काठमाडौं । कोभिड–१९ को संक्रमणको जोखिममा काम गरिरहेका नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति अन्र्तगत काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका १ सय १९ पत्रकारको कोभिड पत्रकार वीमा गरिएको छ ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाको पहल एवम् मिसन मिडिया क्लवको आर्थिक सहयोगमा प्रतिपत्रकार रु. एक लाखको कोरोना बीमा गराएको हो ।
उपत्यका प्रदेश समितका महासचिव झाका अनुसार आफ्नो प्रदेश अन्र्तगतका जिल्ला आवद्ध क्रियाशील पत्रकारको वीमाका लागि मिसन मिडिया क्लवले १ सय १९ जनाको बीमा शुल्क तिर्न सवै आर्थिक सहयोग गरेको जानकारी दिदै वीमाका लागि प्रतिव्यक्ति रु. ६ सय तिरिएको जानकारी दिनुभएको छ ।
उक्त वीमा अनुसार कुनै पत्रकार कोभिड १९ संक्रमित भएमा बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सले रु १ लाख सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने महासचिव झाले बताए
यसअघि कोभिड संक्रमणको बढ्दो जोखिमसँगै मिसन मिडिाया क्लवका अध्यक्षसमेत रहेका उपत्यका प्रदेश समितिका महासचिव झाले वीमा कार्यक्रम घोषणा गर्नुभएको थियो ।
मूलतः जोखिमको यस विषम अवस्थामा पत्रकार निरन्तर खटिरहनुपर्ने भएकाले सुरक्षाको प्रत्याभूति दिन क्लवसँग सहकार्य गरिएको जानकारी दिदै संस्थागत रुपमा क्लवको तर्फबाट पत्रकारको वीमा गराउने अवसर महासंघ उपत्यका प्रदेशले क्लवलाई अवसर प्रदान गरेकोमा क्लव आफैमा गौरवान्वित भएको क्लवका कोषाध्यक्ष रिना महर्जनले बताए ।
त्यस्तै दोस्रो चरणमा थप २५१ जनाको पनि कोभिड पत्रकार वीमाको आवश्यक तयारी लगभग पूरा भइसकेको जनाउँदै क्लवले नामावली संकलन गर्नका लागि आह्वानको गर्ने तयारी भइरहेको जनाएको छ ।