काठमाडौं । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण नेपालमा गएको चैत ११ देखि लकडाउन छ । लकडाउनका कारण एसईई र १२ कक्षाको परीक्षा रोकिएको छ । पठनपाठन ठप्प छ । बैशाखदेखि सुरु हुने शैक्षिक सत्र र विद्यार्थी भर्ना पनि रोकिएको छ ।
कोरोना भाइरस संक्रमण नेपालमा झन् बढिरहेको छ । यस्तो अवस्थामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेदेखि बैकल्पिक उपाय अबलम्बन गरी पठनपाठन गराउने भएको छ । कोरोना महामारीले तत्काल विद्यालय खुल्ने सम्भावना नरहेपछि शिक्षा मन्त्रालयले वैकल्पिक व्यवस्थाबाट विद्यार्थीलाई पठनपाठन गराउने तयारी गरेको छ ।
त्यसका लागि मन्त्रालयले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ मन्त्रालयले आइतबार स्वीकृत गरेको छ ।
विद्यालय खुलेर नियमित पठनपाठनको सहज अवस्था सिर्जना नहुञ्जेल खुला तथा दूरु शिक्षालगायत वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइ सहजीकरण गर्न निर्देशिका ल्याइएको मन्त्रालयले जनाएको छ ।
शिक्षा मन्त्रालयले असार १ गतेबाट सोही निर्देशिका बमोजिम वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने, गराउने व्यवस्थाका लागि संघ, प्रदेश र स्थानीय तहका सबै निकायहरूलाई अनुरोध गरेको छ । तर विद्यालय खोल्नेबारे हालसम्म कुनै निर्णय भने नभएको मन्त्रालयले प्रष्ट पारेको छ ।