Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कौशीमा तरकारी खेती गर्नेलाई नि:शुल्क बीउ र मल


    शनिबार, जेष्ठ १० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • ललितपुर,१० जेठ । ललितपुर महानगरपालिकाले कौशी खेतीलाई थप प्रवर्द्धन गर्न नि : शुल्क तरकारीको बीउ र मल वितरण गर्ने भएको छ ।     

    सबै वडामा रायो, मुला, धनिया, बोडी, सिमी, फर्सी आदिको बीउ वितरण गर्ने तयारी भइरहेको छ । अन्यत्रबाट आएका तरकारी नगरवासीले प्रयोग नगरुन् भन्ने सोचका साथ बीउ वितरण गर्न लागेको वडा नं १५ का वडाध्यक्ष सुदर्शन मिश्रले जानकारी दिए ।

    उनले भने, ‘कौशीखेती प्रवद्र्धनमा जोड पुगोस् भन्ने लक्ष्यका साथ महानगरपालिका अघि बढेको हो ।’ कौशी तथा करेसा या खेतबारीमा तरकारी उत्पादन गरी १० देखि १५ दिनभित्र महानगरवासीले रायो र तोरीको साग नै भए पनि फलाएर भान्छा चलाउन सफल हुन्छन् भन्ने उनको बुझाइ छ ।     
         
    बीउ लैजाने किसानको उत्पादनलाई बढवा दिन ‘दिव्या ब्राण्ड गड्यौला मल’ वितरण गर्ने भएको छ । घर हुने जनताले राम्ररी तरकारी फलाउन आधादेखि एक किलो कम्पोष्ट मल पनि नि : शुल्क पाउने भएका छन् । 

    वडा नं १५ मा रहेका लगभग २ हजार घरलाई यी बीउ र मल वितरण गर्ने तयारी भइरहेको छ । ‘हाम्रो वडामा रहेका २३ टोल सुधार समितिका अध्यक्षलाई बोलाएर आ–आफ्ना ठाउँमा यी वस्तु वितरण गर्न लगाउने भएको छु’, उनले थपे ।
         
    गोदावरी र महालक्ष्मी नगरपालिकाले पनि यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ वितरण गरिरहेका छन् । कोरोनाका कारण बहालमा बस्ने जनताले राहत लिएसँगै घरजग्गा हुने जनताले बन्दाबन्दीमा धानलगायत तरकारीको बीउबिजन खरीद गर्न जान नपाएका कारण उनीहरुको समस्या समाधान गरी दिन यी दुई नगरपालिकाले सहयोग गरेका हुन् । 

    ललितपुरमा रहेका तीन गाउँपालिका वाग्मती, महाँकाल र कोञ्ज्योसोममध्ये वाग्मतीले वडा नं ४ प्युटारका ४९० किसानलाई धानलगायत तरकारीको बीउबिजन नि : शुल्क वितरण गरिसकेको वडाध्यक्ष नारायणबहादुर घलेले जानकारी दिए । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार