Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजदूतको पहलमा नेपाल र इजरायलका चिकित्सकबीच भर्चुअल सम्वाद


    बिहिबार, जेष्ठ १५ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  •  
    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मुक्त हुँदै गएको ईजरायल र कोरोनाका संक्रमित बढ्दै गएको नेपालका चिकित्सकहरुबीच भर्चुअल वेभिनार भएको छ । नेपालमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण र न्युनिकरणका लागि कोरोना संक्रमणको कहरबाट तङ्ग्रदै गरेको इजरायलले प्राप्त गरेका अनुभव र सफलताका विषय आदन–प्रदानका लागि भर्चुअल सम्वाद गरेको इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले जानकारी दिनुभयो ।
     
    ‘कोरोना भाइरसको संक्रमणबाट मुक्त हुन इजरायली सरकार, चिकित्सक र यहाँका जनताले गरेका व्यवस्थापकीय, नीतिगत, चिकित्सा तथा अन्यको अनुभव आदन–प्रदानका विषयमा हामीले सम्वाद गरेका हौँ,’ राजदूत शाक्यले भन्नुभयो,’ राजदूत शाक्यले भन्नुभयो, ‘कोरोना भाइरसको संक्रमणबाट मुक्त हुन यस्तो सम्वाद सहयोगी बन्ने हामीले अपेक्षा लिएका छौँ । यो सम्वादलाई निरन्तरता दिन्छौँ ।’
    ijarayal.jpg
    भर्चुअल बैठक सुरु गर्दै राजदूत शाक्य
     
    राजदूत शाक्यले कठिन परिस्थितिमा नेपाल र ईजरायलका चिकित्सकहरु बिचको सहकार्यलाई घनीभूत बनाउँदै कोरोना संक्रमण व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्नुपर्नेमा पनि जोड दिनुभयो । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार सुरुवाती चरममै इजरायल कोरोना संक्रमणको महामारीको चपेटामा परेको थियो । ८६ लाखको हाराहारीको जनसंख्या रहेको इजरायलमा १६ हजार ७ सय ४३ जना संक्रमित फेला परेका थिए । त्यसमा २ सय ८१ जनाको ज्यान गएको थियो । अहिले त्यहाँ संक्रमितको संख्या जम्मा २३ छ । सरकार र चिकित्सकहरुको कुसल व्यवस्थापकीय भूमिकाकै कारण इजरायलले कोरोना भाइरसको संक्रमणबाट आफ्नो देशलाई चाँडै मुक्त गरेको थियो । त्यो अनुभव नेपालका लागि पनि उपयोगी हुने ठानेरै नेपाली राजदूत डा. शाक्यको पहलमा इजरायलस्थित नेपाली दूतावासले भर्चुअल वेभिनार गरेको हो । सम्वादमा नेपालका लागि ईजरायली राजदूत बेनी ओमार पनि सहभागी हुनुहुन्थ्यो ।
     
    नेपालका लागि ईजरायली राजदूत ओमारले पनि यसलाई राम्रो शुरुवात भन्दै निरन्तरताको कामना व्यक्त गर्नुभयो । सम्वादमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक रोशनी लक्ष्मी तुइतुइ, शुक्रराज ट्रपिकल सरुवारोग अस्पतालका डा अनुप बास्तोला, नेपाल मेडिकल काउन्सिलबाट प्राध्यापक डा भगवान कोइराला सहभागी हुनहुन्थ्यो ।
     
    त्यसैगरी भेरी अस्पताल नेपालगञ्ज, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान, जुम्ला, सेती अस्पताल, कैलाली, पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धुलिखेल अस्पताल, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलगायतका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत चिकित्सकहरु पनि सहभागी थिए । भर्चुअल सम्वादमा ईजरायलबाट सेबा हस्पीटलका प्राडा एली सेचवार्ज र प्राडा माइकल एल एलकेनलगायत पनि सहभागी हुनुहुन्थ्यो । सेबा अस्पताल विश्वको सातौं उत्कृष्ट अस्पताल मानिन्छ ।
     
    करीब दुई घण्टाको सम्वादमा नेपाली पक्षले कोरोना संक्रमणसम्बन्धी वर्तमान स्थिति, समस्याहरु तथा अन्य जिज्ञासाहरु राखेको थियो भने ईजरायली डाक्टरहरुले आफ्नो अनुभवबाट गर्न मिल्ने, गर्नु पर्ने र गर्न नहुने बिषयहरुमा आ–आफ्नो राय प्रस्तुत गरेका थिए । यस्ता वेभिनारले दुई देशबीचको अनुभव आदन–प्रदान हुने र आगामी दिनमा आपसी सहकार्य बढाउँदै कोरोना नियन्त्रण र न्युनिकरणका लागि थप सहज हुने सहभागीहरुले बताएका थिए ।
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार