Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लकडाउनमा विकास निर्माणलाई प्राथमिकता दिँदै चन्द्रागिरि


    बिहिबार, जेष्ठ १५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ, १५ जेठ । चन्द्रागिरि नगरपालिकाले बन्दाबन्दीको समयमा विकास निर्माणको कार्यलाई प्राथमिकता दिएको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिले बन्दाबन्दीको समयमा पनि नगरपालिकाभित्रका विकास निर्माणका कार्यक्रमलाई प्राथमिकता दिएको हो ।

    विश्वव्यापीरुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९)को सम्भावित सङ्क्रमणलाई रोक्न सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी गरेको थियो ।चन्द्रागिरिले बन्दाबन्दीमा पनि सामाजिक दूरी कायम राखी रु १५ करोड लागतमा बन्न लागेको नगरपालिकाको भवन निर्माणको कामलाई रोकेको छैन । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बन्दाबन्दीको समयमा चन्द्रागिरि–११ मा रु ५६ लाख लागतमा त्रिभुवन राजपथस्थित वसुन्धरा चोकदेखि गहसीसम्मको बाटो ढलान भइरहेको बताउनुभयो । “रु ५० लाख लागतमा सतुङ्गल बसस्टपदेखि नैकाप हुँदै बालकुमारी जाने बाटो ढलान र ढल निर्माण कार्य हुँदैछ”, उहाँले भन्नुभयो ।

    चन्द्रागिरि नगरपालिकाले रु सात लाखको लागतमा सतुङ्गल वरपीपल चौतारोको निर्माण कार्य गरिरहेको छ । उक्त चौतारोको ढलान र प्लास्टरको काम भइरहेको नगर प्रवक्ता महर्जनले बताउनुभयो । मातातीर्थ सामुदायिक अस्पताल निर्माणको कामलाई समेत चन्द्रागिरिले रोकेको छैन । उक्त नगरपालिकाले सतुङ्गल सिप्रदीदेखि मातातीर्थ हुँदै देउराली जाने बाटो रु ३० लाख लागतमा ढलान गरेको छ । वाग्मती प्रदेश सरकारको रु ३० लाख, चन्द्रागिरि नगरपालिकाको रु पाँच लाख र स्थानीय जनताको रु पाँच लाखको लगानीमा उक्त बाटो ढलान गर्न लागिएको हो ।

    प्रवक्ता महर्जनले चन्द्रागिरिका सबै वडाले विकास निर्माण कार्यलाई प्राथमिकतामा राखेको बताउनुभयो । चन्द्रागिरि नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार