काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७७/०७८ को बजेट भाषणमा कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमा भारी बृद्धि गरेका छन् । स्वास्थ्य मन्त्रालयको लागि मात्रै ९० अर्ब ६९ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ । बजेटमा कृषि क्षेत्रको विकासका लागि किसानलाई रासायनिक मलमा दिंदैआएको अनुदानमा बृद्धि गरी ११ अर्ब पुर्याएको छ ।
२ सय खाद्य भण्डारण केन्द्र बनाउन स्थानीय तहलाई १ अर्ब दिने घोषणा गरिएको छ । सबै स्थानीय तहमा बजार पूर्वाधार निर्माण गर्ने र चोभारमा फलफूल तथा हाटबजार सञ्चालन गर्ने घोषणा गरिएको छ ।
त्यसैगरी प्रधानमन्त्री कृषि आधनुनिकीकरण परियोजनाका लागि ३ अर्ब २२ करोड छुट्याइएको छ । कृषिको विकासका लागि एक स्थानीय तह एक उत्पादन पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्नेछ । बजेट भाषणमा आगामी वर्ष नेपाललाई तरकारी र मासुमा आत्मनिर्भर बनाउने उल्लेख छ ।
त्यसैगरी सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिनका लागि ६७ अर्ब ५० करोड विनियोजन गरेको छ । कोरोना महामारीका कारण सरकारले सामाजिक सुरक्षाभत्ता बृद्धि यो बर्ष गरेको छैन ।
पत्यसैगरी कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई पनि सरकारले राहत घोषणा गरेको छ । पर्यटन व्यवसायीका लागि ५० अर्बको कोष स्थापना गर्ने घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकले स्थापना गर्ने यो कोषबाट पाँच प्रतिशत ब्याजबाट ऋण लिएर श्रमिकलाई तलब दिन तथा व्यवसाय सञ्चालनका लागि उपयोग गर्नसक्ने छन् ।
त्यस्तै सरकारले सहुलियत ऋण दिनका लागि नेपाल राष्ट्र बैंकमा रहने पुर्नकर्जा कोषको रकम १ खर्ब पुर्याउने घोषणा गरेको छ ।