काठमाडौं, ७ जेठ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीले मानव जगतमाथि नै ठूलो संकट पैदा गरेको छ । यस्तो संकटको असर सबैभन्दा बढी कम आय भएका मजदुरहरुमा परेको छ । तर प्रतिष्ठित ब्यापारिक घराना दाबी गर्ने आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले कोरोना महामारीमा कर्मचारीलाई जागिरबाट निकाल्ने काम गरेका छन् ।
ढकालको स्वामित्वको आईएमई मोटर्स प्रालिले २०७७ जेठ १ गतेबाट सबै कर्मचारीलाई बिदा दिएको छ । आईएमई मोटर्समा करिब ५ सय कर्मचारी कार्यरत रहेको स्रोतले बताएको छ । आईएमई मोटर्सले कर्मचारीहरुलाई अर्को सूचना नआउँदासम्मको लागि बेतलबी बिदा दिने निर्णय गरेको छ । २०७७ बैशाख ३१ गते सूचना प्रकाशित गरी मोटर्स कम्पनीमा कार्यरत कर्मचारीलाई बेतलवी बिदा दिने निर्णय गरेको छ । आईएमई मोटर्स अशोक लेल्यान्डको आधिकारिक बिक्रेता कम्पनी हो ।
वर्तमान अवस्थामा व्यापार व्यवसाय प्रभावित भएको र कर्मचारी पाल्न संस्था नसक्ने अवस्थामा भएकाले आईएमई ग्रुप अन्तर्गतको उक्त कम्पनीले कर्मचारीलाई कम्पनीको कार्यालयमा नआउन निर्देशन दिएको छ ।
उद्योग बाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका आईएमई ग्रुपका अध्यक्ष ढकालले कोरोनाको यो संकटमा कर्मचारीलाई निकालेर उनको वास्तविक अनुहार उदांगो पारेका छन् । रेमिटेन्स, बैंक, ऊर्जा जस्ता धेरै क्षेत्रमा मुनाफा कमाएका उनले अटोमोवाइल ब्यापार अब केही बर्ष नचल्ने देखेपछि कर्मचारीलाई जागिरबाटै निकाल्ने काम गरेका छन्, त्यही पनि कोरोना महामारीमा । यसरी ढकालले बेतलवी बिदा (एक किसिमले निकाले)पछि आईएमई मोटर्समा कार्यरत कर्मचारी र उनीहरुका परिवार बिचल्लीमा पर्ने भएका छन् ।
ढकाल रेमिटेन्स, बैंक तथा वित्तीय संस्था, उर्जा, अटोमोबाइल, सूचना–प्रविधि, केबलकार, हस्पिट्यालीटी, पर्यटन, ट्राभल, इन्फोटेन्ट्मेन्ट, विद्युतीय भुक्तानी लगायतका विभिन्न क्षेत्रहरुमा लगानी विस्तार गर्दै आएको व्यवसायीक घराना ‘आइएमई ग्रुप’ का अध्यक्ष हुन् । उनले उद्योग बाणिज्य महासंघको आगामी निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने दाबी गर्दैआएका छन् । लकडाउन घोषणा भएको २ महिनामै कम्पनीबाट कर्मचारी निकाल्ने ढकालले ३ महिनाअघि छोरीको बिहेको पार्टी ३ वटा फाइभस्टार होटलमा दिएका थिए भने २ करोड भन्दा बढीको गाडी दाइजोमा दिएका थिए । छोरीको बिहेमा करिब २२ करोड खर्च गरेका उनले आफ्नो कम्पनीमा आश्रित कर्मचारीलाई भने जागिरबाटै निकाल्नुले उनको मानवताविरोधी छवि उदांगिएको छ ।