काठमाडौं, ९ जेठ । कोरोना भाइरसको त्रासमा पनि ट्राफिक प्रहरी सडकमा जहाँतहीँ ड््युटी गरिरहेका छन् । काठमाडौंका सडकमा लकडाउन पालना गराउन खटिएका प्रहरी देखिंदैनन्, तर ट्राफिक चोक चोकमा ड्युटी गरिरहेका छन् । पासविना सवारी साधन चलाउनेहरुको चेकिङ गर्ने ती ट्राफिक प्रहरीलाई दिसा पिसाव गर्ने ठाउँको पनि अभाव देखिएको छ । ट्राफिक प्रहरी खाजा वा पानी खाने ठाउँ नभएकाले भोकैतिर्खै ड्युटीमा तैनाथ छन् ।
पुतलीसडक क्षेत्रमा ड्युटीमा बस्ने ट्राफिक प्रहरीलाई बग्गीखाना(महाशाखा)भित्र दिसापिसाव गर्न समेत जान नदिइएको गुनासो छ । दिसापिसाब च्यापेपछि महाशाखमा जानेलाई गेटमा बस्नेले हाकिम साबको आदेश छ भन्दै भित्र जान नदिने गरेको गुनासो पनि सडकमा तैनाथ ट्राफिकका मुखबाट सुनिने गरेको छ ।

भीम ढकाल, प्रमुख, महानगरीय ट्राफिक महाशाखा
लकडाउनका कारण जताततै बन्द छ, सार्वजनिक शौचालय छैनन्, महाशाखाभित्र जाँदा ड्युटी सकेर मात्र आउनू भन्दै गेटबाट छिर्न नदिने जस्तो अमानवीय हर्कत देखाउने गरिएको छ । महाशाखा प्रमुख भीम ढकाललाई यो कुरा थाहा नहुन पनि सक्छ । तर उनी मातहतका हाकिमहरुले यस्तो हर्कत देखाउने गरेका छन् ।
यसैबीच, एकथरी प्रहरी कोरोना भाइरस संक्रमणका बीच ज्यान बाजी लगाएर रात दिन ड्युटी गरिरहेका छन् । तर महाशाखाभित्रैका प्रशसन शाखा, खोजतलास शाखा, तालिम, कार्य, भीओसी शाखामा काम गर्नेहरु कसैलाई पनि ड्युटी खटाइएको छैन ।
सडकमा खटिने खटिएका खटियै, यी शाखाका सबै प्रहरी लकडाउनमा पनि कहिल्यै ड्युटीमा नखटी घरपरिवारसँग बसेर तलब खाइरहेका छन् । महामारीमा सबैलाई डयुटी खटाउनुपर्नेमा कसैलाई रातदिन खटाउने त कसैलाई कहिल्यै नखटाएकोमा आक्रोस छ । भीओसी शाखामा २० जना छन् । लेखामा ५ जना, प्रशासनमा ५ जना, खोजतलासमा १० जना, तालिममा ६ जना र कार्यमा ६ जना कार्यरत छन् । यी कसैलाई पनि ड्युटी नटखटाई एकथरीलाई मात्र पेल्ने गरिएको छ ।