Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • बीरगंज भन्सार बीओपीमा घुस लेनदेनः सशस्त्रका इन्स्पेक्टर बाहेक सबै तानिए


    आइतबार, फाल्गुन २१ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बीरगंज । सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनीले बीरगंजको भन्सार बीओपीमा ड्युटी खटिएका इन्चार्जबाहेक सबैलाई फिर्ता बोलाएको छ । भन्सार बीओपी बीरगंजका इन्चार्ज रविन्द्र भट्टबाहेक सबै सशस्त्र प्रहरीलाई फिर्ता गरी नयाँ टोली पठाएको छ ।

    भन्सार बीओपी बीरगंजमा तैनाथ ४ जना सशस्त्र प्रहरीले बिहीबार साँझ सेवाग्राहीसँग घुस लिएको घटनापछि बाहिनीले उनीहरुलाई तानेको छ । १३ नम्बर गण पर्साका एसपी सुमन थपलियाले डीएसपी सुमन थापाको टोली अनुगमनका लागि पठाउँदा अनियमिततामा संलग्न भएको पाइएपछि ४ जनालाई तत्कालै गणमा पठाइएको थियो ।

    नेपालफेस डटकममा शुक्रबार सशस्त्र प्रहरीको अनियमितताबारेमा समाचार आएको थियो । शुक्रबारै मधेश प्रदेश बाहिनीले इन्चार्जबाहेक सबैलाई तानेको छ । बीओपीका प्रमुख इन्स्पेक्टर रविन्द्र भट्टलाई भने सशस्त्र मुख्यालयले मात्र तान्न सक्छ । सशस्त्रका आइजीपी राजु अर्याल बिदेश भ्रमणमा छन् ।

    बीरगंज भन्सार बीओपीका इन्स्पेक्टर भट्ट यसअघि घुसकाण्डको भिडियो सार्वजनिक हुँदा तानिएका थिए । तर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पीए भानु देउवाको दबाबमा सशस्त्रका आइजीपी राजु अर्यालले उनलाई १५ दिनमै सोही बीओपीमा फर्काएका थिए ।

    घुसकाण्डको भिडियो नै सार्वजनिक भएको अवस्थामा तानिएका भट्टले आइजीपी अर्यालमाथि दबाब दिएर फर्किएपछि उनले तस्करहरुसँग खुलेआम घुस असुली गर्दै संगठनकै बदनाम गराउँदैआएको आरोप लाग्ने गरेको छ । बीरगंज भन्सार बीओपी सशस्त्रको सबैभन्दा आकर्षक मानिन्छ । भानु देउवाकै दबाबमा भट्टलाई त्यहाँ सरुवा गरिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार