Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीमा सुटुक्क टेण्डर, ४१ दिन कार्यकाल भएका आइजीपी विवादमा


    बुधबार, जेष्ठ १४ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • ठाकुर ज्ञवाली र सूर्य उपाध्याय

    काठमाडौं । नेपाल प्रहरीले लकडाउनका बीचमा ११ किसिमका सामान खरिदको बोलपत्र सूचना सुटुक्क निकालेर सेटिङका ठेकेदारहरुबाट सामान किन्ने तयारी गरेको छ । लकडाउनमा सबै घरघरमा बसेको बेला प्रहरीले ३१ बैशाख, २०७७ मा गोरखापत्रमा ११ किसिमका सामान खरिदको टेण्डर निकालेको छ । लकडाउनमा सबैतिर बन्द भएकाले गोरखापत्र ग्राहक बन्नेको घरमा मुस्किलले गए पनि अरुकोमा पुग्दैन ।

    गोरखापत्रमा सूचना निकालेको प्रहरीको प्रबन्ध निर्देशनालयका हाकिम र आइजीपी सचिवालयबाहेकलाई थाहा हुने कुरै भएन । उनीहरुले निश्चित ठेकेदारहरुसँग मात्र सेटिङ गरी उक्त सूचना निकालेको खुलासा भएको छ । उक्त बोलपत्रको सूचना प्रहरीको बेबसाइटमा पनि राखिएन भने सार्वजनिक खरिद अनुगमन कार्यालयको सिष्टमभित्र पनि आउन सकेको छैन ।

    जबकि प्रहरीको आफ्नै बेबसाइटमा उक्त सूचना नराखिनुले पनि खरिद प्रक्रिया अपारदर्शी भएको कुरालाई पुष्टी गर्दछ । कार्यकाल४१ दिनमात्र भएका आइजीपी ठाकुरप्रसाद ज्ञवालीले जानेबेलामा करिब २ करोडको सामान खरिदमा पनि पारदर्शीता देखाउन नसकेको आरोप छ ।

    प्रहरीको खरिद हेर्ने प्रबन्ध निर्देशनालयका प्रमुख डीआइजी सूर्य उपाध्याय, आइजीपीका भाइ एसएसपी श्याम ज्ञवाली र सचिवालयका एसपी भूपेन्द्र खत्रीहरुले लकडाउनमा सुट्याकसुटुक खरिद गर्नेगरी सार्वजनिक खरिद अनुगमन कार्यालयमा पनि जानकारी नदिएको स्रोतले बताएको छ ।

    सार्वजनिक खरिद ऐन र नियमावलीमा ६० लाख रुपैयाँ भन्दा बढी मूल्यको वस्तु खरिद गर्दा गर्दा सार्वजनिक खरिद अनुमगमन कार्यालयको सिष्टमबाट पनि सूचना जारी हुनुपर्छ । उसको बेबसाइटमा पनि राखिनुपर्छ । तर प्रहरीले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई ३१ गतेको बोलपत्रको सूचनाबारे अहिलेसम्म जानकारी दिएको छैन । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटाले नेपाल प्रहरीले बैशाख ३१ गते बोलपत्र आह्वान गरेको जानकारी नभएको बताए ।

    गोदाममा थन्किएका गुणस्तरहीन सामान खरिद गर्ने खेल

    लकडाउनको बीचमा प्रहरीले बोलपत्र आह्वान गरे पनि कोरोना महामारी र बन्दाबन्दीको अवस्थामा चीन र भारतबाट आपूर्तिकर्ताले सामान ल्याउन सक्ने अवस्था छैन । प्रबन्ध निर्देशनालय र आइजीपीका भाइ एसएसपी श्याम ज्ञवाली र उनका पीए भूपेन्द्र खत्रीले बर्षांैदेखि ल्याएर गोदाममा थन्किएका, म्याद सकिएका मक्किएका र गुणस्तरहीन सामान खरिदका लागि सुटुक्क बोलपत्र सूचना निकालेको प्रहरी स्रोत बताउँछ । स्रोतका अनुसार प्रहरीमा सामान आपूर्ति गर्ने निश्चित ठेकेदारहरुबाट खरिद गर्नेगरी सेटिङ गरी सूचना निकालिएको हो ।

    प्रहरीमा स्वच्छ छविका भनेर चिनिने आइजीपी ज्ञवालीलाई छायाँ आइजीपीका रुपमा चिनिने काठमाडौं प्रहरी परिसरका एसएसपी श्याम ज्ञवाली र पीए खत्रीले विवादमा पार्न लागेका हुन् । प्रहरी स्रोत भन्छ– खरिदमा यस्तो अपारदर्शीताका कारण अहिलेसम्म विवादमा नपरेका आइजीपी ज्ञवाली भोलि अवकाशपछि पनि अख्तियार धाउनुपर्ने दिन नआउला भन्न सकिन्न ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयमा सामान खरिदको बोलपत्रको जानकारी नगराएकोबारेमा नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले भने, पत्र रजिष्ट्री गरेर पठाएको हो, नपुगेको हुनसक्ने प्रतिक्रिया प्रबन्ध निर्देशनालयमार्फत् आएको छ । बोलपत्रकोबारेमा प्रबन्ध निर्देशनालयलाई मात्र जानकारी हुन्छ, प्रबन्धबाट यस्तो जवाफ आयो, शाहीले भने । प्रहरीको बेबसाइटमा बोलपत्र सूचना नराखिएकोबारेमा उनले केही पनि जवाफ दिएनन् । यतिमात्र भने–‘प्रबन्धबाट यही जानकारी आयो, मैले दिएँ ।’

    १५ दिनअघि भएको टेण्डरको बारेमा कालिमाटी, ताहाचलमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयमा पत्र नपुगेको गैरजिम्मेवार जवाफ प्रबन्ध निर्देशनालयले प्रहरी प्रवक्ता शाहीमार्फत् दिएको छ । उक्त टेण्डर १५ दिनको म्याद राखेर गरिएकोमा पुनः ५ दिनको म्याद बढाई २० दिनसम्म बढाइएको छ ।

    सुटुक्क गरिएको बोलपत्र सूचना यस्तो छः

    tendar.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार