काठमाडौं, ९ जेठ । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरे पनि लुकिछिपी संक्रमितहरू उपत्यका भित्रिएका छन् । यसरी आएका संक्रमितमध्ये २४ जनाभन्दा बढी आइसोलेसनमा उपचाररत छन् ।
उपत्यका बाहिर ठेगाना बताएका ती संक्रमितहरू काठमाडौं भक्तपुर र ललितपुरमा डेरामा बसेको पाइएको छ । को व्यक्तिबाट काठमाडौंमा कसरी संक्रमण फैलिरहेको छ भन्ने एकीन गर्न नै कठिन भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का उच्च अधिकारीले बताए । १ जेठदेखि नै उपत्यकामा बस्नेमा संक्रमण बढी देखा पर्न थालेको हो ।
ठेगाना बाहिर, बस्ने उपत्यका
६ जेठमा स्वास्थ्य मन्त्रालयले ललितपुर ठेगाना दिएर एकजनालाई संक्रमण भएको अपुरो जानकारी दियो । ती व्यक्ति स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत थिए । उनको घर उपत्यका बाहिर भए पनि मन्त्रालयले ललितपुर ठेगाना भएको बतायो । उनको स्थायी ठेगाना पहाडी जिल्ला हो ।
६ जेठमा नयाँ संक्रमित थपिएको जानकारी दिँदै लमजुङ ठेगाना भएका व्यक्ति उल्लेख गरियो । उनी पनि काठमाडौंमा बस्दै आएको पाइएको छ । १ जेठमा संक्रमित भएको पुष्टि भएका दुई बालबालिका पनि उपत्यकाबाहिर घर भए पनि काठमाडौं आएको बेला पुष्टि भएको छ ।
यसअघि ३१ वैशाखमा संक्रमितको रूपमा मन्त्रालयले सुनसरी ठेगाना बताएको महिला भक्तपुरमा डेरा लिएर बसेको पाइएको छ । ३१ वैशाखमा नै काठमाडौं बाहिर भनिएका पुरुष पनि भक्तपुर, दुवाकोटमा बस्ने गरेको पाइएको छ । वैशाख ३० गते घाँटीको समस्या लिएर आएकी एक बालिका पनि कपिलवस्तुकी थिइन् । वैशाख २९ गते नवलपरासीबाट काठमाडौंबाट आएकी एक महिलाको कोरोना भाइरस पोजेटिभ भेटिएको छ । उनी कलंकी डेरा लिएर बसेको पाइएको छ ।
मन्त्रालयले पछिल्लो पटक रामेछाप, सिन्धुली, दाङका बासिन्दा भनिएका व्यक्ति पनि काठमाडौं उपत्यकामा बस्ने गरेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले जनाएका छन् । मन्त्रालयका एक उच्च पदाधिकारी भन्छन्, ‘पीसीआर परीक्षणका बेला स्थायी ठेगाना मात्र दिएपछि समस्या पर्न थालेको हो । उनीहरूको बसोबास काठमाडौं हुँदा हामीलाई समेत अप्ठेरो परिरहेको छ । तथ्य लुकाउने मनसाय होइन ।’ आजको अन्नपूर्ण पोष्टबाट