खोलाको अनुगमनमा गएको जिसस सभापति नवलकिशोर सिंह नेतृत्वको टोली
कलैया । जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गत रहेको बालगंगा, दुधौरा र पसाह खोलाबाट मापदण्ड बिपरीत नदीजन्य पदार्थ दोहन गर्ने ठेकेदारलाई जिल्ला समन्वय समितिले १ लाख रुपैयाँका दरले जरिवाना तिराएको छ । मापदण्ड विपरीत स्काभेटर प्रयोग गरी ढुंगा, बालुवा, गिट्टी र ग्राभेल उत्खनन् गरेको गुनासोपछि जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिंहको नेतृत्वमा शनिबार तीनै वटा खोलाको अनुगमन गरिएको थियो ।
अनुगमनमा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी प्रमुख कृष्ण पँगेनी र सशस्त्रका एसपी दिगबिजय सुवेदी थिए । अनुगमनका क्रममा मापदण्ड विपरीत खोला दोहन गरिएको पाइएपछि टिपर र स्काभेटर नियन्त्रणमा लिइएको थियो । अनुगमन टोलीले ४ वटा स्काभेटर र एक दर्जन टिपरहरूलाई नियन्त्रणमा लिएको थियो । आइतबार १ लाखका दरले जरिवाना लिएर टिपर र स्काभेटर छाडिएको छ ।
मापदण्ड बिपरीत स्काभेटर प्रयोग गरी गरिएको खोला उत्खनन्ले खोला क्षेत्रको वन, बस्ती जोखिममा पर्ने र बस्ती डुबानमा पर्ने र खोलाले धार समेत परिवर्तन गर्ने खतरा हुन्छ । ठेकेदारहरूलाई नियम अनुसार नै खोलानालाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न निर्देशन यसअघि माघ १५ मा दिए पनि अटेरी गरेपछि यो पटक जरिवाना तिराइएको जिसस प्रमुख सिंहले बताएका छन् ।
अनुगमनको क्रममा बालगंगा खोलाको नदीजन्य पदार्थको ठेक्का पाएको हेटौँडाको न्यू पाथीभारा सप्लार्यस, दुधौरा खोलाको नदीजन्य पदार्थको ठेक्का सकारेको सिमराको श्रेष्ठ बिल्डर्स र पसाह खोलाको नदीजन्य पदार्थको ठेक्का सकारेको कलैयाको ओम सप्लार्यसलाई १ लाख रुपैयाँका दरले जरिवाना तिराइएको छ । उनीहरुले जितपुर सिमरा उपमहानगरपालिकाका मेयर कृष्ण पौडेलसँग सेटिङ गरी स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गर्दैआएका थिए ।
ठेकेदारले पूर्व–पश्चिम महेन्द्र राजमार्गको रहेको पुल नजिकै मापदण्ड बिपरीत उत्खनन् गरेको भेटिएको छ । स्काभेटर प्रयोग गरी मापदण्डमा तोकिएभन्दा बढी गहिरो खनिएको पाइएको जिससका प्रमुख सिंहले बताएका छन् । नेपालफेसले शनिबार मात्रै पनि जितपुर सिमरा उपमहानगरपालिकाका मेयर र ठेकेदारको मिलेमतोमा तीनवटै खोलाबाट मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन् गरेको समाचार सार्वजनिक गरेको थियो ।
यो पनि पढ्नुहोस्ः