काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज आर्थिक वर्ष २०७७–०७८ को बजेट सार्वजनिक गर्दैछन् । संसदमा दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम छ ।
यो वर्षको बजेटमा नयाँ कार्यक्रम आउने सम्भावना कम छ । कोरोना भाइरसले अर्थतन्त्र प्रभावित भएकाले त्यसको रोकथाममा केन्द्रित रहेर बजेट ल्याउन लागिएको छ । खासगरी रोजगारी धेरै सिर्जना हुने गरी केही कार्यक्रमहरु ल्याउन लागिएको स्रोत बताउँछ । कृषिको विकासका लागि जोड दिंदै कार्यक्रम ल्याउन लागेको छ । बजेटमा कृषिलाई नै बढी जोड दिन कृषि विकास मन्त्री घनश्याम भूसालले विशेष जोड दिएका छन् ।
सर्वसाधारणको चासो भने करमा छ । आयकरको दर केही हेरफेर हुने अर्थमन्त्रालय स्रोत बताउँछ । गाडी, मदिरा, चुरोट लगायत सामानको भन्सारदर सधैंझैं बढ्ने निश्चित छ । देशको ढुकुटी जोगाउन अन्य बिलासिताका केही वस्तुको आयातामा भन्सार दर बढाउने सरकारको तयारी छ । बजेटको आकार गत वर्ष जस्तै १५ खर्बकै हाराहारी हुने स्रोत बताउँछ ।