गन्ध दिन्छ।

    उनले थपे, ‘शिक्षकको खासै अभाव नभएकोले पनि उहाँकाबारेमा सोधीखोजी नगरेको हो। हामीसँग २० जना शिक्षक छन् ।’

    क्याम्पस प्रमुख तथा सत्यभामा डोडेल माध्यमिक विद्यालयका सामाजिक शिक्षक किशोर साहलाई तपाईहरुले कसरी दुई ठाउँमा समय मिलाइरहनुभएको छ ? भन्ने प्रश्नमा उनले, ‘विहानको कक्षा चलेको बेला क्याम्पस आउँदा विद्यालयमा विदा लिने र विद्यालय जाँदा क्याम्पस बिदा लिने गरेको छु ।’

    १२ कक्षासम्म अध्ययन अध्यापन हुने यस विद्यालयमा करिव १२ सय विद्यार्थी रहेका छन् । शिक्षक भने जम्मा २० जना मात्र रहेको बताइएको छ ।

    धनगढीमाई नगरपालिका ७ स्थित जनता माध्यमिक विद्यालय अयोध्यानगर कसहामा कार्यरत शिक्षक प्रदीपकुमार साहले पनि विगत लामो समयदेखि रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसमा पढाउने  गरेक छन् ।
    उनले पनि एकै समयमा दुबै ठाउँमा हाजिर गरेर तलबभत्ता बुझ्ने गरेका छन् ।

    यस क्याम्पसमा अध्यापन गराउने अधिकांश समुदायिक विद्यालयका स्थायी शिक्षकहरु छन् । उनीहरु पढाउनेभन्दा पनि धेरै हाजिर गरेर भाग्ने गरेको विद्यार्थीको गुनासो रहँदै आएको छ।

    हिरेन्द्र विष्ट सरस्वती माध्यमिक विद्यालय जमदहका स्थायी शिक्षक हुन् । उनी पनि विद्यालयकै समयमा क्याम्पसमा पनि पढाउँछ्न। बिष्टले गोलबजार नगरपालिका ६ स्थित माध्यमिक तहको निजी बिद्यालय पनि चलाइरहेका छ्न। उनको निजी बिद्यालय, सामुदायिक विद्यालय र क्याम्पस समेत एकै समयमा चल्दा पनि तिनै ठाउँ हजिर हुने गरेको शिक्षकहरु बताउँछन् । बिष्टले निजी बाहेक दुर्इवटै विद्यालयमा समयमै नपुगे पनि तलब भता भन्ने कार्यरत बिद्यालय र क्याम्पसबाट समेत बुझ्ने गरेको स्रोतको दाबी छ।

    त्यसैगरी, गणित विषय पढाउने भगवानबाबु साह मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयका शिक्षक हुन्। धनिकलाल मण्डल, जनता वनवाली माध्यमिक विद्यालय बर्छवा र प्रेम अधिकारी सिरहा नगरपालिकाका एक विद्यालयका स्थायी शिक्षक हुन् ।

    इश्वर स्याङ्वा महावीर माध्यमिक विद्यालय धनगढीमाई ९ चैनपुरका उच्च माध्यमिक विद्यालय शिक्षक हुन्। सिजे यादव र रामदयाल यादव सिरहा क्याम्पसका शिक्षक हुन् । उनीहरु सवैको अहिले बिहानी कक्षा चले पनि क्याम्पसमा पढाउने अधिकांश सामुदायिक विद्यालयका शिक्षकहरुले यहाँबाट समेत पाँच घण्टी बराबरको तलव सुविधा बुझ्ने गरेका छन् ।

    अधिकांश समुदायिक विद्यालयका स्थायी शिक्षकहरु यहाँ कार्यरत भएकाले नयाँ शैक्षिकसत्र सुरु भएदेखि अहिलेसम्म हाजिर गर्नमात्र शिक्षकहरु क्याम्पस पुग्ने गरेका छन्।

    बैशाखदेखि असारसम्म सामुदायिक विद्यालयहरुले मोर्निङ (विहान) को समयमा पठन–पाठन चलाएको बेला सबै शिक्षकले प्रधानाध्यापकसँगको सेटिङमा कहिले यता र कहिले उता गरेर पढाउने गरिरहेका छन् ।

    जम्मा १८ जना शिक्षकहरुमध्ये १३ जना सरकारी विद्यालयका शिक्षकहरु काम गरिरेहका छन् । अहिलेसम्म क्याम्पस व्यवस्थापन समितिलाई प्रभावमा पारेर र राजनीतिक आडमा आफ्नो रोजगारी टीकाइरहेको शिक्षकहरुमाथि आरोप लाग्दै आएको छ।

    शिक्षकहरुलाई तपाईंहरुले कसरी दुई ठाउँमा पढाइरहनुभएको छ भन्ने प्रश्नमा उनीहरुले मिलाएर काम गरिहेका छौं भन्ने जवाफ दिने गरेका छन् ।
    नियमित क्याम्पस र विद्यालय दुवै ठाउँ शिक्षक नपुग्दा पढाइ प्रभावित हुने गरेको स्थानीय अभिभावकहरुको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार