बैतडी, ९ जेठ । अपराधीलाई पक्राउ गर्दा पनि अब ऊ कहाँबाट आएको हो भन्ने विवरण लिएर मात्र पक्राउ गर्नुपर्ने भएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एक युवकमा कोरोना संक्रमण देखिएपछि अब पक्राउ गर्ने क्रममै कोरोना संक्रमण परीक्षण गर्नुपर्नेे स्थिति आएको हो ।
शिवनाथ गाउँपालिका १ का २२ वर्षीय युवकमा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि अब अपराधी पक्राउ गर्न पनि जोखिम देखिएको छ ।
थुनुवामा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सिल गरिएको छ । संक्रमितसँग सम्पर्कमा रहेका सबैको परीक्षण गर्न माग गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी डिल्ली पाण्डेले बताएका छन् । संक्रमित युवकलाई प्रहरीले वैशाख १५ गते कर्तव्य ज्यान मुद्दामा पक्राउ गरेको थियो । उनी चैत ६ गते भारतबाट आएका थिए ।