Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संविधान संशोधन प्रस्तावले पार्टी एकतामै दरारः समाजवादी पक्षमा, राजपा विपक्षमा


    आइतबार, जेष्ठ १८ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । सरकारले दर्ता गरेको संविधान संशोधनको विधेयकले तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीबीचको दूरी झनै बढाउने देखिएको छ । स्रोतका अनुसार समाजवादी संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने र राजपा विपक्षमा उभिने सम्भावना देखिएको हो । यसबाट दुई पार्टीको एकता झनै टाढिने देखिएको छ ।

    शुक्रबार तत्कालीन राजपाका नेता महन्थ ठाकुरले संसदमा छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गर्न खोजेका थिए । उनलाई समाजवादीले साथ दिएन । आइतबार ठाकुरले संसद् सचिवालयमा छुट्टै प्रस्ताव दर्ता गर्ने कार्यक्रम रहेको राजपाका नेताहरू बताउँछन् । यसमा समाजवादीलाई मनाउन राजपाका नेताहरूले शनिबार दिनभर प्रयास गरेका छन् । राजपाका नेताहरूले शनिबार समाजवादीका अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवसँग औपचारिक वार्ता गरेका छन् । ‘हामीले दर्ता गर्न लागेको संशोधन प्रस्तावमा मिलेर जान राजपा र समाजवादी पार्टीबीच कुराकानी भइरहेको छ तर कुराकानी टुंगिएको छैन,’ दुई अलगअलग पार्टीजस्तो गरी तत्कालीन राजपाका नेता राजेन्द्र महतोले भने, ‘वार्ता जारी छ । ’

    राजपा र समाजवादी दुवै पार्टीले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावमा आफ्ना अजेन्डाहरूलाई समेत समेटेर प्योकजमा ल्याउनुपर्ने अडान राख्दै आएका छन् । सरकारले भने प्याकेजमा संशोधन प्रस्ताव नल्याउने, यसपटक संविधानको अनुसूची ३ लाई संशोधन गर्न मात्र संशोधन प्रस्ताव आउने बताएको छ । समाजवादी एक सांसद तथा पदाधिकारीले भने, ‘प्याकेजमा संशोधन प्रस्ताव ल्याउने हाम्रो तयारी हो तर पनि संशोधनको पक्षमा मतदात गर्ने करिबकरिब निश्चित छ ।’

    राजपा र समाजवादी दुवै पार्टीले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावमा आफ्ना अजेन्डाहरूलाई समेत समेटेर प्योकजमा ल्याउनुपर्ने अडान राख्दै आएका छन् ।

    राजपाका नेताहरू भने प्रस्टसँग आफूले उठाएको अजेन्डालाई सम्बोधन नगरी ल्याइएको संविधान संशोधन प्रस्तावलाई आफूहरूले समर्थन नगर्ने बताएका छन्। ‘प्याकेजमा संविधान संशोधन गरौं भन्ने हाम्रो प्रस्ताव हो। हाम्रो माग सम्बोधन नगरी ल्याइएको संविधान संशोधन प्रस्तावलाई हामी समर्थन गर्दैनौं,’ राजपाका महासचिव मनीष सुमनले भने । 

    शुक्रबार राजपाका नेता महन्थ ठाकुरले दर्ता गर्न लागेको संविधान संशोधन प्रस्तावमा राजपाका नेताहरूले समाजवादीका सांसद प्रदीप यादव, इस्तियाक राई तथा उमाशंकर अरगरैयाको नाम राखेका थिए । ठाकुरले यी तीन सांसदलाई आफूसँगै लगेर प्रस्ताव दर्ता गर्न खोजेका थिए । तर दर्ता गर्ने ठाउँ नपुग्दै समाजवादीका अध्यक्ष उपेन्द्र यादवले आफ्ना सांसदलाई फोन गरेर संशोधन प्रस्तावमा हस्ताक्षर नगर्न निर्देशन दिए। उनले समाजवादीका सांसदलाई त्यहाँबाट फर्कनसमेत अह्राए । त्यसपछि राजपाका नेताहरू समाजवादीसँग आक्रोशित भएका छन् । 

    तत्कालीन राजपा र समाजवादीबीच वैशाख १० गते पार्टी एकीकरण गर्ने सहमति भइसकेको छ । तर निर्वाचन आयोगमा पार्टी एकीकरण गरिएको डकुमेन्ट बुझाउनुअघि नै दुई पार्टीबीच मतभेद बढ्न थालेको छ । पार्टी नेतृत्व, मयार्दाक्रम, संगठनात्मक संरचना, नेताको व्यवस्थापन, सैद्धान्तिक अवधारणालगायत विषयमा राजपा र समाजवादीबीच कुरा मिल्न सकेको छैन । कुरा मिलाउन पटकपटक वार्ता हुने गरेको छ तर दुवै पक्ष आफ्नो अडानबाट पछि हटेको छैन। दर्जनौं अजेन्डामा सहमति जुट्न नसकेको बेला संविधान संशोधन प्रस्तावले समाजवादी र राजपाबीचको दूरी झनै बढाउने स्थिति देखिएको छ । आजको नागरिक दैनिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार