झापा, ७ जेठ । भारतका सीमा जोडिएका जिल्लाका गाउँहरुमा कोरोना संक्रमण फैलावट ब्यापक देखिएको छ । झापाको कचनकवल गाउँपालिकाका १० जना कोरोना सङ्क्रमित भएसँगै पाँच वडा मंगलबार शिल गरिएको छ ।
दक्षिण झापासँग सीमा जोडिएको पालिकाका वडा नं १ देखि ५ सम्मका वडा शिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए । पालिकामा सात वडा रहेका छन् ।
शनिबार भारतको मुम्बईबाट आएका ३३ जनालाई केचना, पाठामारी र घेराबारीस्थित सीमा क्षेत्रबाट उद्धार गरी वडा नं २ स्थित पथरिया माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । उनीहरु सबैको पीसीआर परीक्षणका लागि कोशी अञ्चल अस्पताल स्वाब संकलन गरी पठाइएको थियो ।
उनीहरुमध्ये सोमबार साँझ एक २३ वर्षीय युवामा कोराना लागेको पुष्टि भएको थियो भने मंगलबार थप नौ जनामा पुष्टि भएको छ । उनीहरुलाई राखिएको क्वारेन्टिनमा समेत शिल गरिएको उनले बताएका छन् ।