Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रहरीका इन्चार्ज जोशी र तस्करको कनेक्सन, घुमुवाकै स्कर्टिङमा भन्सारछलीका सामान वारपार


    बुधबार, पुष ६ २०७९
    2.8K
    Shares
    Basu Dev Paudel
  • ७ मिनेट पाठ
  • बीरगंज । नेपाल प्रहरीभित्रका केही अधिकृतले राजनीतिक दलका ठूला नेतादेखि संगठनका उच्चपदस्थ अधिकारीसम्म प्रभावमा पार्दै आकर्षक कार्यालयमा बसी अकूत सम्पत्ति आर्जन गर्दैआएका छन् । कतिपय अधिकृतले आकर्षक स्थानमा सरुवा हुने मौका नै पाउँदैनन् भने केहीले सधैं त्यस्ता ठाउँ पाउने गरेका छन् ।

    राजनीतिक दलका नेतादेखि प्रहरीका माथिल्ला हाकिमलाई प्रभावमा पार्दै आकर्षक कार्यालयमा सरुवा हुने र लाभ लिन सफल प्रहरी अधिकृत हुन् इलाका प्रहरी कार्यालय पोखरीया पर्साका इन्चार्ज आयुशप्रसाद जोशी । उनी पहुँच र पैसाकै भरमा मालदार र प्रभावशाली स्थानमा सरुवा हुँदैआएका छन् । 

    राजनीतिक पहुँचकै आधारमा उनी पछिल्लो पटक उनी पोखरीयामा सरुवा हुन् । पोखरीयामा आएपछि जोशीको ध्यान प्रहरीको बर्दीको दुरुपयोग गरी आर्थिक उपार्जनमै केन्द्रित भएको छ । जोशी पोखरीयामा आएपछि घुमुवा परिचालन गरी असुली अभियान नै चलाएका छन् । पैसा भएपछि पावर प्राप्त हुने मान्यताका साथ उनले घुमुवा प्रहरी जवान श्रीलाल मण्डल र अजय यादवमार्फत् भन्सार छली तस्करी गर्नेहरुसँग असुलीमा लगाएका छन् । घुमुवा प्रहरीद्वय श्रीलाल मण्डल र अजय यादव पर्साको तस्करीदेखि सबै कारोबारका बारेमा जानकार भएकाले जोशीले उनीहरुलाई काजमा राखी अतिरिक्त आम्दानीका लागि परिचालन गरेको स्रोत बताउँछ । श्रीलालको दरबन्दी मकवानपुरको सिस्नेरी प्रहरी चौकीमा हो भने अजयको दरबन्दी पनि अन्यत्रै छ ।

    स्रोतका अनुसार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र मधेश प्रदेश प्रहरी प्रमुख मसाउद खाँको नाम समेत लिएर पोखरीयाबाट खटिएका घुमुवाहरुले असुली गर्ने गरेका छन् ।  इन्स्पेक्टर जोशीकै चाहनामा घुमुवाहरुले असुली गर्दैआएका छन् । इप्रका पोखरिया मातहत पर्ने अमरपट्टि , प्रसौनीभाठा, धोरे, खेस्रहा, सबैठवा, बुढगाई, टिहुकी, आसवारी, जानकीटोला लगायतका सिमानाकाबाट नेपालतर्फ लत्ताकपडा, जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटर पार्टस, खाद्यान्न, कस्मेटिक तथा खेलकूदलगायतका सामग्रीहरु, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ, रजनीगन्धा, स्पेयर पार्टस्, भाँडाकुडा र माछालगायतका समानहरु पिकअप भ्यान, इ–रिक्सा, ट्याम्पु, मोटरसाइकल, साइकलका माध्यमबाट लाखौं लाख राजस्व छलेर दैनिक नेपाल भित्र्याइरहेका छन् । 

    यस क्षेत्रका नामुद तस्कर सत्रुघन भने बैलाका समूह र अन्य २–३ वटा तस्कर समूहले सिमापारी भारतबाट जुत्ताचप्पल, कपडा, पारचुनका सामान, पाउडर दुध, हार्डवेयरका सामान, स्पेयर पार्टस, औषधी लगायतका सामानको तस्करी गर्न लाइन पाएका छन् । सबैठवा सिमानाकाबाट प्रहरी प्रशासनकै मिलोमतोमा तस्करहरुले भन्सार छली अवैध रूपमा भारतीय समानहरु तस्करी गरी नेपालका पोखरिया, महुवन बजार, निचुटा, देउरिया, बढनिहार, रंगपुर, जितपुर लगायत ठाउँहरुमा पठाइरहेको खुलासा भएको छ । 

    रोगी राँगा, भैँसी र कुखुराको तस्करी

    यस्तै, भारतसँग जोडिएका पर्साका प्रसौनीभाठ्ठा, खेस्राहा, सबैठवा लगायतका नाकाबाट अवैध रूपमा राँगा भैँसीको तस्करी भइरहेको छ । बिन्दवासिनी गाउँपालिकाको प्रसौनी भाठा निवासी अली मियाँ र उनका भतिज नौसाद मियाँले प्रसौनीभाठ्ठा, खेस्राहा र सबैठवा नाका प्रयोग गरी प्रहरीकै संरक्षणमा रोगी राँगा भैँसीसमेत तस्करी गरी परवानीपुरस्थित हबिब मियाँले सञ्चालन गरेको भैँसी बजारसम्म पठाउने गरेका छन् । 

    यस्तै तिलावे बारवा र अमरपट्टिबाट बब्लु यादव र भुवन यादवले भारतबाट भैंसी नेपालमा ल्याउने लाइन पाएका छन् । भारतका नामुद तस्करका रूपमा चिनिने महादेव यादवसँगै उनको समूहका सदस्यहरुले जानकीटोला र आसवारी लगायतका नाका भएर अवैध रूपमा भैँसी तस्करी गरी जगरजनाथपुर र परवानिपुरस्थित रहेको भैँसी बजार र पशु हाट बजारसम्म पुर्याउने गरेको पाइएको छ । 

    यस्तै, पर्साको अमरपट्टि नाका प्रयोग गरी झौवागुठ्ठीका अनुप साह र छपकैया–सिर्सियाका हरेन्द्र पटेलले कुखुराको चल्लाको तस्करी गरिरहेको पाइएको छ । पर्सामा सञ्चालित अधिकांश कुखुरा फर्महरु यिनै तस्करहरूले भित्र्याएका चल्लाबाट संचालन भइरहेको स्थानीयको भनाइ छ । उनीहरुले भारतको भेलाही, रक्सौल लगायतका ठाउँबाट अलौ, झौवा, अमरपट्टि, प्रसौनीभाठ्ठा र जानकीटोला लगायतका नाकाबाट पर्साका ग्रामीण भेगमा सञ्चालित कुखुरा फर्महरूमा कुखुराको चल्ला सप्लाई गर्ने गरेको प्रहरी स्रोत बताउँछ ।

    यस्तै बुढगाई टिहुकी, भेडिहर्वा र धोरे नाकाबाट ट्याक्टरको माध्यमले गहुँ र धान तस्करी हुँदैआएको छ । रातको समयमा गहुँ र धानका एक दर्जन भन्दा बढी ट्याक्टर दैनिक नेपालतर्फ भित्रयाउने गरिएको स्थानीय बासिन्दा बताउँछन् ।

    मुद्दा मामिलामा समेत आर्थिक मोलमोलाइ गरी त्यसलाई कमजोर बनाई अनुचित लाभ लिइरहेको आरोप प्रहरीमाथि छ । स्रोतका अनुसार कार्यालयमा आउने सेवाग्राहीलाई समेत अनावश्यक दुःख दिने गरेका छन् । कतिपय मुद्दा मामिलामा समेत इन्स्पेक्टर जोशीले नै पैसाको बार्गेनिङ गरी असुली गर्ने गरेको आरोप छ । एक सेवाग्राहीका अनुसार इन्स्पेक्टर साबले सेवाग्राहीलाई मोबाइल बाहिरै राख्न लगाएर पैसाको खुलमखुला डिल गर्ने गरेका छन् । 

    त्यतिमात्र होइन प्रनि जोशीकै संरक्षणमा बहुदरमाई गाउँपालिकाको विश्रामपुर गाउँमा ठूलो जुवा खाल संचालन गर्न छुट दिएका छन् । प्रहरीकै संरक्षणमा रबिन्द्र कुशवाहाले उक्त जुवा अखाडा खुलेआम जुवा खेलाउने गरेका छन् । उक्त जुवा अखडामा नेपाल र भारतका धेरै ठाँउबाट जुवाडे आउने गरेका छन् । जुवा अखडाबाट इन्स्पेक्टर जोशीले हप्ताको दररेट तोकेर लिने गरेको आरोप छ । भिस्वाबाट काठमाडौं–पोखरा जाने विभिन्न कम्पनीका रात्रिबसमा कपडादेखि पाउडर दूध लगायत विभिन्न किसिमका तस्करीका समान ओसारपसार हुने गरेको छ । 

    प्रनि जोशीले पास गराएका तस्करीका सामान बरामद

    इप्रका पोखरीयाका इन्चार्ज प्रहरी निरीक्षक आयुश जोशीले लाइन दिएको सख्खर र गहुँ लोड गरिएको ट्याक्टर मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले छिपहरमाई गाउँपालिका वडा नं २ टिउकीस्थित सडक खण्डमा गएको मंसिर २१ गते बरामद गरेको छ ।

     ना २ त ४०३६ नम्बर सोनालिका ट्याक्टरमा लोड रहेको अन्दाजी २ सय ३० क्वीन्टल गहुँ र अर्को टेलरमा अन्दाजी ८० क्वीन्टल सखर तथा एउटा खाली टेलरमा लोड रहेका सामान समेत बरामद गरिएको थियो ।टोलीले १५ लाख मूल्य बराबरका ती सामान बरामद गरेको थियो ।

    दरबन्दी नभएका प्रहरीलाई घुमुवा राखी तस्करीमा सघाएकोबारेमा  इन्स्पेक्टर जोशीले –त्यस्तो होइन । 
    समाचारमा सत्यता नभएको बताउँदै उनले भने–कुनै मानिसलाई ३ महिनाअघि मुद्दा चल्यो, कानुन बमोजिम मुद्दा चलिसकेको कुरामा कसैले इगो लिन त पाएन नि ? जिल्लामा मुद्दा चल्छ, घर पोखरीया क्षेत्रमा छ । एउटा बिषयमा भएको रीसईबी साधना गर्न मेराबारेमा हुँदै नभएको समाचार आयो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार