काठमाडौं, १० जेठ । १९१ पत्रकारको कोभिड–१९ को रिर्पोट नेगेटिभ आएको छ । टेकुस्थित राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट आएको टोलीले गत मंगलवार राष्ट्रिय सञ्चारमाध्यम, अनलाइन मिडियामा कार्यरत १९१ जना पत्रकारको कोभिड–१९ परीक्षण गर्न स्वाब संकलन गरेको थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा महासंघका स्वास्थ्य उपसमितिका संयोजक गोविन्दप्रसाद चौलागाईंले परीक्षण गरिएका पत्रकारको रिपोर्ट नेगेटिभ आएको र उक्त रिर्पोट चाँडै नै सम्बन्धित पत्रकारलाई वितरण गरिने बताए ।
यसअघि प्रेस काउन्सिलले गरेको ७० वरिष्ठ पत्रकार, सम्पादकको रिपोर्ट पनि नेगेटिभ आएको थियो । कोभिड–१९ को संक्रमण अग्रपक्तिमा काम गर्ने पत्रकार, सुरक्षाकर्मीमा देखिन थालेपछि महासंघले पनि उपत्यकामा काम गर्ने विभिन्न सञ्चारमाध्यमका पत्रकारको परीक्षण गराएको हो । रासस