काठमाडौं । सरकारले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सेना परिचालन गर्ने निर्णय गरेको छ । सरकारले घोषणा गरेको लकडाउन प्रहरीले मात्र प्रभावकारी रुपमा लागू गर्न नसकेको र काठमाडौंमा लुकिछिपी आउने क्रम नरोकिएपछि सरकारले सेनालाई जिम्मा दिन लागेको छ ।
शनिबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ ३२ सम्म लकडाउनको समय बढाउने निर्णयसँगै सेना परिचालन गर्ने निर्णय गरेको छ । नेपालमा कोरोना संक्रमितको संख्या जेठदेखि लगातार बढेर शनिबारसम्म १४ सय नाघिसकेको छ । मन्त्रिपरिषदको बैठक अघि सुरक्षा परिषदको बैठक बसी सेना परिचालनको सिफारिस गरेको थियो । सुरक्षा परिषदको सिफारिसमा मात्र सेना परिचालन गर्ने कानुनी ब्यवस्था छ ।