Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खुँखार जुवा अखाडाका संचालकसँग डीआईजी र एआइजीहरुको फोटोसेसन


    आइतबार, बैशाख १० २०८०
    3.7K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । ‘नखेलौं जुवा र तास, धनको नास जीवनको वनबास’ भन्ने गीत नै छ । जुवा, तास खेल्नु र खेलाउनु अपराध हो । कानुनले दण्डनीय अपराध मानेको जुवातास खेलाउनेसँग नारिएर नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजीहरुले बधाइ र खादा लगाएका तस्वीर सामाजिक संजालमै सार्वजनिक भएका छन् ।

    लामो समयदेखि करोडौं करोडका जुवा खेलाउने सोमबहादुर तामाङ उर्फ सोम पाख्रिनले एआईजीमा बढुवा भएका  सन्दीप भण्डारी, श्यामलाल ज्ञवाली, दीपक थापासँग खिचेको तस्वीर फेसबुकमा राखी बधाइ दिएका छन् । एआईजी ज्ञवालीको तस्वीर भने उनले केही दिन राखेर हटाएका छन् । डीआईजी भण्डारीसँगका फोटाहरु पनि सोमबहादुरले सार्वजनिक गरेका छन् ।

    जुवातास खेलाउनेहरुले डीआईजी र एआइजीसँग नारिएर तस्वीर राखेपछि भोलि मातहतका प्रहरीेले उनीहरुलाई जुवा खेलिरहेको ठाउँबाट पक्राउ गर्न सक्लान् ? डीआईजी र एआइजीहरुसँगको पहुँच भएकाहरुलाई कसरी समात्ने ? यो जटिल प्रश्न पैदा भएको छ ।

    काभ्रेका सोमबहादुर तामाङले धुलिखेल, बनेपा, भकुन्डेबेसी र पाँचखालमा ठाउँ फेरी फेरी जुवा खेलाउने गरेका छन् । उनले चिप्स राखेर जुवा तास खेलाउने गरेको आरोप छ । तामाङले जुवा खेलाउँदै जाने क्रममा मदिराको नसा लागेकाहरु लुटिएका घटना पनि घट्नेगरेका छन् । यी जुवा अखाडामा काभ्रेका प्रहरीका घुमुवालाई मासिक घुस दिएर निर्धक्क जुवा अखाडा संचालन गर्ने काम सोमबहादुरले गर्दैआएका छन् ।

    करिब ५ बर्षसम्म काभ्रे प्रहरीका घुमुवा टोपबहादुर गिरीले सोमबहादुरका जुवा अखाडा निर्बाध संचालन गर्ने वातावरण मिलाएका थिए । जिल्लादेखि प्रदेशका हाकिमसम्मलाई बुझाएर गिरी र कृष्ण अधिकारीले सोमबहादुरदेखि पाराङ तामाङको जुवा खेलाउने धन्दाको संरक्षण गरेका थिए ।

    पहाडी जिल्लामध्ये देशको राजधानी काठमाडौं उपत्यकासँग जोडिएको काभ्रेमा जुवा अखाडा संचालित हुँदैआएका छन् । काभ्रेका पाँचखाल, धुलिखेल, बनेपा, भकुन्डबेसी, पनौतीमा धेरै जुवा अखाडा प्रहरीकै संरक्षणमा संचालित छन् । जहाँ लाखौं लाखको जुवा खेल हुने गरेको छ । यी जुवा अखाडा संचालकसँग मिलेमतो गरी संरक्षण गरेबापत काभ्रे जिल्ला प्रहरीका घुमुवादेखि संघीय इकाई प्रहरी कार्यालयसम्म भागबण्डा हुनेगरेको छ ।

    डेढ बर्षअघि प्रहरीकै संरक्षणमा सोमबहादुरहरुले जुवा अखाडा संचालन गर्दैैआएको भिडियोसमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको थियो ।

    प्रहरी प्रधान कार्यालयको उजुरी छानबिनमै गुनासो पुगेपछि १३ बर्षदेखि कार्यरत घुमुवा टोपबहादुर गिरी र कृष्ण अधिकारीको सरुवा भएको थियो ।

    संघीय प्रहरी ईकाई प्रहरी कार्यालय बागमतीका तत्कालीन एसएसपी उमेशराज जोशी हुँदा पनि सोमबहादुरहरुले जुवा अखाडा काभ्रेमा संचालन गरेका थिए । जोशीले पनि घुमुवा गिरीमार्फत् जुवाडेहरूसँग कमिशन खाएको आरोप लागेको थियो । जोशीभन्दा अघिका एसएसपीहरुले समेत काभ्रेका ठूला जुवा अखाडा संचालक सोमबहादुर, पाराङहरुबाट गिरीमार्फत् लिने गरेको बारेमा समाचार आइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार