सप्तरी । प्रहरीले खानतलासी लिंदा २ किलो चिनी भेटियो, तर त्यही चिनीको पोकोमा ९ लाख रुपैयाँ समेत राखिएको भेटिएपछि प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– १४ कोशी बलारबाट प्रहरीले ९ लाख अवैध रकमसहित शनिबार साँझ एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको सुपौल जिल्ला बथनाह गाउँ पञ्चायत वडा नं १७ बस्ने २८ वर्षीय फूलकुमार मेहता रहेको डीएसपी तिलक भारतीले जानकारी दिएका छन् ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस रोगका सम्बन्धमा नेपाल सरकारले जारी गरेको बन्दाबन्दी उल्लंघन गर्दै भारतबाट नेपालतर्फ लुकीछिपी आउँदै गरेका उनलाई नेपाली रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई शङ्कास्पद अवस्थामा हिंडिरहेको अवस्थामा फेला पारी हातमा झुण्ड्याउने नाइलनको झोला जाँच गर्दा दुई किलो चिनी भित्र लुकाइ राखिएको नेपाली रु ९ लाख फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी रामपुर मल्हनीयाबाट खटिएको प्रहरी सहायक निरीक्षक श्रीप्रसाद ठाकुर नेतृत्वको प्रहरी गस्ती टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।