काठमाडौं, १० जेठ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएकी कपिलवस्तुकी ६ बर्षीया बालिकामा कोरोना भाइरस संक्रमण भएको कुरा जेठ २ मा सार्वजनिक भयो । उक्त अस्पतालमा बैशाख २४ गते सुत्केरी भएकी सिन्धुपाल्चोक बाह्रबीसे–९ की २९ बर्षीया महिलामा घर पुगिसकेपछि श्वासप्रश्वासमा अप्ठेरो भयो । स्थानीय स्वास्थ्यचौकीमा लगिएकी उनलाई त्यहाँ उपचार नहुने भएपछि धुलिखेल अस्पतालमा ल्याउँदा ल्याउँदै बाटोमा निधन भयो ।
मृत्यु भएकी महिलाको पीसीआर रिपोर्ट कोरोना पोजेटिभ देखियो । ती महिलालाइ जेठ १ मा धुलिखेल अस्पतालमा ल्याइएको थियो । जेठ ३ गतेमात्र उनको पीसीआर रिपोर्ट आयो । रिपोर्टमा कोरोना पोजेटिभ देखियो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएको पहिलो घटना बन्न पुग्यो । ती महिलालाई पनि शिक्षण अस्पतालबाटै संक्रमण भएको उनका नवजात शिशु र पतिको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि पुष्टी भएको छ । उनलाई शिक्षण अस्पतालमा ल्याउनुभन्दा अघि कोरोना संक्रमण थिएन । अस्पतालमा ल्याएपछि उनमा संक्रमण भएकै कारण उनका पति र उनको सम्पर्कमा आएका परिवारको रिपोर्ट नेगेटिभ आएबाट पनि आंकलन गर्न सकिन्छ ।
अस्पतालमा जाने संक्रमित हुने गरेको तथ्य त शुक्रबार हेटौंडा ३ की एक महिला पनि हुन् । उनी पनि शिक्षण अस्पताल महाराजगंजको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत थिइन् । उपचार क्रममा त्यहीँबाट संक्रमित भएको खुलासा भएको छ । यद्यपि उनका परिवारका सदस्यको पीसीआर परीक्षणमा के भएको हो, रिपोर्ट नै कुर्नुपर्ने भएको छ ।
त्यस्तै शनिबार बिहान संक्रमित ३५ बर्षीय पुरुष ग्रान्डी अस्पतालमा उपचार गराइरहेका थिए । उनको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको छ । उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको आइसोलेसनमा लगिएको छ । माथिका चारैजनालाई अस्पतालबाटै कोरोना संक्रमण भएको देखिन्छ ।