Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवौं राष्ट्रिय खेलकुदमा भ्रष्टाचार, ट्रयाकसुटमै ३ करोड ३० लाख गोलमाल


    शनिबार, मंसिर १७ २०७९
    1.6K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको नेतृत्वले पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ट्रयाकसुट खरिदमा मात्रै ३ करोड ३० लाख रुपैयाँ अनियमितता गरेको छ । 

    गएको असोज २८ गतेदेखि पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा खेलाडीका लागि  ११ हजार सेट ट्रयाकसुट, भेष्ट र जुत्तामोजा खरिद गर्नेगरी टेण्डर गरिएको थियो । तर ३ हजार सेट ट्रयाकसुटसहितको सेट बुझाउँदै नबुझाई ३ करोड ३० लाख भुक्तानी दिइएको आरोप सदस्य सचिव घिसिङसहितका परिषदका कर्मचारीमाथि लागेको छ । 

    ११ हजार खेलाडीका लागि ११ हजार सेट भेष्ट, जुत्तामोजा र ट्रयाकसुट खरिद गर्ने गरी टेण्डर भएकोमा ठेक्का पाएको प्लस पइन्ट ट्रेडिङले ८ हजार मात्र बुझाएको परिषद स्रोतले जानकारी दिएको छ ।  

    ८ हजार सेट मात्र बुझाएर बाँकी ३ हजार नबुझाई ३ करोड ३० लाख भागशान्ति गरिएको आरोप परिषद नेतृत्वमाथि छ । एक मोजा, भेष्ट र ट्रयाकसुटसहित एक सेटको ११ हजार रुपैयाँमा आपूर्ति गर्नेगरी नयाँबानश्वरको प्लस पइन्ट ट्रेडिङले पाएको थियो । प्लस पइन्टसँग तेक्वान्दो खेलाडी दीपक बिष्टले ट्रयाकसुट खरिदको सेटिङ गरेका थिए ।

    प्लस पइन्टसँग खरिदको चाँजोपाँजोमात्र होइन, उक्त कम्पनीसँग बिष्टको साझेदारी नै रहेको चर्चा परिषदमा हुने गरेको छ । खरिद गरिएको ट्रयाकसुट पनि गुणस्तरहीन भएकाले खेल मैदानमै च्यातिएको गुनासो खेलाडीले गरेका थिए । ८ हजार बुझाएको सेटको पनि नियमाअनुसार पाउने कमिसन छँदैछ, ३ हजार जोर बुझाउँदै नबुझाई अनियमितता गरेकोबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो दिनुपर्ने परिषदकै कर्मचारी बताउँछन् । प्लस पइन्टले ट्रयाकसुटको भुक्तानी लिइसकेको स्रोतले बताएको छ । 

    त्यसैगरी नवौं राष्ट्रिय खेलकुदमा भाग लिने खेलाडीका लागि नेपालमै उत्पादित जुत्ता प्रयोग गर्ने भनेर फुटवयेर एशोसिएसनका उपाध्यक्ष नानीराज घिमिरेले चीनबाट ल्याएर खेलाडीलाई दिएको स्र्रोतले बताएको छ । घिमिरेको देखावटी जुत्ता उद्योग सितापाइलमा छ । तर उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीका लागि स्वदेशी जुत्ता आपूर्ति गर्ने भनेर झुक्याई टेण्डर लिई चीनबाट जुत्ता ल्याएर दिएका थिए । नेपाली जुत्ता भनेर चीनमा बनेको जुत्ता प्रयोग गरिएको अख्तियारले छानबिन गर्ने हो भने पुष्टि हुने परिषदकै कर्मचारी स्रोत बताउँछ । प्रतिजोर १ हजार ६ सय रुपैयाँमा परिषदबाट टेण्डर पाए पनि प्रतिजोर ८ सय रुपैयाँको न्यून गुणस्तरको जुत्ता खेलाडीलाई दिइएको छ । 

    ३ हजार सेट ट्रयाकसुट बुझाउँदै नबुझाई भुक्तानी दिइएकोबारेमा सदस्य सचिव घिसिङले भने–‘मोबिलाइजेसनबापतको रकम दिइएको हो । भुक्तानी भइसकेको छैन ।’ जुत्ता पनि स्वदेशी उत्पादन भनेर चीनबाट गुणस्तरहीन ल्याइएकोबारेमा उनले सार्वजनिक खरिद ऐन अनुसार नै खरिद भएको दाबी गरे ।

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा खरिद गरिएको ट्रयाकसुट र जुत्ता लगायतमा भएको अनियमितताका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार