एनआइसी एसिया बैंकका संचालक रामचन्द्र संघाई
काठमाडौं । महानगरीय प्रहरी बृत्त दरबारमार्गले सोमबार साँझ अरबपति ब्यापारीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । कमलादीस्थित गणगौर रिजेन्सी बुटिक होटलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पक्राउ गरेका छन् । जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले ९ जना व्यापारीलाई नगदसहित पक्राउ गरेको बताइएको छ । उक्त जुवाको खालबाट प्रहरीले दुई लाख भन्दा बढी नगद बरामद पनि गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सका संचालक अशोक अग्रवाल
अशोक अग्रवाल र विमल अउजा विशाल ग्रुपका संचालक हुन् । रामचन्द्र संघाई एनआईसी एशिया बैंकका सञ्चालक हुन् । संघाईलाई गएको बर्ष नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” सम्मानबाट विभूषित गरिएको थियो । उनी सुवास संघाईका भाइ हुन् । र, संघाई ग्रुपका संचालक हुन् ।
अशोक अग्रवाल नेपालका लागि गिनीका अवैतनिक बाणिज्यदूत हुन् । यसअघि किर्गिस्तानका अवैतनिक दूत सुलभ अग्रवाल थर्मोगन कालोबजारी गर्दागर्दै पक्राउ परेका थिए । आज गिनीका अवैतनिक दूत जुवाखालबाट पक्राउ परेका छन् ।
पुरुषोत्तम घिराइया कपडा ब्यापारी हुन् । गोविन्दराम सरिया झापाको चिया उद्योगीको भेषमा हुन्डीको कारोबार गर्दैआएका छन् । उनीहरुको साथबाट दरबारमार्ग प्रहरी बृत्तको टोलीले क्यासिनो खेलमा प्रयोग हुने सिक्का समेत बरामद गरेको समाचार छ । यी पाँचैजना ब्यापारीलाई राति नै छाड्ने दबाब प्रहरीमा परेको छ ।