Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संक्रमण बढेपछि नरैनापुरमा परीक्षणको दायरा बढाउँदै


    सोमबार, जेष्ठ १२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बाँके । बाँकेको नरैनापुरमा कोरोना संक्रमणको जोखिम बढेपछि परीक्षणको दायरा बढाइएको छ । त्यहाँ संभावित संक्रतिको स्वाब सङ्कलन भइरहेको छ ।

    कोरोना सङ्क्रमण अतिप्रभावित क्षेत्र नरैनापुर सँगसँगै अन्य छिमेकी गाउँपालिकामा पनि कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

    उनका अनुसार आइतबार जिल्लाका चार स्थानबाट १७१ जनाको स्वाब सङ्कलन गरिएको छ । डुडुवा, राप्तीसोनारी, बैजनाथ र जानकी गाउँपालिकाबाट स्वाब सङ्कलन गरिएको हो ।

    बाँकेबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएका १७५ जनासहित ३४६ जनाको स्वाबको परीक्षण नतिजा आउन बाँकी रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

    बाँकेमा हालसम्म कोरोना परीक्षणका लागि दुई हजार ४ सय ४० जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ । सङ्कलित स्वाबमध्ये एक हजार ९५२ जनाको परीक्षण नतिजा नेगेटिभ तथा १४२ जनाको परीक्षण नतिजा पोजेटिभ देखिएको छ ।

    बाँकेमा हालसम्म एक हजार १४२ जनाको आरडिटी गरिएको छ । आइतबार मात्रै ४४ जनाको आरडिटी गरिएको र नतिजा नेगेटिभ आएको श्रेष्ठको भनाइ छ ।

    बाँकेमा एक जनाको ज्यान जाने गरी नेपालगञ्ज उपमहानगरपालिका तथा नरैनापुर, राप्तीसोनारी र खजुरा गाउँपालिकामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणबाट एक जनाको मृत्यु भइसकेको छ भने उपमहानगरपालिकाका २१ जना निको भएर घर फर्किसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार