दायाँबाट क्रमशः नवीन पाण्डे, मणि कुँवर, टासी घले, धीरेन्द्र प्रधान र नरेन्द्र श्रेष्ठ ।
काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)का अन्तर्राष्ट्रिय विभाग प्रमुख नवीन पाण्डे विदेशी पीआर लिएर नेपालको फुटबल जगतमा हस्तक्षेप गर्दैआएका छन् । पाण्डे जर्मन नागरिकताधारी हुन् । उनलाई अन्तर्राष्ट्रिय विभाग प्रमुख बनाउँदा एन्फाका विवादित पूर्वअध्यक्ष गणेश थापा र टासी घलेले बिरोध गरेका थिए । बिरोधका बाबजुद उनलाई अन्तर्राष्ट्रिय विभाग प्रमुख बनाइएको थियो ।
विदेशी पीआर वा नागरिकता लिएका नागरिकलाई नेपाल सरकार अन्तर्गतका निकायमा काम गर्न कानुनी बन्देज छ । तर एन्फाले त पाण्डेलाई अन्तर्राष्ट्रिय विभाग प्रमुख बनाएको छ । एन्फामा उनको हस्तक्षेप बढ्दै गएको छ । उनले एन्फाबाट विदेश जानेमा सधैंजसो आफ्नो नाम हाल्ने गरेका छन् । आफ्नै हात जगन्नाथ गरी उनी विश्वकपमा रसिया पनि गए, मलेसियामा भएको एएफसी कांग्रेसजस्ता कार्यक्रममा गइसकेका छन् । पाण्डे एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाकै कम्पनी हिमालयन शेर्पाको म्यानेजर भएकाले मनपरी विदेश गएको बिरोध हुँदा पनि आँखा चिम्लिने गरेका छन् ।
जर्मन नागरिकता लिएका नवीन पाण्डेले नेपालमा बसेर अमेरिकी कम्पनी टीटीआई चलाइरहेका छन् । उनले टीटीआई कम्पनीको आउटसोर्सिङ चलाउँदैआएका छन् । उनले नेपालको फुटबलको बारेमा नकारात्मक र हुँदै नभएका अफवाहपूर्ण कुराहरु अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा) र एसियाली फुटबल महासंघ(एएफसी)मा पठाउँदैआएका छन् । र, मिडिया पनि भरपूर प्रयोग गर्दैआएका छन् । टीटीआईको रकम खर्च गरी उनले जिल्ला जिल्लामा फोन गरी एन्फाका बिरुद्ध भड्काउने काम गर्दैआएको आरोप छ ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई बदनाम गराउन पाण्डेले ‘चेन्ज एन्फा’ अनलाइन पनि संचालन गरेका छन् । सुरुमा उनलाई अन्तर्राष्ट्रिय विभाग प्रमुख बनाउँदा विरोध गर्ने गणेश थापा, टासी घले, थापाका साला मणि कुँवरहरुसँग अहिले पाण्डेको घनिष्ठता बढेको छ । लकडाउन घोषणाको अघिल्लो दिन २०७६ चैत १०(मार्च २३, २०२०) मा गणेश थापाको घरमा नरेन्द्र श्रेष्ठ, धिरेन्द्र प्रधान, मणि कुँवर, टासी घलेसहितको बैठक राखी नवीन पाण्डेले फिफा र एएफसीमा लबिङ गरी पंकजविक्रम नेम्वाङलाई एन्फाको आगामी अध्यक्ष बनाउने निष्कर्ष निकालेको स्रोत बताउँछ । त्यो बैठकपछि पहिला नवीन पाण्डेलाई अन्तर्राष्ट्रिय विभाग प्रमुख बनाउँदा बिरोध गर्ने गणेश थापा, टासी घलेहरु के स्वार्थमा मिले भन्ने चर्चा नेपाली फुटबल जगतमा हुँदैआएको छ । उक्त, दिनको बसाईलाई नेपाली फुटबलको दिशामा फलदायी भन्दै नवीन पाण्डेले सामाजिक संजालमा पोष्ट गरेका छन् ।

विनाभिसा नै चीनको केरुङमा पुगेका नवीन पाण्डेसहितको टोली ।
जर्मन नागरिक पाण्डे विनाभिसा नै रसुवा हुँदै चीनको केरुङ घुम्न गएको बिषयमा समेत चर्चा हुने गरेको छ । नेपाली नागरिकलाई मात्र चीन सरकारले केरुङसम्म २४ घन्टासम्म जान दिने गरेको छ । तर पाण्डे २०७४ चैत १५(मार्च २९, २०१८)मा चीनको केरुङ घुम्न गएका थिए । उनी विनाभिसा कसरी केरुङ गए ? जर्मनीको भिसा नभए पनि उनलाई केरुङ पुर्याउने काममा तत्कालीन रसुवा भन्सार कार्यालयका कर्मचारी पनि मिलेका थिए । उनले नै अध्यागमनका अधिकारीलाई भनेर विनाभिसा नवीन पाण्डेलाई केरुङ जाने बन्दोबस्त मिलाएका थिए । उनलाई किन केरुङ पठाइयो, त्यसबारेमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूताबास पनि अनभिज्ञ छन् । जर्मन नागरिक भए पनि केरुङ घुम्न जानुको कारण कतै उनी अमेरिकाको चाहनामा त काम गर्दैनन् भन्ने आशंका प्रकट गर्न थालिएको छ । उनी अमेरिकी कम्पनी टीटीआईमा आवद्ध भएकाले यो आशंका गर्ने ठाउँ दिएको छ ।