काठमाडौं । बजेटमा एमसीसीको सहयोग रकम समेत समावेश गरेपछि नेकपाभित्र त्यसको बिरोध सुरु भएको छ । बजेट लगायतका बिषयमा छलफल गर्न नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
एमसीसीको बिषय बजेटमा घुसाइएपछि नेकपाका बरिष्ट नेता झलनाथ खनाल लगायतले सार्वजनिक रुपमै बिरोध गरेका छन् । र, बजेट नै फेल गराउने धम्की दिएका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रधानमन्त्रीसँग नै बजेटमा एमसीसी घुुसाइएकोबारेमा भेटेरै आपत्ति जनाएका थिए । त्यसपछि सचिवालय बैठकमा छलफल गर्ने सहमति भएको थियो ।
सरकारले आर्थिक वर्ष २०७७–०७८ का लागि बिहीबार संसदमा सार्वजनिक गरेको बजेटमा बजेटमा लप्सीफेदी–रातामाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी अन्तरदेशीय प्रशारण निर्माण अघि बढाउने उल्लेख छ । त्यसका लागि अन्तरदेशीय प्रशारण निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ । यसमा तोकेरै एमसीसीको बजेट नभनिए पनि धेरै रकम छुट्याएपछि एमसीसीकै भएको भन्दै नेकपा नेताहरु सशंकित भएका छन् ।