काठमाडौं, ९ जेठ । संचार तथा सूचना प्रविधि मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव पद रिक्त छ । शिक्षा मन्त्रालयका सचिव महेश दाहाल बैशाख १९ मै अवकाश भएका हुन् । संचार मन्त्रालयका दीपक सुवेदी जेठ १ मा अवकाश भएका थिए । आजको मन्त्रिपरिषद बैठकले संचार र शिक्षा मन्त्रालयमा सचिव सरुवा गर्ने बताइएको छ ।
संचार मन्त्रालयको सचिवमा यामकुमारी खतिवडालाई लाने चर्चा छ । उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव छन् । उनी उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयबाट २०७६ फागुन १८ मा महिला बालबालिका मन्त्रालयमा सरुवा भएकी हुन् । उपसचिवदेखि नै उद्योग मन्त्रालयमा कार्यरत उनी सहसचिवमा पनि त्यही मन्त्रालयमै रहिन् । सचिव बढुवापछि पनि त्यहीँ पदस्थापन हुने भाग्यमानी र पावरफुल खतिवडाले मातृका यादव मन्त्री हुन्जेल उनलाई असफल बनाउन पर्याप्त भूमिका खेलिन् । र, लेखराज भट्ट मन्त्री भएर आएपछि उनको सरुवा भएको हो ।
संचार मन्त्रालयका लागि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको नाम चर्चामा भए पनि खतिवडाले बाजी मार्ने संभावना बढी रहेको छ । सचिव खतिवडा र संचार मन्त्री डा. युवराज खतिवडाको घर झापाकै गौरादह हुनु, राष्ट्रपति विद्या भण्डारीकी भान्जीबुहारी हुनु लगायतका कारणले पनि उनी संचार मन्त्रालयमा सरुवा हुने बढी संभावना भएको बताइन्छ । सचिव खतिवडाका श्रीमान त्रिभुवन विश्वविद्यालयका उपकलुपति प्राडा धर्मकान्त बाँस्कोटा हुन् । सचिव खतिवडा र संचार मन्त्री खतिवडाको थर मात्र मिलेको हो । सचिव खतिवडाका बाबुबाजे ताप्लेजुङबाट झापा झरेका हुन् भने यामकुमारीको जन्मघर ओखलढुंगा हो ।
त्यस्तै शिक्षा सचिवका लागि गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याल लागेका छन् । खतिवडा संचारमा सरुवा भएपछि महिला मन्त्रालयको सचिव पनि रिक्त हुनेछ । बागमती प्रदेशका प्रमुख सचिव तोयम राया पनि यो पटक संघीय मन्त्रालयमा सरुवा हुने सूचीमा छन् । उनी पनि शिक्षा नै आउन चाहिरहेका छन् । एकनारायण अर्याललाई संचारमा नभए शिक्षामा लाने संभावना पनि छ ।
सोमबारदेखिे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव पद पनि रिक्त हुँदैछ । सो मन्त्रालयका सचिव विनोद केसी सोमबारबाट अवकाश हुनेछन् ।