रविभूषण यादव र बैद्यनाथ दास
बीरगंज । लकडाउनको समयमा पनि नेपाल–भारत सीमा क्षेत्रबाट मदिराको तस्करी भइरहेको छ । पर्साको प्रमुख नाका इनर्वाबाट मदिराको तस्करी ब्यापक भएको छ । पंहरीले देशमा लकडाउन भएको बेला भारतीय नागरिक मोख्तारलाई मदिराको तस्करीको ठेक्का र लाईन दिएको छ । इनर्वास्थित प्रहरी चौकीका इन्चार्ज सई बैझनाथ दासले मदिरा तस्करीमा सघाउँदैआएका छन् ।
पहिले मरिचको तस्करी धन्दा गर्दै आएका भारतीय नागरिक मोख्तारले अहिले मदिराको तस्करी गरिरहेका छन् । राति ९ बजेपछि उनले ६ जना महिलालाई प्रयोग गरी टाउकोमा कार्टुन र बोराको माध्यमबाट भन्सारको पछाडिको बाटो प्रयोग गरी तस्करी गरिरहेका छन् । इनर्वा नाकाबाट राति ३ देखि ५ पटकसम्म यसरी मदिरा तस्करी गराउने काम भैरहेको छ । लकडाउन शुरू भएदेखि नै यसरी मदिरा तस्करी भैरहेको छ ।
इनर्वा नाकाबाट सई गोकुल बलायर जिल्लामा तानिएपछि २० दिन निमित्त प्रमुख बनेका असई भिखारी यादवले नै शुरूमा मदिराको तस्करीको लाइन मोख्तारलाई दिएका थिए । जब तस्करी गर्ने गराउने उद्देश्यले सेटिङमा सई बैद्यनाथ दासलाई इन्चार्जमा लगियो उनै असई भिखारी यादवले तस्कर मोख्तारलाई भेटघाट र चिनजान गराई लाइन मिलाइदिएका छन् । त्यसबेलादेखि मोख्तारले मदिरा तस्करी गराए बापत असई ,सई र जिल्लामा समेत दिनेगरी रकम तोकेको र जिल्लाले पनि संरक्षण गर्दै आइरहेको छ । ठूलो मात्रामा यसरी तस्करी हुँदाहुँदै पनि नियन्त्रणतर्फ कसैको ध्यान गएको देखिदैन । प्रहरी संगठनमा नै ज्यादै बदनामी कमाएका विवादित सई वैद्यनाथ दासलाई पर्साको सबैभन्दा महत्वपूर्ण र जिम्मेवार ठाउँका रूपमा रहेको इनर्वा भन्सारस्थित चौकीको इन्चार्जमा सरुवा गर्ने काममा पर्सा जिल्लाका क्राइम ब्रान्च टोलीका प्रमुख इन्स्पेक्टर रविभूषण यादवको भूमिका छ । चितवनमा कार्यरत रहँदादेखि नै ज्यादै बदनाम भएका सई दासलाई वीरगञ्ज हाजिर हुनेबित्तिकै इनर्वा नाका पठाउन लागिएको थियो ।
अवकाश प्राप्त आइजीपी सर्वेन्द्र खनालका बडिगार्ड भए पनि पैसाको कारोवारमा बदनामी कमाएका सई विजय यादवको दबाबमा वैद्यनाथ दासलाई इनर्वा नाका पठाउन पत्रसमेत तयार भएको थियो । तत्कालीन एसपी रेवती ढकालले उनको बदनामी थाहा पाएपछि विजय यादवले भने पनि उनलाई इनर्वा नपठाई बसपार्क पठाए ।
बसपार्कमा पनि त्यसरी नै बदनाम भएका असुलीधन्दाबाहेक अरू नगर्ने सई दास त्यसपछि परवानीपुरस्थित चौकीमा आएका थिए । त्यहाँ पनि उनको बारेमा गुनासो आएपछि उनी जिल्लामा तानिएका हुन् । अहिले यिनै विवादित दासलाई इनर्वा चौकीमा लागिएको छ । र, उनकै सेटिङमा लकडाउनको समयमा पनि मदिराको तस्करी भैरहेको छ ।